मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६७ औँ प्रहरी दिवस सोमबार मनाएको छ । दिवसमा विभिन्न कार्यक्रमहरु गरी मनाएको हो ।
दिवसको अवसरमा बागमती प्रदेश मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रहरीको सेवा कठीन रहेको बताए । उनले शान्ति सुरक्षा सेवा गर्ने क्रममा ज्यान गुमाएका प्रहरीहरु प्रति समवेदना प्रकट समेत गरे । ‘प्रहरीको उपस्थिति हुँदा राज्यको उपस्थिति हुनेछ’ पाण्डेले भने-‘प्रहरीले आफ्नो दायित्वमा रहेर कार्य गर्नु पर्ने हुन्छ ।’ नेपालको संविधान अनुसार प्रहरी प्रदेश सरकारको समायोजनमा आउनुपर्नेमा त्यसो हुन नसकेको पाण्डेले बताए । प्रदेशमा स्मार्ट पोलिस कन्ट्रोल रुम बनाउन प्रदेश सरकारको निर्णय भएको र छिटै काम हुनेमा उनले जानकारी दिए ।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले सरकार सञ्चालनमा एक महत्वपुर्ण संगठन प्रहरी संगठन रहेको बताए । ‘जनताको नजिक भएको संस्था भएकोले भरोसा योग्य साथीको रुपमा अगाडी बढ्नु पर्छ’ उनले भने ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफल रुपमा सम्पन्न गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुनेछ ।’
दिवसको अवसरमा प्रदेश प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्य सम्मानित भएका छन । बज्राचार्यलाई मुख्यमन्त्री पाण्डेले सम्मानित गरेका हुन । मकवानपुरका ट्राफिक प्रहरी कार्यालय प्रमुख मुनेन्द्र थापालाई ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्य गरिएको भन्दै सम्मानित गरिएको छ । यस्तै, प्रहरी निरिक्षक मधु कुमार थापालाई सर्वोत्कृष्ट प्रदेश प्रहरीको रुपमा सम्मानित गरिएको छ । कार्यक्रममा सहिद प्रहरीहरुको नाममा उनीहरुको परिवारलाई समेत सम्मान गरिएको थियो ।
२०१२ असोज ३१ गते विधिगत रुपमा प्रहरी संगठनको स्थापना भएको थियो । हरेक बर्ष असोज ३१ गते प्रहरी दिवस मनाउने गरिन्छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

