मकवानपुर । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे मिथ्य सूचनाले निर्वाचन माहोल बिथोल्ने भएकोले सचेत रहन अनुरोध गरेका छन् । हेटौंडामा आयोजित निर्वाचन र मिथ्या सूचनाको चुनौति विषयक कार्यक्रममा प्रजिअ पाण्डेले यस्तो बताएका हुन् ।
कार्यक्रममा दुरसंचार प्राधिकरणका निर्देशक दिपेश आचार्यले सूचना सम्प्रेषणको क्रममा सधै सचेत हुनुपर्ने बताए । चुनाव जस्तो जनमतको परिणाममा नै असर पर्ने अवस्थामा झनै संवेदनशिल भएका सूचना प्रवाह गर्न आचार्यले आग्रह गरे । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा सञ्चारकर्मी तथा सामाजिक सञ्जाल सञ्चालकहरुले यस्तो कुरामा ध्यान दिनु पर्ने सवालमा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बिज्ञको रूपमा चेक नेपालका सम्पादक दिपक अधिकारीले भ्रामक सूचनबारे प्रस्तुती गरेका थिए । मतदातालाई आफ्नो पक्षमा तान्न, सूचनालाई आफू अनुकुल व्याख्या गर्ने, चुनावी परिमाणलाई आफ्नो पक्षमा पार्न कै लागि बढी मिथ्या सूचना प्रयोग हुने गरेको अधिकारीले बताए ।
पार्टीगत पक्षधरता प्रकग गर्ने, उत्तेजित बनाउने, आफ्नो बिचार मिल्ने सामग्री मात्रै उपभोग गर्ने जस्ता परिपाटीले सूचना प्रणाली विकृत हुने गरेको अधिकरीले बताए ।
यस्ता चुनौतीलाई चिर्न सार्वजनिक वृत्तमा रहेका व्यक्तिलाई जिम्मेवार बनाउने, सूचना विश्वासनिय स्रोतबाट मात्रै लिने, सन्चार साक्षरताको प्रवर्द्धन गर्ने जस्ता कदम आवश्यक भएको अधिकारीले बताए ।
कार्यक्रममा बागमती प्रदेश निर्वाचन कार्यालय लुम्बनाथ पोखरेल सरकारी तहबाट मिथ्या सूचना प्रवाहमा रोक लगाउन सधैं तत्पर रहेको उल्लेख गदै कहिलेकाँही नेतृत्वमा रहेका व्यक्तिहरुको कारण समस्या हुने गरेको गुनासो गरे । कार्यक्रममा मकवानपुरका सञ्चारकर्मीहरु, अधिकारकर्मीहरु, विद्यार्थीहरु तथा कानुन व्यवसायिहरुको प्रतिनिधिमुलक सहभागीता रहेको थियो ।
टेकपाना मिडिया प्रालिको सहकार्य तथा नेपाल दुरसचार प्राधिकरणको सहयोगमा आर के टेक सोलिसनको आयोजनामा कार्यक्रम गरिएको थियो ।
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पेरीफेरीमा मिडियाले निष्पक्ष भएर समाचार प्रवाह गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
फ्री मिडिया नेटवर्कको आयोजनामा हेटौंडामा भएको कार्यक्रम यस्ता सवाल उठाईएको हो । प्रतिष्पर्धाको होडमा मिडियाले दिने समाचारमा सत्यता कम र पार्टीगत आस्था बढी देखिने गरेको भन्दै नागरिक समाजले सुझाव दिएका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले निर्वाचन परिणाम मानवीय चासोको बिषय भएकोले प्रतिष्पर्धा हुने बताउँदै त्यही अनुसारको व्यवस्थापनको बिकल्प खोज्नु पर्ने निर्वाचन कार्यालय र प्रशासन समक्ष ध्यानाकषर्ण गराए ।
अध्यक्ष पोखरेलले पत्रकारलाई आचारसंहिता सधै पालन गर्न आग्रह गरे । पत्रकारिता प्रति सामाजिक विश्वास कामय राख्न निर्वाचनको समयमा अझै सचेत हुन उनले आग्रह गरे । तथ्य पत्रकारीताको लागि सधै तत्पर रहन पत्रकारलाई उनले आग्रह गरे ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सन्चार गतिविधिमा सही र सत्य हुनुपर्ने, कामको सिलसिलामा तोकिएको आचारसंहिताको सवालमा निष्पक्ष हुनुपर्ने, पत्रकार छुट्टै हौं भन्ने भाव पत्रकारले नराख्न आग्रह गरे । पत्रकारको आचारसंहिता निर्वाचन केन्द्रिय मात्रै नभई सदा आफ्नो आचरण पालन गर्न उनले आग्रह गरे ।
