संघर्षमय यात्रामा आजबाट हामी दशौं वर्ष पार गरेर एघारौं वर्षमा प्रवेश गरेका छौं । अहिले देश आर्थिक समृद्धिका खातिर लम्किरहेको छ । संघीयताको अभ्यासमा रहेको नेपालले पहिलो पाँच वर्षको यात्रा पुरा गर्दैगर्दा आर्थिक अवस्था अनपेक्षित रुपमा ओरालो झरीरहेको छ । आमसर्वसाधारणको दैनिकी आर्थिक रुपमा कष्टकर बन्दै आएको छ । नेपालको अर्थतन्त्रमा कसरी सुधार ल्याउने भन्ने बारे बहस जरुरी छ ।
राजनीतिक रुपमा विषम परिस्थिती हुँदाको पल हामीले सहीखबर साप्ताहिकको प्रकाशन सुरु गरेका थियौ । आर्थिक तथा सामाजिक विकासलाई राजनीतिले नेतृत्व गर्न नसेकेकोले राजनीतिक स्थिरताको लागि हामीले दबाब दिंदै आयौ । संगसंगै महिलालगायत सिमान्तकृत समुदायको अग्रसरताको लागि हामीले आफ्नो मार्गदर्शन प्रदान गर्दै आयौ । यस धर्तीमा सबैले समान रुपमा बाँच्न र आफ्नो अस्तित्वलाई मर्यादीत र जिवन्त राख्न पाउनु पर्छ भन्ने फराकिलो सोच हाम्रो मुख्य एजेण्डाको रुपमा रह्यो र रहनेछ ।
दश वर्षको यात्रा पुरा गर्दै गर्दा हामीले धेरै तीता मिठा अनुभुतिहरु संगालेका छौ, र ति अनुभुतीहरुलाई सम्हालेर राखेका छौ । स्थानीय तहको निर्वाचन र त्यसपछिको नेतृत्व अनि स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकारको जिम्मेवारी र कर्तव्यलाई पनि हामीले नजिकैबाट नियाल्ने हौका पायौ । राजनीतिक विषम परिस्थितिमा जन्मेको सहीखबर साप्ताहिक यहाँहरुको माया ममतामा पुलोकित हुँदै आजको यात्रासम्म आएको हो । रहरलाई जिम्मेवार बनाउँदै हामीले आमनागरिकको सूचनाको हकलाई व्यवहारीक बनाउने प्रयत्नलाई जारी राख्यौ । जस्तोसुकै विषय परिस्थितीमा पनि सहीखबर साप्ताहिकले आफुलाई ज्युँदो राख्न सफल भएको छ, र जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्दै आएको छ ।
कोभिड जस्तो महामारीमा पनि हामीले कुनै पनि अंक बन्द गरेनौ, निरन्तर पत्रिका प्रकाशनसँगै अनलाइन सञ्चालन जारी राख्यौ । यो पत्रिकालाई आजको अवस्थासम्म आईपुग्न जिल्लाबासी कै अथाह योगदान रहेको कुरा हरपल स्मरणीय छ । सहीखबर साप्ताहिकले आफ्नाे जिम्मेवारी सफलता पूर्वक पुरा गर्दै आएकै कारण नेपाल सरकारकाे वर्गिकरणमा पत्रिका हाल ‘क’ वर्गमा रहेकाे छ।
प्रकाशन सुरु गरेदेखि नै राजनीतिक विषय वस्तुलाई भन्दा सामाजिक विषय वस्तुलाई प्राथमिकतामा राख्दै आएका छौं । यो सहीखबरको आफ्नो पहिचान पनि हो । समतामुलक समाज निर्माण, महिला सशक्तिकरण, महिला अधिकार, सामाजिक न्याय, मानव अधिकार, बाल अधिकार, समाजको सकारात्मक रुपान्तरणमा जस्ता क्षेत्रमा आम सञ्चारको तर्फबाट झकझक्याउने हाम्रो अभियान जारी छ ।
प्रविधिको युगलाई अनुसरण गर्दै पछिल्लो २ वर्षबाट हामीले साप्ताहिकको अनलाइन संस्करण पनि सुरु गरेका छौं । साप्ताहिक रुपमा मात्रै नभई हरपल यहाँहरुलाई अनलाईन मार्फत पनि सूचना, जानकारी www.saheekhabar.com मा पस्कदै आएका छौ ।
यो सुखद अवसरमा हामी हाम्रा आदरणीय सहयोगी मनहरु, हाम्रा स्तम्भकारहरु, विज्ञापन दाताहरु, पाठक वर्गहरु, हामीसँग प्रत्यक्ष/परोक्ष रुपमा जोडिनु भएका असाध्यै प्रिय शुभचिन्तकहरु, हाम्रो यात्राको होस्टेमा हैसें गरी सहयोग गर्नुहुने अग्रज, तथा समकक्षी र अनुज सबै सञ्चारकर्मीहरुप्रति हार्दिक आभार । आगामी यात्रामा पनि यहाँहरुको यस्तै अमिट सहयोग सहकार्यको अपेक्षा राख्दछौ । धर्तीका सबैको अस्तित्वलाई बचाउँन फराकिलो सोचको विकासमा लागि पर्न र खबरदारी गर्न हामीलाई सदा बल र आशिर्वाद प्राप्त होस् । हाम्रो यात्रा जारी रहनेछ ।

