मकवानपुर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन नेपालको ९ औं केन्द्रीय महाधिवेशन शुक्रबार र शनिबार हेटौंडामा हुँदैछ । युनियन मकवानपुर शाखाको आतिथ्यतामा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आतिथ्य शाखाले जनाएको छ ।
युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी ‘पोष्टराज’का अनुसार अधिवेशन आठवर्ष पछि हुन लागेको हो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुने तय भएको छ । महाधिवेशन शुक्रबार र शनिबार हुने भएपनि विहीबारबाटै अतिथि, प्रतिनिधि, पर्यवेक्षक आउने क्रम सुरु हुने उनले बताए । अधिवेशनको लागि अतिथि, प्रतिनिधि र पर्यवेक्षक गरी करिब दुईहजार जना सहभागी हुने अधिकारीले बताए ।
प्रधानमन्त्री, मन्त्री तथा पार्टीको शीर्ष नेतृत्व नै हेटौंडामा हुने भएका कारण सोही अनुसार सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई अनुरोध गरिसकीएको उनले बताए । महाधिवेशनको उद्घाटन, बन्द सत्र र नयाँ कार्यसमिति चयनका लागि हुने मतदानको सम्पूर्ण प्रबन्ध हेटौंडाको रोयल पार्टी प्यालेसमा हुनेछ ।
हेटौंडामा रहेको होटलमा मात्र आवासको व्यवस्था सम्भव नभएपछि छिमेकी जिल्ला बाराको अम्लेखगंज र चितवनको सौराहामा समेत आवासको व्यवस्था मिलाएको अधिकारीले बताए ।
महाधिवेशनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो बिचमा हेटौंडमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार विभिन्न क्षेत्रमा हुने समेत अनुमान गरिएको छ ।
प्रेस युनियनको यो महाधिवेशनले संगठनको संघीय संरचना अनुसारको विधान सर्वसम्मतरुपमा पास गरेर नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ विधान पास भएपछि युनियन संघीयस्वरुप अनुसार संरचना निर्माण हुनेछ । नयाँ विधान अनुसार अब ७५ सदस्यीय नयाँ कार्यसमिति बन्नेछ ।
हामी एघार वर्षमा प्रवेश (प्रकाशकीय)
Tags: No Comments
संघर्षमय यात्रामा आजबाट हामी दशौं वर्ष पार गरेर एघारौं वर्षमा प्रवेश गरेका छौं । अहिले देश आर्थिक समृद्धिका खातिर लम्किरहेको छ । संघीयताको अभ्यासमा रहेको नेपालले पहिलो पाँच वर्षको यात्रा पुरा गर्दैगर्दा आर्थिक अवस्था अनपेक्षित रुपमा ओरालो झरीरहेको छ । आमसर्वसाधारणको दैनिकी आर्थिक रुपमा कष्टकर बन्दै आएको छ । नेपालको अर्थतन्त्रमा कसरी सुधार ल्याउने भन्ने बारे बहस जरुरी छ ।
राजनीतिक रुपमा विषम परिस्थिती हुँदाको पल हामीले सहीखबर साप्ताहिकको प्रकाशन सुरु गरेका थियौ । आर्थिक तथा सामाजिक विकासलाई राजनीतिले नेतृत्व गर्न नसेकेकोले राजनीतिक स्थिरताको लागि हामीले दबाब दिंदै आयौ । संगसंगै महिलालगायत सिमान्तकृत समुदायको अग्रसरताको लागि हामीले आफ्नो मार्गदर्शन प्रदान गर्दै आयौ । यस धर्तीमा सबैले समान रुपमा बाँच्न र आफ्नो अस्तित्वलाई मर्यादीत र जिवन्त राख्न पाउनु पर्छ भन्ने फराकिलो सोच हाम्रो मुख्य एजेण्डाको रुपमा रह्यो र रहनेछ ।
दश वर्षको यात्रा पुरा गर्दै गर्दा हामीले धेरै तीता मिठा अनुभुतिहरु संगालेका छौ, र ति अनुभुतीहरुलाई सम्हालेर राखेका छौ । स्थानीय तहको निर्वाचन र त्यसपछिको नेतृत्व अनि स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकारको जिम्मेवारी र कर्तव्यलाई पनि हामीले नजिकैबाट नियाल्ने हौका पायौ । राजनीतिक विषम परिस्थितिमा जन्मेको सहीखबर साप्ताहिक यहाँहरुको माया ममतामा पुलोकित हुँदै आजको यात्रासम्म आएको हो । रहरलाई जिम्मेवार बनाउँदै हामीले आमनागरिकको सूचनाको हकलाई व्यवहारीक बनाउने प्रयत्नलाई जारी राख्यौ । जस्तोसुकै विषय परिस्थितीमा पनि सहीखबर साप्ताहिकले आफुलाई ज्युँदो राख्न सफल भएको छ, र जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्दै आएको छ ।
