मकवानपुर । मकवानपुरमा थप २ सय २२ जना डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे हाे ।
जिल्लामा थपिएका डेंगु संक्रमितहरुमा हेटौंडा उपमहानगरपालिका भित्रका सबैभन्दा बढी २ सय ३ जना रहेको कार्यालयले जनाएको छ । यसैगरी, मनहरी गाउँपालिकाका ९ जना, थाहा नगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका र जिल्ला बाहिरका १/१ जना रहेका छन् ।
योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ६ सय ४ जना पुगेका छन् । जिल्लामा डेंगु संक्रमणका कारण हालसम्म हेटौंडा उपमहानगरपालिकाका १ जनाकाे मृत्यु भएकाे छ।

मकवानपुर । ग्रामिण जागरण विकास संस्था नेपाल (राडो नेपाल) आर्थिक वर्ष २०७८ /०८९ मा ७ करोड २३ लाख बजेटको विभिन्न कार्यक्रम गरेको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, बालमैत्री शासन, बाल विवाह विरुद्धलगायतको विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले आगामी आर्थिक वर्षको लागि पनि सामाजिक तथा भाैतिक कार्य गर्नकाे लागि कार्यक्रमहरु प्रस्ताव गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७८/ ०७९ मा विभिन्न निकायहरुसंग सहकार्य गरी लक्ष्यित वर्गमा विभिन्न कार्यक्रम गरेको हो । संस्थाले २९ औं साधारण सभामा सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्लान इन्टरनेशनल नेपालसंगको सहकार्यमा सञ्चालित विपद जोखिम न्युनीकरण जलवायु परिवर्तन अनुकुलन कार्यक्रम, खानेपानी योजना निर्माण मर्मतसुधार, कोभिड प्रभावित परिवार पालिकालाई सहयोग, वाल संरक्षण तथा मानव वेचविखन विरुद्ध कार्यक्रम र प्रत्याभुत संचार कार्यक्रम अन्तरगत कार्यक्रमहरु गरेको कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए ।
यस अन्तरगत खानेपानी योजना निर्माण ३ वटा योजना पुरा गरेको छ । जसबाट मकवानपुरगढी र मनहरी गाउँपालिकाको १६४ घरधुरी लाभान्वित भएका छन् ।
मनहरी, भिमफेदी र बागमती गाउँपालिकाहरुमा खानेपानी योजना निर्माण मर्मतसुधार अन्तरगत ९ वटा विद्यालयहरुमा काम गरिएको छ । यसैगरी कोभिड प्रभावित १४० परिवारलाई खाद्यन्न सहयोग गरिएको संस्थाले जनाएको छ । जसमा प्रति परिवार १३ हजार ५ सयको दरले सहयोग गरिएको थियो ।
सामाजिक जागरण कार्यक्रममा समेत भूमिका निर्वाह गर्दै आएको संस्थाले कोरोना भाइरसको महामारीको बेलामा मास्क लगाउ अभियान नै सञ्चालन गरेको थियो । यस्तै यसै अभियान अन्तरगत कोभिड विरुद्धको खोप अभियानमा ३०० महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरी जिल्लाको १० वटै स्थानीयहहरुका अस्पतालहरुमा कोभिड विरुद्धका मेडिकल सामग्री सहयोग गरेको थियो ।
संस्थाले बालमैत्री स्थानिय शासनयुक्त पालिका निर्माण तथा घोषणामा समेत सहयोग गर्दै आएको छ । यसैगरी बाल विवाह, मानब बेचबिखन विरुद्धका अभियानहरु गर्दै आएको अध्यक्ष कृष्ण धितालले बताए ।
राडो नेपालले जिल्लाको ४ वटा पालिकाहरुमा बाल आकस्मिक कोष स्थापना तथा कार्यविधि निर्माणमा सहयोग गरेको धितालले बताए । यसैगरी २ पालिकाहरुमा स्थानिय आपतकालिन कार्य संचालन कक्ष स्थापना, कार्यविधि निर्माण तथा सामग्री सहयोग गरेको छ ।
संस्थाले विगतमा विनाशकारी भुकम्पमा परेर आवास गुमाएका ७५६ परिवारलाई ५ लाख बराबरको आवास नै निर्माण गरी हस्तान्तरण गरेको धितालले बताए । यसैगरी जिल्लाको विभिन्न खोलाहरुमा झोर्लुङ्गे पुल निर्माण कार्यक्रमा समेत सहयोग गर्दै आएको छ ।