निर्वाचन माहोल बिग्रने समाचार सकेसम्म प्रसार नगर्न तर्फ ध्यान दिनुपर्ने प्रजिअ पाण्डेले आग्रह गरे ।
यसैगरी मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचनलाई भयरहित बनाउने जिम्मेवारी प्रहरी, प्रशासन, पत्रकार, आमनागरिक सबैको जिम्मेवारी बराबरी रहेको बताए । सबैले आ आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न निरौलाले आग्रह गरे ।
आममतदातालाई मतदानको लागि प्रेरित गर्ने गरि काम नभएको, मतदानको महत्त्व र भूमिकामाथी स्पष्ट नगरिएको स्वतन्त्र पत्रकारहरुले ध्यानाकर्षण गराएका थिए ।
आसन्न निर्वाचनको लागि मकवानपुरमा २ हजार ९ सय १८ जना कर्मचारी ३६४ वटा मतदान केन्द्र, १६७ वटा मतदान स्थल, ३६६ जना मतदान अधिकृत र यति नै संङख्यामा सहायक मतदान अधिकृत खटिएका छन् । उनीहरुलाई निर्वाचन केन्द्रीत तालिम समेत प्रदान गरिएको निरौलाले बताए ।
निरौलाका अनुसार प्रत्येक मतदान केन्द्रमा ११ जनाका दरले सुरक्षाकर्मी खटीने छन् ।
कार्यक्रममा प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जाल अध्यक्ष आरती पाठक, स्वतन्त्र पत्रकार सुरेश श्रेष्ठलगायतले सुझाव राखेका थिए । कार्यक्रम नेटवर्कको अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।
मकवानपुर । मंसिर ४ मा हुने निर्वाचनका उम्मेदवारसंग नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले शैक्षिक अन्तरक्रिया गरेको छ । मकवानपुरका नेकपा एमालेका प्रतिनिधि तथा प्रदेश सभाका प्रत्यक्ष तथा समाउपातिक उम्मेदवारहरुसँग शैक्षिक अन्तरक्रिया गरिएको हो ।
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का कमल थापा,१ ख प्रदेश सभा एकलाल श्रेष्ठ ,प्रतिनिधि सभा क्षेत्र नम्बर २ का महेश बर्तौला र प्रदेश समानुपातिक उमेदवार नेकपा एमाले केन्द्रिय कमिटिका सदस्य भारती पाठक र अशोक ठकुरीको उपस्थितिमा शैक्षिक अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले एमालेसंग देशको विकास, समृद्धि र स्वाभिमानका निमित्त सदैव आफू लागेकाले बताए । शैक्षिक लगायतका राष्ट्रिय हितको पक्षमा रही जनताको भावनाअनुरुप अगाडि बढन एमालेको सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउनु पर्ने उनको धारणा थियो ।
यस्तै क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार एकलाल श्रेष्ठले शिक्षा ऐन संसोधन गरी शिक्षकका तमाम खाले समस्याको अन्त्यका लागि आफूले सक्दो प्रयास गर्ने बताए । मकवानपुरलाई शैक्षिक हबको रुपमा स्थापित गर्ने, प्राविधिक विश्वविद्यालय हेटौंडामा निर्माण गर्दै हेटौंडामै रोजगारीको सिर्जना गर्न आफू लागि परेको बताए ।
यसै गरि प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार महेश बर्तौलाले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको हल गर्न आफ्नो उम्मेदवारी रहेको जानकारी दिए । आफू बिद्यार्थी राजनीतिबाट यहा सम्म आएको भन्दै उनले भने नेकपा एमालेका उम्मेदवारहरुको जित पछि शैक्षिक क्षेत्रमा रहेका विकृति हटाउने छौ । उनले शिक्षकका पेशागतरुपमा देखिने समस्याको अन्त्यका लागि शिक्षकहरुसगै रहेर समाधानतर्फ अगाडि बढ्ने बताए ।