कोभिड जस्तो महामारीमा पनि हामीले कुनै पनि अंक बन्द गरेनौ, निरन्तर पत्रिका प्रकाशनसँगै अनलाइन सञ्चालन जारी राख्यौ । यो पत्रिकालाई आजको अवस्थासम्म आईपुग्न जिल्लाबासी कै अथाह योगदान रहेको कुरा हरपल स्मरणीय छ । सहीखबर साप्ताहिकले आफ्नाे जिम्मेवारी सफलता पूर्वक पुरा गर्दै आएकै कारण नेपाल सरकारकाे वर्गिकरणमा पत्रिका हाल ‘क’ वर्गमा रहेकाे छ।
प्रकाशन सुरु गरेदेखि नै राजनीतिक विषय वस्तुलाई भन्दा सामाजिक विषय वस्तुलाई प्राथमिकतामा राख्दै आएका छौं । यो सहीखबरको आफ्नो पहिचान पनि हो । समतामुलक समाज निर्माण, महिला सशक्तिकरण, महिला अधिकार, सामाजिक न्याय, मानव अधिकार, बाल अधिकार, समाजको सकारात्मक रुपान्तरणमा जस्ता क्षेत्रमा आम सञ्चारको तर्फबाट झकझक्याउने हाम्रो अभियान जारी छ ।
प्रविधिको युगलाई अनुसरण गर्दै पछिल्लो २ वर्षबाट हामीले साप्ताहिकको अनलाइन संस्करण पनि सुरु गरेका छौं । साप्ताहिक रुपमा मात्रै नभई हरपल यहाँहरुलाई अनलाईन मार्फत पनि सूचना, जानकारी www.saheekhabar.com मा पस्कदै आएका छौ ।
यो सुखद अवसरमा हामी हाम्रा आदरणीय सहयोगी मनहरु, हाम्रा स्तम्भकारहरु, विज्ञापन दाताहरु, पाठक वर्गहरु, हामीसँग प्रत्यक्ष/परोक्ष रुपमा जोडिनु भएका असाध्यै प्रिय शुभचिन्तकहरु, हाम्रो यात्राको होस्टेमा हैसें गरी सहयोग गर्नुहुने अग्रज, तथा समकक्षी र अनुज सबै सञ्चारकर्मीहरुप्रति हार्दिक आभार । आगामी यात्रामा पनि यहाँहरुको यस्तै अमिट सहयोग सहकार्यको अपेक्षा राख्दछौ । धर्तीका सबैको अस्तित्वलाई बचाउँन फराकिलो सोचको विकासमा लागि पर्न र खबरदारी गर्न हामीलाई सदा बल र आशिर्वाद प्राप्त होस् । हाम्रो यात्रा जारी रहनेछ ।
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश जारी भएको छ ।
उच्च अदालत पाटन, हेटौँडा इजलाशले प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडाललाई कारण देखाउ आदेश जारी भएको हो । उपकुलपति, रजिस्ट्रार र संयोजकले पदीय हिसाबले काम नगरेको र प्रतिस्ष्ठान नै धरासायी बनाउन खोजेको भन्दै युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले दायर गरेका थिए ।
निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश जारी माग भएकामा तीनैजनालाई कारण देखाउ आदेश जारी भएको हो । वरिष्ठ अधिवक्ता एकराज बास्तोलाले बहस गरेका थिए । उच्च अदालतकी न्यायाधीश निर्मला शाक्यको एकल इजलाशले प्रतिवादीहरुलाई कारण देखाउ आदेश जारी भएको हो ।
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको हेटौंडा क्यापसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
साउन ३ गते स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुव्र्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले विरोध जनाएका थिए ।
विद्यार्थीमाथि दुव्र्यवहार भएको घटनाको विरोध गर्दै विद्यार्थीले बुधबार हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै ताला लगाएका छन्। विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पसमा तोडफोड समेत गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसका परीक्षार्थीलाई दूव्र्यवहार गरेको भन्दै सबैजसो विद्यार्थी संगठनले विरोध जनाएका हुन्।
परीक्षार्थीले चिट लुकाएको आशंकामा क्याम्पसका कर्मचारी र प्रहरी समेतले छात्राको भित्री लुगा समेत खोल्न लगाई खानतलासी गरेको पीडित विद्यार्थीको आारेप छ । तस्बिर समृद्व समाज
याे पनि चिट ल्याएको आशंका गर्दै छात्रामाथि दुर्व्यवहार गरेको आरोप
चिट ल्याएको आशंका गर्दै छात्रामाथि दुर्व्यवहार गरेको आरोप
Tags: No Comments
मकवानपुर । मकवानपुर हेटौंडा स्थित हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको वार्षिक परीक्षा सञ्चालन गर्ने क्रममा छात्रामाथि यौन दुर्व्यवहार भएको प्रति विद्यार्थीहरुले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले छात्राहरुमाथि भएको दुव्र्यवहारको तत्काल छानविन गर्न माग गरेको छ । ३ साउनमा मकवानपुर बहुमुखी क्याम्पसबाट बि.एड. दोस्रो वर्षको परीक्षा दिन गएको दुई जना छात्रालाई हेटौंडा क्याम्पसमा चिट ल्याएको भन्दै सबै कपडा खोल्न लगाई प्याडसम्म खोल्न लगाई गरेको अभद्र व्यवहार भन्दै अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले भत्सना गरेको छ ।
