मकवानपुर । मकवानपुरको भीमफेदीमा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघचौरमा देउसी खेल्न जानेक्रममा भिरबाट लडेर स्थानीय सुकमान गोलेको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
बाघचौरका ४१ वर्षिय गोले देउसी खेल्दै अर्को घरमा जाने क्रम्मा बाघचौरको भिरबाट लडी घम्भिर घाइते भएका थिए । घाइते गोलेलाई हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए । गोलेको गएराती हेटौंडा अस्पतालका डाक्टरले मृत्यु घोषणा गरेका थिए ।
हेटौंडामा चक्कु प्रहारबाट १ जना गम्भीर घाइते
यसैगरि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कर्रापुल नजिकै अज्ञात व्यक्तिको चक्कु प्रहारबाट गएराती एक जना युवक गम्भिर घाइते भएका छन् । स्थानीय २८ वर्षिय अजित लामा चक्कु प्रहारबाट घाइते भएका प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने युवक भने फरार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीका अनुसार घाइते लामाको हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछी भरतपुर रिफर गरिएको छ ।
लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्नेको पहिचान भने भएको र खोजी भइरहेको कार्कीले जानकारी दिए ।
मकवानपुर । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार अन्तर्गत आज मुख्य दिन भाई टिका मनाइदैछ । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटिका पर्व आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरि मनाइन्छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११: ३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् बताउछन् ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन् ।
दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
मकवानपुर । मकवानपुरको बसले ठक्करले एकजनाको मृत्य भएको छ ।
मदन भण्डारी लोकमार्गको हटिया सडकखण्ड अन्तरगत हेटौँडा उपमहानगरपालिका वडा नंबर १७ कठायत चोकमा बसले ठक्कर दिँदा सोहि स्थानका सोम गोलेको मृत्यु भएको हो ।
हेटौँडाबाट फापरबारी जाँदै गरेको ना ४ ख ४०२२ नम्बरको बसले अन्दाजी ४२ वर्षका गोलेलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भिर घाईते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मगलबार साझ कठायत चोक नजिकै हेटौंडा १८ मा मोटरसाइकलले ठक्कर दिंदा अर्का एक स्थानीयको मृत्यु भएको थियो ।
मकवानपुर । मोटरसाइकलको ठक्करमा परि मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ मा एक जनाको मृत्यु भएको छ ।
धरान चतरा सडकखण्ड अन्तरगत हेटौडाबाट ठुलोदमार तर्फ जादै गरेको बा ५८ प ५६५४ नम्बरको मोटरसाइकलले पैदल यात्री हेटौंडा १८ रामधुनीका ३५ वर्षिय बिनोद रमतेललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका रम्तेलको उपचारको क्रममा हेटौँडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले बताए ।
चाडपर्वको समयमा तिव्र गतिमा सवारी नलचाउन प्रहरीले अनुरोध गर्दै टाइम कार्ड लागू गरेको छ, तर मोटरसाइकलहरूमा हुने तिव्र गति प्रहरीले पनि रोक्न सकेको छैन ।
मकवानपुर । तिहार अर्थात् यमपञ्चको चौथो दिन आज गोवर्द्धन पुजा गरि मनाइदै छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार गोवर्द्धन संगै बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाउने गरिन्छ ।
आजको दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । गोवर्द्धन पुजा द्वापरयुग संग सम्बन्धित रहेको मानिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् रामचन्द्र आचार्य फुर्सती बताउँछन ।
बलि, हली एवं गोरु पूजा
भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउछन । ।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
