मकवानपुर । राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता र कविहरुको नामावली सार्वजनिक गरिएकाे छ । साहित्य सङ्गम मकवानपुरको आयोजनामा हुने पर्या कविता प्रतियोगिताकाे लागि मंगलबार सङ्गमले १० वटा कविता र कविको नामावली प्रकाशन गरेको हो ।
प्रतियोगिताका लागि १ सय ६४ वटा कविता प्राप्त भएकाे मध्ये अन्तिम चरणको प्रतियोगिताका लागि १० वटा कविता छनोट गरिएकाे संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरिनेछ भने चौथो र पाँचौं हुनेलाई प्रोत्साहन स्वरुप समान ५/५ हजार रुपैयाँ प्रदान गरिने छ ।
अन्तिम चरणमा छानिएका कविहरुले प्रतियोगितामा भाग लिने छन् । वाचनका लागि छनोट भएका कवि तथा कविताहरुमा मकवानपुरका किशन पौडेलकाे दोहन र सुवास सजलकाे मौनधारण रहेका छन् । यसैगरी सुनसरीका किरन सिवाकाे मौन प्रकृती, तनहुँका नरोत्तम श्रेष्ठकाे विउकाे रक्तिम घोषणापत्र, सिन्धुलीका निरुपम श्रेष्ठकाे हरियाे विद्राेह, कास्कीका मदन घिमिरेकाे एक आरोहीकाे डायरी, कैलालीका मोहित जोशी समयकाे अन्त्यकाे किनारमा उभिएर, काठमाडौंका यशोदा अधिकारीकाे धर्तीकाे विघटन, धादिङका राजु झल्लुप्रसादकाे तर र लमजुङका सुरेशचन्द्र घिमिरेको प्रकृति र जीवन कविता छनोट भएकाे हो ।
उत्कृष्ट १० मा पर्न सफल भएका कविहरुबीच पुस २६ गते अन्तिम चरणको प्रतियोगिता हेटौंडामा हुने संगमका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनाेज पोखरेलले बताए ।
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले एकै मञ्चमा ६ जना व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्ने भएकाे छ । मातृभूमिले मकवानपुरकाे हेटौंडामा पुष १९ गते शनिबार ‘स्रष्टा सम्मान, परिचर्चा एवम् रचना वाचन कार्यक्रम’ गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जनालाई सम्मान तथा पुरस्कृत गर्ने भएकाे हाे ।
मकवानपुर श्री सम्मान, २०८२ बाट सामाजिक अभियन्ता विश्व कान्ति कलावती सुमार्गी पराजुली सम्मानित हुने भएकी छिन् । यसैगरी मातृभूमि राष्ट्रिय पुरस्कार, २०८१ बाट साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम सम्मानित हुने भंएका छन् । २५ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार गौतमलाई प्रदान गर्न लागिएकाे समाजका सचिव किशन पौडेलले बताए ।
यसैगरी नित्य गोविन्द स्मृति-मातृभूमि सङ्गीत पुरस्कार, २०८१ गायिका कुन्ती मोक्तानलाई सम्मानित गरिने भएकाे छ । २५ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार नेपाली सुगम संगीतकी सुप्रसिद्ध गायिका मोक्तानलाई प्रदान गरिने पौडेलले जानकारी दिए । यस्तै २१ हजार रुपैयाँ राशीकाे मायादेवी मातृभूमि पुरस्कार, २०८१ नियात्राकार भवानी खतिवडा, १५ हजार रुपैयाँ राशीकाे श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०८१ बाट युवा कवि रोशन परियार तथा १० हजार रुपैयाँ राशीकाे शारदा उप्रेती स्मृति मातृभूमि सम्मान २०८१ बाट कला-साधक जीवन के.सी. सम्मानित हुने उनले जानकारी दिए ।