ग्रामिण जागरण विकास संस्था नेपाल (राडो नेपाल) को २९ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष कृष्ण धितालको अध्यक्षता तथा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ । कार्यक्रममा प्रजिअ पाण्डेले गैरसकारी संस्थाले नागरिक कर्तव्य र अधिकारको सवालमा पनि अभिभाकत्वको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको औल्याए । अनुशासनहिनता बढ्दै आएको अवस्थामा गैससहरुले नयाँ पिढीलाई सचेत र शिक्षिक बनाउन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने पाण्डेले बताए ।
कार्यक्रममा गैसस महासंघ केन्द्रीय सचिव बुद्धशरण लामाले आर्थिक पारदर्शिताको कारण गैससहरुले सहज काम गर्न सकेको बताए । केन्द्रीय सचिव लामाले गैससहरुलाई सहज कामको लागि स्थानीय तहहरुसँगको सहकार्य आवश्यक भएको बताए ।
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्ष्यित गरी नेपाल कम्युनिस्ट पार्टी एमाले मकवानपुरले जनबर्गीय सङ्गठनसङ्ग अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा जनबर्गीय सङ्गठनका केन्द्रिय कमिटी र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु जिल्लाका अध्यक्ष र सचीवहरु सहभागी रहेका थिए ।
सत्ता गठबन्धनसङ्ग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले निर्वाचनलाई स्वच्छ बनाउन एमाले चनाखो रहनुपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
नेकपा एमालेका केन्द्रिय सदस्य एबम जिल्ला सह इन्चार्ज जुनेली श्रेष्ठले कार्यक्रम प्राप्त गरेका सल्लाह सुझाव अनुसार पार्टीको रणनीति हुने बताइन् । निर्वाचनमा सबैले आ आफ्नो भुमिकालाई कायम राख्नुपर्ने श्रेष्ठले बताइन् ।
नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर २ का उमेदवार महेश बर्तौलाले निर्वाचनमा एक्लै भन्दा पनि पार्टीका सबै तह सक्रिय हुनुपर्ने बताए । यो निर्वाचनमा गठबन्धन परास्त हुने उनले बिश्वास व्यक्त गरे ।
मकवानपुर क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले सूर्य चिन्हमा निर्वाचन लड्न पाउनु सौभाग्य भएको बताए । एमालेसँग विगतमा पनि सहकार्य भएको स्मरण गर्दै आगामी दिनमा पनि जारी रहने उनको भनाई थियो ।
जिल्ला अध्यक्ष एबम मकवानपुर क्षेत्र नम्बर १ ख का उमेदवार एकालाल श्रेष्ठले बिजयी प्राप्त गर्ने तयारी गरेर अगाडि बढेको बताए । सबै तहले आ आफ्नो जिम्मेवारी महसुस गरेर सबै तहमा खटिन निर्देशन दिए । निर्वाचन परिचालन कमिटीका संयोजक अनन्त पौडेलले जनबर्गीय सङ्गठनबाट आएका सुझावका आधारमा जनता माझ जाने बताए ।
मकवानपुर । आसन्न प्रनितिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचिनको लागि मनोनय दर्ता सकिएपछि दलहरु निर्वाचन केन्द्रित एजेण्डामाथि छलफल गर्न बैठक बस्न थालेका छन् ।
नेकपा एमाले मकवानपुरले निर्वाचन तयारी सन्दर्भमा सोमबार पार्टी कार्यालयमा भातृसंगठनहरुसँग बैठक बसेको छ । बैठकमा विगतमा स्थानीय तहको निर्वाचनको क्षतिपुर्ति गर्नेगरी आगामी दिनमा अघिबढ्नको लागि तयारी थाल्ने बारे छलफल भएको बताइएको छ ।
पार्टीको हारलाई शक्तिमा बदल्ने गरी, अबको तयारी कसरी गर्ने भन्नेबारे बैठकमा छलफल भएको सहभागी एक नेताले बताए ।
यता सत्ताधारी गठबन्धनमा आबद्ध तीन ठूला राजनीतिक दलको बैठक मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार बिहान बसेको छ । मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ अन्तर्गतका दलका नेताहरुको उपस्थितिमा बैठक बसेको हो ।

बैठकले तत्कालीन प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि लोकतान्त्रिक शक्ति र इमान्दार बामपन्थी शक्तिहरु एक भएर संविधान रक्षाका लागि गठबन्धन गरेको स्मरण गराउँदै अबको निर्वाचनमा संविधान मिच्ने पक्षधरलाई परास्त पार्न सबैखाले शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
