मकवानपुर । राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता र कविहरुको नामावली सार्वजनिक गरिएकाे छ । साहित्य सङ्गम मकवानपुरको आयोजनामा हुने पर्या कविता प्रतियोगिताकाे लागि मंगलबार सङ्गमले १० वटा कविता र कविको नामावली प्रकाशन गरेको हो ।
प्रतियोगिताका लागि १ सय ६४ वटा कविता प्राप्त भएकाे मध्ये अन्तिम चरणको प्रतियोगिताका लागि १० वटा कविता छनोट गरिएकाे संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरिनेछ भने चौथो र पाँचौं हुनेलाई प्रोत्साहन स्वरुप समान ५/५ हजार रुपैयाँ प्रदान गरिने छ ।
अन्तिम चरणमा छानिएका कविहरुले प्रतियोगितामा भाग लिने छन् । वाचनका लागि छनोट भएका कवि तथा कविताहरुमा मकवानपुरका किशन पौडेलकाे दोहन र सुवास सजलकाे मौनधारण रहेका छन् । यसैगरी सुनसरीका किरन सिवाकाे मौन प्रकृती, तनहुँका नरोत्तम श्रेष्ठकाे विउकाे रक्तिम घोषणापत्र, सिन्धुलीका निरुपम श्रेष्ठकाे हरियाे विद्राेह, कास्कीका मदन घिमिरेकाे एक आरोहीकाे डायरी, कैलालीका मोहित जोशी समयकाे अन्त्यकाे किनारमा उभिएर, काठमाडौंका यशोदा अधिकारीकाे धर्तीकाे विघटन, धादिङका राजु झल्लुप्रसादकाे तर र लमजुङका सुरेशचन्द्र घिमिरेको प्रकृति र जीवन कविता छनोट भएकाे हो ।
उत्कृष्ट १० मा पर्न सफल भएका कविहरुबीच पुस २६ गते अन्तिम चरणको प्रतियोगिता हेटौंडामा हुने संगमका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनाेज पोखरेलले बताए ।