सचिव पौडेलका अनुसार समाजले आगामी शनिबार सम्मानसहित नारी स्रष्टा र सिर्जना परिसंवाद तथा नारी स्रष्ट्रा विशेष रचना वाचन कार्यक्रम समेत गर्नेछ । नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यसहित २०५६ सालमा स्थापना भएकाे मातृभूमि साहित्य समाजले विभिन्न विधामा १७ वटा पुरस्कार एवम् सम्मान प्रदान गर्दै आइरहेको छ ।
मकवानपुर । जेसीआई हेटौंडा वर्ष २०२६ अध्यक्षमा सन्तोष पराजुली निर्वाचित भएका छन् । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था जेसीआई हेटौंडा शाखाकाे शनिबार नेतृत्व चयनका लागि भएको निर्वाचनमा पराजुलीकाे प्यानल नै विजयी भएकाे हाे ।
शनिबारकाे अधिवेशनमा आफ्ना प्रतिस्पर्धी जीवन ढकाललाई २९ मत अन्तर पराजित गर्दै पराजुली विजयी भएका हुन् । पराजुलीले १ सय ७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले ७८ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल १ सय ८७ मत खसेकोमा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षसँगै पराजुलीको प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार तथा उपाध्यक्षमा विवेक बानिँया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पराजुलीले जेसीआईको मर्मअनुसार युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेसीआई हेटौंडालाई थप उचाइमा पुर्याउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन् ।
जेसीआईले लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्दै आएकाे छ ।
जिल्लादररेट अनुसारको ज्याला पाउँदैनन् मजदुरहरु सुरक्षाको चरम चुनौती
Tags: No Comments
मकवानपुर । सेल सेल सेल, ६ सयमा न्यायो सर्ट, ५ सयमा सिरकको खोल । भत्किएको जोखिमपूर्ण संरचनाको आडैमा उभिएर सविना चिच्याइरहेकी छिन् । उनको वरपर उपभोक्ताको बाक्लो भीड छ ।
यसियन हाइवेको मापदण्ड अनुसार सडक विस्तार गर्ने योजनाको साथ सडक आसपासको संरचना भत्काइएपछि अहिले हेटौंडा बजार अस्तव्यस्त भएको छ । त्यहि भत्किएको संरचनाको आडैमा बसेर दिनभरी सामान बेच्छिन् हेटौंडाकी १९ सविना अधिकारी ।
दिनभरी सेलमा उभिएर कराउँदै व्यापार गरिदिए वापत साँझ उनलाई पसल धनीले ६०० रुपैयाँ दिन्छन् । स्नातक तहमा अध्ययनरत सविनालाई क्याम्पसको शुल्क तिर्नको लागि यो काम अनिवार्य छ । उनले पछिल्लो १५ दिनदेखि उनी यही काम गर्दै आएकी छिन् । यसअघि उनी हेटौंडाकै अर्को किराना पसलमा काम गर्थिन । जहाँ काम गरेको प्रतिदिन ७०० रुपैयाँ थियो । आफूले काम गर्दै आएको किराना पसल भत्किएसँगै उनको रोजगारी पनि सकियो । कामको खोजि गर्दैगर्दा उनले कपडा व्यापारीको पसलमा कराउँदै कपडा विक्री गर्ने जिम्मेवारी पाइन् । विहानको समयमा हुने क्याम्पसको २ वटा कक्षा छोडेरै उनी यो काममा आइपुग्छिन् । “९ बजे यहाँ आइसक्नुपर्छ, त्यसैले पछिल्लो २ वटा विषय पढ्न छोडेर आउँछु” उनले भनिन् “काम गरेको दिनमा मात्रै पैसा आउँछ, समयमै आउनै पर्छ, साँझ अध्यारो हुँदासम्म यही काममा खट्छु ।”
