सरकारले मङ्गलवार(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले भोलि बिदा दिने निर्णय भएको बताए । ‘भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भने ।
‘मन्त्रालयले सार्वजनिक बिदा’ बारे सूचनासमेत प्रकाशित गरेको छ । संस्कृतीविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’, प्रवक्ता पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा एक दिन बिदा दिने’ प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका थिए ।
मकवानपुर । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने र नवप्रवेशी खेलाडीलाई प्रोत्साहन मिल्ने गरि मकवानपुरमा पालिका स्तरीय भलिबल हुने भएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरुको महान पर्व तिहारको अबसरमा बकैयाको खेलकुद विकास समितिको आयोजनामा पुरुष भलिबल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता कात्तिक ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ खेलाडी, १ जना टिमकोच र १ जना म्यानेजर गरी १४ जना हुनु पर्ने आयोजकले जनाएको छ । खेलाडीहरु आफ्नो वडाको हुनु पर्ने बताईएकोे छ । खेल तालिका कात्तिक १ गते मंगलबार सार्वजनिक हुनेछ ।
प्रतियोगिताका लागि सहभागीको दर्ता शुल्क २ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा विजेता हुनेले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६७ औँ प्रहरी दिवस सोमबार मनाएको छ । दिवसमा विभिन्न कार्यक्रमहरु गरी मनाएको हो ।
दिवसको अवसरमा बागमती प्रदेश मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रहरीको सेवा कठीन रहेको बताए । उनले शान्ति सुरक्षा सेवा गर्ने क्रममा ज्यान गुमाएका प्रहरीहरु प्रति समवेदना प्रकट समेत गरे । ‘प्रहरीको उपस्थिति हुँदा राज्यको उपस्थिति हुनेछ’ पाण्डेले भने-‘प्रहरीले आफ्नो दायित्वमा रहेर कार्य गर्नु पर्ने हुन्छ ।’ नेपालको संविधान अनुसार प्रहरी प्रदेश सरकारको समायोजनमा आउनुपर्नेमा त्यसो हुन नसकेको पाण्डेले बताए । प्रदेशमा स्मार्ट पोलिस कन्ट्रोल रुम बनाउन प्रदेश सरकारको निर्णय भएको र छिटै काम हुनेमा उनले जानकारी दिए ।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले सरकार सञ्चालनमा एक महत्वपुर्ण संगठन प्रहरी संगठन रहेको बताए । ‘जनताको नजिक भएको संस्था भएकोले भरोसा योग्य साथीको रुपमा अगाडी बढ्नु पर्छ’ उनले भने ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफल रुपमा सम्पन्न गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुनेछ ।’
दिवसको अवसरमा प्रदेश प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्य सम्मानित भएका छन । बज्राचार्यलाई मुख्यमन्त्री पाण्डेले सम्मानित गरेका हुन । मकवानपुरका ट्राफिक प्रहरी कार्यालय प्रमुख मुनेन्द्र थापालाई ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्य गरिएको भन्दै सम्मानित गरिएको छ । यस्तै, प्रहरी निरिक्षक मधु कुमार थापालाई सर्वोत्कृष्ट प्रदेश प्रहरीको रुपमा सम्मानित गरिएको छ । कार्यक्रममा सहिद प्रहरीहरुको नाममा उनीहरुको परिवारलाई समेत सम्मान गरिएको थियो ।
२०१२ असोज ३१ गते विधिगत रुपमा प्रहरी संगठनको स्थापना भएको थियो । हरेक बर्ष असोज ३१ गते प्रहरी दिवस मनाउने गरिन्छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
मकवानपुर । मकवानपुर प्रहरीले चाँदीका तयारी सामान सहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ ड्राइभर डाँडाबाट चाँदीबाट बनेका १९ किलाे ८ सय ४५ ग्राम गरगहना सहित लालबाबु साहलाई नियन्त्रणमा लिइएकाे हाे ।
असोज २९ गते बिशेष सूचनाकाे आधारमा खटिएकाे प्रहरी टाेलीले हेटौडा तर्फ आउंदै गरेको प्रदेश २-०३-०१८ प ८२४८ नं. को माेटरसाइकल चेकजांच गर्दा माेटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ४४ को साहले बोकेको ब्यागमा लुकाई उक्त परिमाणकाे चाँदीबाट बनेको तयारी अबैंध गरगहनाहरु फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
चाँदीका अवैध गरगहना सहित नियन्त्रणमा लिइएका माेटरसाइकल तथा साहलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर। मकवानपुरमा आगामी मंसिर ४ गते हुने निर्वाचनकाे लागि समानुपातिक तर्फकाे मतपत्र आइपुगेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रमाणीतर्फको मतपत्र आइतबार आइपुगेको हाे ।
मकवानपुरमा समानुपातिक निर्वाचनतर्फ जिल्लाको क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६८ हजार मतपत्रको ठेली आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएकाे छ । यस्तै, क्षेत्र नं. २ तर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तरगत प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६९ हजार मतपत्र ल्याइएको २ नं. क्षेत्रका निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
मकवानपुरमा ३ लाख ७३७ मतदाता रहेका छन् । जिल्लामा क्षेत्र नं. १ र २ मा गरी जम्मा ३ सय ६४ वटा मतदान केन्द्रहरु तोकिएको प्रदेश निर्वाचन कार्यालय बागमतीले जनाएको छ ।