मंसीर ४ गतेको निर्वाचनमा संविधान विरोधी शक्तिलाई परास्त गर्नुपर्ने सन्देश वडा र तल्लो तहमा समेत पु-याउन आ–आफ्ना दलहरुमार्फत भूमिका निर्वाह गर्ने र छिट्टै संयुक्त बैठक बस्ने तयारी समेत गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचनमा पनि मकवानपुरबाट गठबन्धनका उम्मेदवारहरुलाई जिताएर जनताले एकपटक संविधान मिच्नेहरुलाई दण्ड दिएका छन्’, नेपाली काँग्रेस प्रदेश ख समितिका सभापति रन्जन कालाखेतीले बताए ।
कमल थापासँग मिलेर संविधान बन्न नदिने, राजतन्त्रको वकालत गर्ने र जन आन्दोलन दबाउने व्यक्तिलाई एमालेले बोकेर आफ्नो राजतन्त्रप्रतिको मोह प्रकट गरेको गठबन्धनको ठम्याइ छ । गठबन्धनमा भएका बिगतका केही कमी कमजोरीलाई सच्याउँने र तत्कालै बैठक, छलफलहरु एकल र सामूहिक रुपमा राखेर जनतालाई एमालेले छर्न सक्ने भ्रमप्रति सचेत हुनका लागि आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा २ का इन्चार्ज बीरबहादुर घलान ज्वाला, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा २ का संयोजक भूमिनन्द अर्याल, प्रदेश ख कमिटी संयोजक टंकबहादुर मुक्तान नेपाली काँग्रेस जिल्ला सदस्य नुरोज कुमार पौडेल, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका मनहरी गाउँ कमिटी उपाध्यक्ष दिलबहादुर स्याङ्बो लगायत नेताहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुरबाट कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
२ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा प्रत्यक्षतर्फ महिलाको उपस्थिती भने न्युन रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभामा मकवानपुरबाट एक जानमात्रै महिलाको उम्मेदवारी रहेको छ । प्रतिनिधि सभामा मकवानपुरको क्षेत्र न १ बाट नेपाली काँग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी रहेको हो । उनी सत्ताधारी गठबन्धनको साझा उम्मेदवार हुन् ।
यसैगरी प्रदेश सभातर्फ भने ६ जना महिलाको उम्मेदवारी परेको छ । जसमा कुमारी मोक्तान १ जनामात्रै राजनीतिक दलबाट उम्मेवार बनेकी हुन् भने अन्य ५ जना स्वतन्त्र उम्मेदवार हुन् ।
मकवानपुरको प्रतिनिधि सभा २ को प्रदेश सभा ख मा लक्ष्मी गुरुङ, निर्मला गौतमले नेपाली काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । कमला गौतम र लक्ष्मी अधिकारी लामिछानेले पनि प्रदेश सभा २ को ख तर्फ स्वतन्त्रण उम्मेदवारी दिएका हुन् ।
यसैगरी प्रतिनिधि सभा २ को प्रदेश सभा ख बाट चुनावी मैदानमा आउने गरी शान्ति दाहालले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार मकवानपुर जिल्लामा प्रतिनिधि सभातर्फ क्षेत्र १ मा २ स्वतन्त्र समेत गरी १६ जनाले उम्मेदवारी दिएका छन् । भने प्रतिनिधि सभाको क्षेत्र २ मा १ स्वतन्त्र समेत गरी १० जनाको उम्मेदवारी परेको छ ।
यता प्रदेश सभातर्फभने ४ क्षेत्रमा ४३ जनाको उम्मेदवारी परेको छ । जसमा १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रदेश सभा १ को क मा ३ जना, ख मा ६ जना तथा प्रदेश सभा २ को क मा २ जनार ख मा ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
निर्वाचनमा हारजितलाई सहज बनाउनको लागि गरिएको गठबन्धनको कारण महिल उम्मेवदार कम भएको विश्लेषण गरिएपनि यस पटक गठबन्धनबाटै २ जना महिलाहरु प्रत्यक्षमा उम्मेदवार बने तर, गठबन्धनसँग प्रतिष्पर्धामा उत्रेका अन्य दलहरुले भने महिललाई उम्मेदवार बनाएनन् ।
महिलाको सिट सुरक्षित गर्नको लागि आफू प्रत्यक्षमा आएको नेपाली काँग्रेस नेतृ महालक्ष्मी उपाध्यायले बताइन् ।
यसैगरी प्रत्यक्षतर्फ तेस्रो लिङीसमुदायबाट पनि उम्मेदवारी सून्य रहेको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