साथै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले देशमा दीगो शान्ति र समृद्धिका साथै शिक्षणलाई मर्यादित पेशा बनाउन र शिक्षकका अधिकारहरुलाई सुनिश्चित गर्न एमालेले जित्नु पर्ने जिकिर गरे ।
संगठन अध्यक्ष श्रीराम दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य रघुनाथ खुलाल, एमालेका जिल्ला सचिव नवीन सिग्देल,जिल्ला सचिवालय सदस्य पद्मा पौडेल, इन्द्र नेपाल र नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य लक्ष्मी गजुरेल लगायतको उपस्थिति रहेको थियो।
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले मर्यादित महिनावारी बारे अभियान सुरू गर्ने भएको छ ।
महिलाको सबै प्रकारको अधिकार सम्बोधनको लागि सबैभन्दा पहिले मर्यादित महिनावारी सवालमा ध्यान पुग्नुपर्ने भएकोले मकवानपुरमा यो अभियानको जरुरत रहेको केन्द्र अध्यक्ष सुलोचना स्याङ्तानले बताइन् ।
ग्रामीण महिला सेवा केन्द्रले दौँतरी शिक्षा अन्तरगत यसबारे शिक्षा प्रदान गर्ने तयारी गरिएको होव्ल । किशोरी, युवा सन्जालले सडक नाटक, हाजिरी जवाफ जस्ता अतितिक्त क्रियाकलापबाट अभियानको रूपमा काम गरिने कार्यक्रम संयोजक दिपक न्यौपाने ।
मर्यादित महिनावारीको अवस्थाबारे बुझाई नेतृत्वमा समेत सही बुझाई नभएकोले समस्या भएको अभियन्ता राधा पौडेलले बताइन् । महिनावारी बिभेदले सिर्जना गर्ने शक्ति असन्तुलनले महिला हिंसाको सवाललाई अझै बढवा दिएको पौडेलले बताइन् ।
“बाल विवाह रोकथाम, महिला हिंसा न्यूनीकरणको लागि विभिन्न कार्यहरू गरिदै आएको छ,तर यसको लागि सबैभन्दा पहिले घरलाई नै मर्यादित बनाइनुपर्नेमा यो नै बांकी छ” पौडेलले भनिन् ।
ग्रामीण महिला सेवा केन्द्रले मकवानपुरमा प्लान नेपालको साझेदारीमा विभिन्न सचेतनामुलक काम गर्दै आएको छ । आगामी दिनमा मर्यादित महिनावारीको सवालमा काम गर्नकोलागी अभियान सुरू गर्ने तयारी भएको अध्यक्ष स्याङ्तानले बताइन् ।
यसको पुर्वतयारी स्वरूप केन्द्रले अभियन्ता राधा पौडेल र राधा फाउन्डेसनको सहकार्यमा कार्ययोजना बनाउनको लागि छलफलसमेत गरेको छ ।
मकवानपुर । हेटौडामा शुक्रबार २ जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरकाे १७ औं वार्षिक साधारण सभामा मकवानपुरका पत्रकारद्वय राममणि दाहाल र अञ्जली थापा सम्मानित भएका हुन ।
लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका दाहाल र थापालाई जनही नगद ५ हजार ५ सय ५५ र प्रशंसापत्रसहित सम्मान गरिएकाे हाे । हेटौडाका व्यवसायी महेन्द्र राउतले आफ्ना आमावुवाकाे नामा स्थापना गरेकाे पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार-२०७८ बाट गोरखापत्र दैनिकका दाहाल सम्मानित भएका हुन् । यसैगरी पत्रकार महासंघ मकवानपुरले संस्थापक अध्यक्ष न्युछेमान श्रेष्ठकाे नाममा स्थापना गरेकाे न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार-२०७८ बाट रासस जिल्ला संवाददाता थापा सम्मानित भएकी हुन् ।
यसैबीच नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा शुक्रबारै सकिएकाे छ। महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको साधारणसभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघकी सचिव सिर्जना अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो। साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन,सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