“घटना एकदमै आपत्तिजनक छ, त्यस्तो व्यवहार गर्ने व्यक्ति कुनै कोणबाट शिक्षक हुन सक्दैन” विज्ञप्तिमा भनिएको छ । “घटनाको तत्काल छानबिन गरि दोषीलाई तत्काल पक्राउ गरि कारवाहीको माग गर्दछौ” अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष प्रसिद्ध रेग्मीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।
यसैबिच परीक्षा दिन जाँदा चेकजाँचको क्रममा आफूहरुमाथि भएको घटना बारेमा छात्राहरुले लेखेको म्यासेज सामाजिक सञ्जालमा भाइरल भएपछि हेटौंडा क्याम्पसले पनि विज्ञप्ति जारी गरेको छ । क्याम्पस प्रमुख देव मानन्धरद्वारा हस्ताक्षरीत विज्ञप्तिमा क्याम्पसले घटनाको छानविन गर्ने बताएको छ ।

“विद्यार्थीहरुलाई परीक्षा हलमा प्रवेशपूर्व परीक्षामा संलग्न कर्मचारीहरुबाट व्यक्तिगत गोपनियता हनन हुने गरी चेकजाँच गरिएको भनी विभिन्न विद्यार्थी सङ्गठन तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सामग्रीप्रति क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञाप्तिमा भनिएको छ । यस बारेमा सम्बन्धित पीडित पक्षका विद्यार्थी, अभिभावक तथा जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुसँग छलफल भइरहेको क्याम्पसले जनाएको छ ।
“छानबिन गरी दोषी प्रमाणित भएमा दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु” विज्ञप्तिमा भनिएको छ “यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरोकारवालाहरुसँग छलफल भइरहेकोले सम्बन्धित सम्पूर्ण पक्षहरुलाई संयमित भइदिनुहुन समेत अनुरोध गर्दछु ।”
परीक्षा हलमा प्रवेश गर्नुपूर्व चिट लिएर आएका छौ भन्दै पाइन्ट र भित्री कपडा सबै खोल्न लगाइएको छात्राहरुको आरोप छ । उनीहरु मध्ये एक जना छात्रा महिनावारी भएको र आफू संग चिट नभएको बताउँदा पनि प्याड समेत खोल्न लगाइएको उनीहरुले बताएका छन् ।
यसैगरी पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल एकाइ समिति मकवानपुर बहुमुखी क्याम्पसले पनि घटनाको छानविनको माग गरेको छ।
परीक्षामा सहभागी छात्रा विद्यार्थीमाथि परीक्षा केन्द्र हेटौंडा क्याम्पस, हेटौंडामा भएको घटनाको संघले विरोध जनाएको छ । यस अघि पनि समयमा उत्तरपुस्तिका तथा प्रश्नपत्र उपलब्ध नगराउने, समय अगावै उत्तरपुस्तिका लिने, अनावश्यक डर त्रास सिर्जना गरी विद्यार्थीलाई आतकिंत पार्नेलगायतका गुनासाहरू सुनिन आएको समेत उल्लेख गर्दै पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

शैक्षिक संस्थाहरूमा विद्यार्थीले निर्भयतापूर्वक परीक्षामा सामेल हुन पाउनुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “वर्षभरिको मेहनतको भाग्यरेखा कोर्ने परीक्षाहलमा भयमुक्त वातावरणमा परीक्षामा सहभागी हुन पाउनु विद्यार्थीको अधिकार हो ।”
परीक्षाको मर्यादा कायम गराउनु प्रशासनको कर्तव्य भएको तर परीक्षाको मर्यादा कायम गराउने निहुँमा परीक्षार्थीलाई आतकित पार्ने र मनोवैज्ञानिक त्रास सिर्जना गराउने कार्य कदापि क्षम्य हुन विज्ञप्तिमा भनिएको छ ।
यस प्रकारका गतिविधिहरूले विद्यार्थीलाई शैक्षिक संस्थाप्रति नै नकारात्मक सोच विकास हुने भएकाले घटनाको सत्य तथ्य जाँचबुझ गरी दोषीमाथि कार्वाहीका लागि गर्दै प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ समिति अध्यक्ष केशवप्रसाद तिमल्सिनाद्वारा हस्ताक्षरीत विज्ञप्तिमार्फत माग गरेको छ ।
परीक्षा सम्बन्धी कुनै ऐनले बालिकाकाे गाेप्य संबेदनशील अँगकाे खानतलासिकाे अधिकार नदीएकाे अधिवक्त्ता बालकृष्ण शर्मा अधिकारीले बताए ।