दैनिक ६०० रुपैयाँको दरले पाउने ज्याला सविनालाई जस्तै सबैलाई समान भने छैन । उनीसँगै काम गर्ने ३८ वर्षिय कमल लामाको जिम्मेवारी पनि अहिले त्यही हो, तर उनले पाउने पैसा सविनाको भन्दा १२० रुपैयाँले बढी छ । अर्थात कमलले ७२० रुपैयाँ प्रतिदिन पाउँछन् । “काम त उही हो, म पुरानो भएकोले मैले यति नै पाउँदै आएको छु” कमलले भने । कमलले विगत २ वर्षदेखि यहि कपडा पसलमा काम गर्दै आएका थिए । अहिले पसल भत्किएपछि उनी पनि सोही व्यापारीको खुला पसलमा चिच्याएर कपडा विक्रीको काम गर्छन ।
सविनाकै सहपाठी जेनिशा पनि व्यापारको काममा सक्रिय छिन् । व्याग पसलमा सेल व्यापारमा चिच्याएरै दिन बित्छ जेनिशाको पनि । जेनिशाले दैैनिक ६२५ रुपैयाँ पाउँछिन् । “घरमा बसेर आम्दानी हुदैन, सिक्ने अवसर पनि हो” जेनिशाले भनिन् “बराबरी पैसाको कुरा गर्यो भने पाएको काम पनि छुट्ला भन्ने डर छ ।” साहुले थाहा पाउने गरी उनीहरु यति जानकारी दिन पनि डराउँछन् ।
स्नातक पढ्दै गरेका उनीहरु आफ्नो व्यक्तिगत खर्चको लागि र शैक्षिक शुल्कको लागि असमान पारिश्रमिक भए पनि काम चुपचाप गर्न बाध्य छन् । दैनिक ज्यालादारी काम भएकोले बिरामी हुँदा काममा हाजिर छुट्छ । काममा नगएको दिन पैसा पाइदैन । काममा आउँदाको दिनको पीडा पनि धेरै छ । जेनिशा भन्छिन् “चिच्याउँदै पैदलयात्रीलाई आकर्षण गरेर सामान बेच्न सजिलो छैन, सामानको लागि तोकिएको मुल्य भन्नै परो, महङ्गो भयो भनेर सामन हेरेर जान्छन्, व्यापार भएन भने साँझ साहुँले अध्यारो अनुहार पार्दै पैसा दिन्छन् ।” व्यापारीको चित्त बुझ्ने गरी र उपभोक्तालाई मन पर्ने गरी व्यापारमा आफूले मध्यस्थता गर्नुपरेको उनीहरु बताउँछन् ।
सिर्फ दैनिक ज्यालादारीको रुपमा पाउने पारिश्रमिक पनि जिल्ला दररेट अनुसार छैन । दैनिक ज्यालादारीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको दर रेट प्रतिदिन दक्ष कामदारको लागि १ हजार २०० र अदक्ष कामदारको लागि ९०० रुपैयाँ छ । तर उनीहरुले पाउने पारिश्रमिक रोजगारदाताको विवेकमा निर्भर छ । प्रशासनले तोकेको न्युनतम पारिश्रमिक उनीहरुले पाउँदैनन् ।
साहुले जति मन लाग्यो उति दिन्छन्, अर्थात आपसी समझदारीमा पारिश्रमिक पाउँछन् उनीहरु । भत्केको संरचनामा अल्झिेका इट्ट र स्क्रयाबहरु कतिबेला माथिबाट खसेर आफ्नो टाउकोमा लाग्ला कि भन्ने डर पनि उत्तिकै छ । दिनभरी उभिएरै सामान बेच्नु पर्छ । उनीहरुलाई खाना र खाजाको व्यवस्था पनि छैन । काम गर्दा गर्दै हुने दुर्घटनाको बीमा पनि छैन ।
