मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको सानोपोखराबाट लागुऔषध खैरो हिरोइन सहित ३ जनालाई पकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ सानोपोखराबाट १ ग्राम ४ सय ६० मिलिग्राम खैरो हिरोईन सहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौंडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
प्रहरीले सानोपोखरामा ना ४८ प ९००५ नम्बरको मोटरसाइललाई रोकी जाँच गर्दा १ ग्राम ४ सय ६० मिलि ग्राम खैरो हेरोईन र सानो डिजिटल तराजु १ थान सहित श्रेष्ठ, चौलागाईं र कार्कीलाई पक्राउ गरेको कार्कीले जानकारी दिए ।
मकवानपुर । मकवानपुर जिल्लामा सोमबार ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा डेंगु संक्रमितको संख्या ५ हजार नाघेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार ८ सय जना पुरुष र २ हजार २ सय ४५ जना महिला गरी ५ हजार ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । हेटौंडा उपमहानगरपालिकामा मात्रै हालसम्म ३ हजार ९ सय ५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । हेटौंडामा २ हजार २ सय जना पुरुष र एक हजार ७ सय ५५ जना महिला संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । आइतबार १३ जनामा डेंगु संक्रमण देखिएको थियो । सोमबार जम्मा ८ जनामा डेंगु संक्रमण देखिएको छ । यसले जिल्लामा पछिल्लो २ दिनदेखि डेंगु संक्रमणको संख्या घट्दो रहेको तथ्याङ्कले देखाउँछ ।
सोमबार संक्रमण पुष्टि भएका ८ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मकवानपुर । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन् ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको आयाेगले जनाएकाे छ । साे अनुसार कात्तिक १७ विहीबारदेखि मंसिर १ गतेसम्म उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार गर्न सकिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन भए/नभएको सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लघंनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउने क्रम जारी रहेको समेत आयाेगले जनाएकाे छ । यसैगरी आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आयोगले आग्रह गर्दै आएको बताएकाे छ ।
यस्तै आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नु व्यवस्था रहेकाे आयाेगले जनाएकाे छ । दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने भएकाे छ ।
यसैगरी आयाेगले कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधानहरू आचारसंहितामा रहेकाेले साेही अनुसार गर्न समेत उम्मेदवारलाई अनुराेध समेत गरेकाे छ ।
मकवानपुर । छठ पर्वअन्तर्गत व्रतालुले सोमबार विहान देशभर विभिन्न पोखरी, नदी, इनार, कृतिम जलासयलगायतको पानीको स्रोत भएको ठाउँबाट उदाउँदो सूर्यलाई अर्घ दिएर यसपालीकाे छठकाे समापन गरेका छन् ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।
विशेषतः तराई समुदायको पर्वको रुपमा बुझ्दै आएतापनि पछिल्ला केही वर्षयता पहाडी समुदायको पनि उत्तिकै उपस्थिती देख्ने गरिन्छ यो पर्वमा । पहाडी समुदायले पनि छठ पूजालाई परम्पराकै रुपमा लिन थालेका छन् । यसैले पनि पछिल्लो समय सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्वको रुपमा मानिदै आएको छ छठ पर्वलाई ।
छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले पोखरी तथा वनाइएका कृतिम जलासयमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।
छठमा धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गरिने भएकाेले सबै समान हुने सन्देश दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो ।
पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व २०६२/०६३ को आन्दोलनपछि पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ । २०६४ सालमा छट पर्वकाे लागि काठमाडाैकाे रानीपाेखरी पहिलाे पटक खुला भएकाे थियाे
मकवानपुर । आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको लागि नेताहरू गाउँ गाउँ पुग्नेक्रम बाक्लै चलिरहेको छ ।
उम्मेदवारहरूलाई आफ्नो नेता कार्यकर्ता तथा समर्थकहरूले चुनावी मैदानमा मत माग्नको लागि सहयोग गरिरहेका छन् ।
तर सबै नेता तथा कार्यकर्ताहरूलाई आफ्नै पार्टीको उम्मेदवार पनिमन परेको हुन्न भन्ने उदाहरण मकवानपुरमा भेटिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँलाई मतमाग्न जांदा कांग्रेसका क्रियाशिल सदस्यहरुले नै कालो झण्डा देखाएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश सदस्य तर्फका उम्मेदवार बानियाँलाई आफ्नै कार्यकर्ताहरुले कालो झण्डा देखाई विरोध प्रदर्शन गरेका हुन् ।
प्रदेश सभा अन्तरगत मकवानपुर २ को ‘क’ का उम्मेदवार बानियाँलाई पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ मकरी स्थित भूमिनन्द चोकमा कांग्रेसका क्रियाशिल सदस्य एवम् सदस्यहरुले कालो झण्डा देखाएका हुन् । बानियाँसहित नेपाली कांग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौला, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती लगायतका नेताहरु मकरीस्थित एक आश्रमका कार्यक्रमका लागि गाडिमा जाँदै थिए । बानियाँको गाडि मकरी प्रवेश गर्न नपाउँदै कांग्रेसका क्रियाशिल सदस्य, सदस्य एवम् स्थानीय युवाहरुले कालो झण्डा प्रदर्शन गरेका हुन् ।
यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित बानियाँले आफ्नो कार्यकालमा त्यस क्षेत्रमा कुनैपनि विकास नगरेको भन्दै आक्रोशित युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

कांग्रेसका क्रियाशिल सदस्यहरु विशाल उप्रेती, कृष्ण प्रसाद मैनाली, सुजन बर्तौला, राम बर्तौला, उपेन्द्र पाठक, पुरुषोत्तम पराजुली, रामकुमार खड्का, सदस्यहरु लक्ष्मण बर्तौला, अनिल बुर्लाकोटी, सूर्यबहादुर पराजुली लगायत ३० जना युवाहरुले कालो झण्डा प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन देख्नासाथ बानियाँको गाडि तीब्र गतिमा अघि बढेको क्रियाशिल सदस्य विशाल उप्रेतीले बताए । त्यस क्षेत्रलाई बानियाँले वेवास्ता गरेको उनको आरोप छ । “बिगतमा पनि केही माखो मार्नुभएन फेरि हामीसँग नै भोट माग्न आउन उहाँलाई लाज हुनुपर्ने हो” उप्रेतीले भने ।
