मकवानपुर । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) जिल्ला सञ्जाल मकवानपुर संयाेजकमा केदार आचार्य चयन भएका छन् । हेटौंडामा भएको एनसीई जिल्ला सञ्जालकाे पाँचौ भेलाले ग्रामिण असहाय बालबालिका सामुदायिक पुनर्स्थापना (रुहेल–सीआरसी) हेटौंडाका कार्यक्रम व्यवस्थापक आचार्यकाे संयाेजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हाे ।
नयाँ कार्यसमितिमा संयाेजक आचार्यसँगै हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबालाई कोषाध्यक्ष चयन भएकी छिन् । यस्तै समितिको सदस्यहरुमा माईती नेपालकी माया लामा र मन लामा, नारी सीप सृजना केन्द्रकी ज्योति बम्जन, मकवानपुर महिला समूहकी नीशा लामा, सिविन नेपालका झविन्द्र ज्ञवाली, बाल कल्याण समाजका कमल फुयाँल, नारी संरक्षण केन्द्रका राम मिजार, शान्ति फाउण्डेशनकी सीता गरुङ, पत्रकार अशोकसुजन श्रेष्ठ, मानबहादुर वाईबा रहेका छन् ।
साथै, एनसीई नेपालको भदौ २३ र २४ गते काठमाडौंमा हुने १३ औं बार्षिक सभा तथा सातौं अधिवेशनका लागि मकवानपुर प्रतिनिधीमा संयोजक आचार्य र कोषाध्यक्ष वाईबालाई तोकिएको छ । त्यसका साथै जिल्ला सभाले एनसीई जिल्ला सञ्जालको विकास तथा क्षेत्र विस्तार गर्दै सदस्यहरुलाई थप सकृय बनाउन आवश्यक रणनीति निर्माण गर्नका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई सञ्जालमा समावेश गर्ने निर्णय गरेको सदस्य श्रेष्ठले जानकारी दिए ।
एनसीई मकवानपुरका संयोजक बुद्धवीर लामाको सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे ।
मकवानपुर । मकवानपुर जिल्ला सहित देशैभर डेंगु संक्रमण बढ्दै गएकाे छ । गत साउन महिनादेखि अहिलेसम्म मकवानपुर जिल्लामा ५ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सबैभन्दा बढी संक्रमित जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ रहेका छन् ।
हेटाैडा उपमहानगरपालिका क्षेत्रमा डेंगु संक्रमण बढ्दै गए पछि उपमहानगरपालिकाले नियन्त्रण अभियान सुरु गरेकाे छ ।स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरले शनिबार डेंगु नियन्त्रण अभियान सुरु गरेको हो । नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएकाे हेटाैडा उपमहानगरपालिकाले जनाएकाे छ ।
आज शनिवारबाट ४ दिन लामखुट्टेकाे लार्भा नष्ट गर्ने अभियान सुरु गरिएकाे स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले जानकारी दिए । डेंगु संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने तथा लार्भा बनाउने भएकाेले सफा पानी जम्ने सवारी साधनका टायर, गमला, पानी जम्ने ठाउँ पहिचान गरी लामखुट्टे नष्ट गर्न स्प्रे गरिने तथा जनचेतना समेत फैलाउन सूचना प्रभाव गरिने उनले बताए । शनिबार हेटाैडा ४ क्षेत्रका माेटर ग्यारेज तथा माेटरसाइकल मर्मत केन्द्रहरुमा रहेका प्रयाेग नआउने टायरहरु नष्ट गरिएकाे उपमहानगरपालिकाले जनाएकाे छ ।
हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर ४ र ५ मा सवारी साधन बनाउने ग्यारेजहरु धेरै रहेको तथा जनघनत्व समेत बढी भएको कारण यहाँ बढी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । डेंगुको कारण हालसम्म मकवानपुरमा कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरुमा डेंगु बिरामीको चाप बढेकाेले उपचारमा समस्या हुँदै गएकाे उनले जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडामा ७४ किलाे गाँजा सहित २ जनालाई पक्राउ गरेकाे छ । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १० मा पिकअप गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० राप्तीपुल नजिकबाट चितवनबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९४२ नंबरको तरकारी बोक्ने गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषधसहित २ जना पक्राउ परेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गाडी चालक नुवाकोट बिदुर-१३ बस्ने ३१ वर्षीय प्रकाश तामाङ,गाडीमा सवार पर्सा ठोरी-३ बर्मानगर बस्ने ३४ वर्षीया चन्द्र कुमारी श्रेष्ठ रहेका छन् । प्रहरीले उनिहरुको साथबाट नगद ३१ हजार ७ सय रुपैयाँ फेला पारेको जनाएको छ । पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमण नेपालमा पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगू संक्रमण देखिएको छ ।
बागमती प्रदेशमा सबै भन्दा बढी
देशभर साउनदेखि यता २ हजार एक सय ७९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् । हालसम्म बागमती प्रदेशमा १ हजार २ सय ९१ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा ५ सय ८३, प्रदेश नम्वर १ मा १ सय ४४, गण्डकी प्रदेशमा ५२, मधेश प्रदेशमा ४८, कर्णाली प्रदेशमा १७ र सुदूपश्चिम प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको छ । देशभर २०७८ पुसदेखि यता ४ हजार १सय ४ जनामा डेंगु पुष्टि भएको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हेटौंडामा डेंगु नियन्त्रण अभियान
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा फैलदै गरेको डेंगु नियन्त्रणका लागि अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरले डेंगु नियन्त्रण अभियान सुरु गरेको हो । उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शनिबारबाट सञ्चालन गरिने जनाएको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिकाले अभियानबारे अभिमुखिकरण कार्यक्रम गरि जानकारी गराएको हो । शनिवारबाट ४ दिने लार्भा नष्ट गर्ने अभियान सुरु गर्न लागिएको जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले जानकारी दिए ।
साउन महिनादेखि अहिलेसम्म मकवानपुर जिल्लामा ५ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार सबैभन्दा बढी संक्रमित जिल्लाको हेटौंडा उपमहानगरपालिका–४ र ५ नंबर वडाका रहेका छन्
मकवानपुर । बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्याम प्रसाद शर्माको अर्ध कदको सालिक शुक्रबार अनावरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा शर्माको सालिक अनावरण गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्वर्गीय शर्माको अर्ध कदको सालिक अनावरण गरेका हुन । ‘नेपाली माटो सुहाउँदो माक्सवादी बिचार प्रवाह गर्दै साहित्य, राजनीति र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्वपूर्ण योगदान दिएका छन्’ सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले भने-‘समाज परिवर्तनको लागि बिचार महत्वपूर्ण विषय भएकाले यस्ता अभियान्ताहरुको सधैँ सम्मान गर्नुपर्छ ।’
प्रतिष्ठानका उपाध्यक्ष इन्द्र प्रसाद नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष सुर्यचन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
१९८६ असार ६ गते मकवानपुरको तत्कालिन मन्थली गाविसमा जन्मिएका शर्माको आइमाई साथि लगायत साहित्यिक तथा राजनीतिक गरि दर्जन बढि पुस्तक प्रकाशित छन् ।