“पुराना कार्मचारीलाई र नयाँलाई समान पारिश्रमिक दिन सकिदैन” व्यापारीले आफ्नो र पसलको नाम नबताउने सर्तमा भने “अहिले त जत्तिपनि काम गर्ने मान्छे पाइन्छ, घटाघटमा मान्छे पाइने भएपछि सबैले आफ्नै हित हेर्नेहो ।”
यसरी पसलहरुमा आपसी सम्झौतामा काम गर्ने मजदुरहरुले पाउने पारिश्रमिक तोकिएको दररेट भन्दा धेरै न्यून हुने गरेको बारे कहि कतै उजुरी समेत हुने गरेको अभ्यास छैन । जसको जोखिम कामदार स्वयमले नै व्यहोर्नुपर्ने हुन्छ ।
पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा सडक विभागले अतिक्रमण गरी बनाइएका संरचना भत्कापछि यस्तो जोखिम झनै बढेको छ । भत्काइएका घरहरूको अहिले घरधनीले व्यवस्थापनको काम गरिरहेका छन् । तर त्यहाँ काम गर्ने श्रमिकहरुलाई भने जोखिम देखिएको छ । सडक डिभिजन कार्यालय, स्थानीय सरकार र घरधनीको लापरवाहीका कारण पछिल्लो सातामात्रै ३ जना श्रमिक एकै स्थानमा घाइते भए । मंसिर २४ र २६ गते भएका घटनामा दुई जना श्रमिक घाइते भएका थिए । कार्यस्थलमा न्यूनतम सुरक्षा मापदण्ड नअपनाउँदा श्रमिकहरुको ज्यान जोखिममा परेको हो ।
हाल सडक विस्तारको क्रममा डोजर चलाएर अलपत्र छाडिएका संरचना पन्छाउने जिम्मा पाएका श्रमिकहरुले हेल्मेट र सेफ्टी बेल्ट नलगाइ काम गर्छन । सुरक्षा सामग्री विना नै जोखिमपूर्ण काम गर्न उनीहरु बाध्य छन् भने पछिल्लो समय हेटौंडाका सडक छेउका घरहरु भत्काउने र पन्छाउने कामको स्थानीय प्रशासन र हेटौंडा उपमहानगरपालिकाले समेत निगरानी गरेको देखिँदैन ।
जीर्ण र भत्किएका घर भत्काउँदा घाइते भएका पर्साका लारित यादव अहिले अस्पतालको शैयामा छटपटाइरहेका छन् । एक हजार १०० रुपैयाँ ज्याला पाउने उनले बिरामी पर्दा उपचार र बीमाको कुनै सुविधा पाएका छैनन् । मंसिर २६ गते बुद्धचोकमा असुरक्षित तवरले घरको भग्नावशेष पन्छाउने क्रममा छतसँगै खसेका उनको ढाडको हड्डी भाँचिएको छ । अहिले उनी सन्चो हस्पिटलको आईसीयूमा उपचाररत छन् । दैनिक ज्यालाको बाटो मात्रै बन्द भएन, अबका दिनमा यही शरिरले काम गर्न साथ दिन्छ कि दिदैन भन्ने पीडाले पनि पोलिरहेको छ । बुद्धचोकका घरधनी अनिल श्रेष्ठले मौखिक सम्झौतामा श्रमिक खटाए तर दुर्घटनापछि त्यसबारेमा कुनै जिम्मेवारी लिएका छैनन् ।
हेटौंडा–१ मा घर भत्काउँदा सन्तोष भ्लोन, दिनेश चौधरी र अरुण चौधरी घाइते भए । गत मंसिर २४ गते बुद्धचोकमा १९ वर्षीय जितेन्द्र माझी दुई तला माथिबाट खसे । लगातार एकपछि अर्को दुर्घटना हुँदा पनि सडक डिभिजन र स्थानीय प्रहरी प्रशासनले कार्यस्थलको सुरक्षा अनुगमनमा चासो देखाएको छैन । सडकमै यत्रतत्र छरिएका भत्किएका घरबाट निस्किएका रड र इँटाले बटुवालाई समेत जोखिममा पारेको छ ।
हालसम्म लोरितको उपचारमा करिब ४ लाख रुपैयाँ उपचार खर्च भइसकेको छ । दैनिक ज्यालादारी गरेर जीविका चलाउने उनको परिवार उक्त खर्च उठाउन सक्ने अवस्थामा छैन । मजदुरको पारिश्रमिक, बीमा, सुरक्षा लगायतको सवालमा सम्बन्धित पक्षहरु नै जिम्मेवार हुनुपर्ने प्रशासनको दाबि छ । “हामीले कामदारको दररेट तोकेका छौ, सुरक्षाको लागि अपिल गरेका छौ, जोखिममा व्यापार नगर्नको लागि सार्वजनिक रुपमै विज्ञप्ति प्रकाशन गरेका छौं, यति हुँदा पनि आपासी सम्झौतामा जोखिम मोल्नेलाई हामीले दुर्घटनपछि कानूनी कारवाही गर्नुको विकल्प छैन” प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने ।
समान काममा असमान पारिश्रमिकको विरुद्धमा भने मजदुर अधिकारकर्मीहरुले नियमित दबाब दिइरहदा पनि सुनुवाइ नभएको मजदुर नेतृ बिमला तामाङ्ले बताइन् । “हामीले विभिन्न सभा सम्मेलनमा समान कामको समान ज्यालाको लागि माग र दबाब दिंदै आएका छौ, तर सम्बन्धित तहबाट सुनुवाइ नै भएको छैन” उनले भनिन् । समान काममा असमान पारिश्रमिक पाउने मात्रै चुनौति हैन महिलालाई फिल्डकाे काममा झनै जोखिम छ भन्छिन तामाङ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयका (प्राविधिक शिक्षालय) १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।
विद्यालयले आन्तरिक स्रोतबाट आर्थिक वर्ष २०८२/०८३ बाट ६ जना शिक्षक र ७ जना कर्मचारी गरी १३ जनालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो । बुधबार विद्यालयले उनीहरुलाई सामाजिक सुरक्षा कोषको कार्ड वितरण गरेको छ । जिफण्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले बुधबार सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरु लाई सदस्य कार्ड वितरण गरेका हुन् ।
सामुदायिक विद्यालयले शिक्षक तथा कर्मचारीलाई सामजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्य उदाहरणीय रहेको कार्ड वितरण कार्यक्रमा श्रेष्ठले बताए । उनले भने’सामाजिक सुरक्षाले श्रमिकको पेशागत भविष्य सुरक्षित हुन्छ ।’ सामुदायिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक र कर्मचारी सेवाको सुविधा सुनिश्चित गर्न कोषमा आवद्धताले सहयोग पुग्ने अपेक्षा लिइएको विद्यालय व्यबस्थापन समिति अध्यक्ष नवीन सिग्देलले उनले बताए । आन्तरिक स्रोतबाट शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो सामुदायिक विद्यालय भुटनदेवी मावि भएको उनले जानकारी दिए ।
विद्यालयले गत साउन महिनाबाट १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको विद्यालयका लेखापाल बालकृष्ण दाहालले जानकारी दिए । १३ जनालाई कोषमा आवद्ध गराउदा विद्यालयले मासिक ४९ हजार भुक्तानी गर्दै उनले बताए । ‘यो वर्ष न्यूनतम २ वर्ष सेवा अबधि पूरा भएका १३ जनालाई सामाजिक सुरक्षामा आवद्ध गराइएको छ’ उनले भने ‘अर्को सालबाट २ वर्ष सेवा पूरा हुने थप ८ जनालाई कोषमा आबद्ध गराइनेछ ।
विद्यालयले न्यूनतम मासिक तलबको आधारमा कोषमा आवद्ध गराएको हो । विद्यालयमा निजी स्रोतमा ३१ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।