मकवानपुर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा मकवानपुरमा सामूदायिक वन उपभोक्ता महासंघ मकवानपुरले सचेतनामूलक र्याली गर्ने भएको छ ।
अभियानको क्रममा महासंघले आगामी १५ गते दिउँसो हेटौंडामा सचेतनामूलक र्याली गर्ने तयारी गरेको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति अध्यक्ष साधुराम चौलागाईले बताए । आफू हिंसा नगर्ने र छिमेकीलाई हिंसा गर्न नहुने ज्ञान प्रचारको लागि र्यालीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको अध्यक्ष चौलागाईंले बताए ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा सरोकारवालाहरूसँग समन्वयात्मक बैठकमा यस्तो जानकारी गराइएको छ । पिछडिएको वर्गको उत्थानका लागि सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको सचिवालय सदस्य रामहरि चौलागाईंले बैठकमा बताए ।
सचेतना मूलक अभियानसँगै सामूदायिक वनले आय आर्जनसंग जोडेर काम गरेको चौलागाईंले बताए । अभियानको क्रममा महासंघले देशको सबै जिल्लामा कार्यक्रम गरिदै आएको चौलागाईंले बताए ।
बैठक सहभागीहरूले जिम्मेवारी बोझको कारण बढेको हिंसा, आर्थिक अभावको कारण भोग्नुपरेको हिंसाको सवाललाई सम्बोधन गर्ने कार्यक्रम हुनुपर्ने, हर व्यक्तिले सोच तथा व्यवहारमा परिवर्तन ल्याउन सक्दा मात्रै हिंसा न्यूनीकरण हुने वन समितिको अध्यक्षहरूले बताएका थिए ।

कार्यक्रममा हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबा, मकवानपुर महिला समूह कार्यक्रम संयोजक निशा लामा, नारी सीप सिर्जना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले अभियानको क्रमा गरिने कार्यक्रम बारे जानकारी गराएका थिए ।
कार्यक्रममा अल्पकालीन सेवाकेन्द्र प्रमुख बिन्दा बर्तौला, दलित महिला संघ अध्यक्ष पवित्रा बिश्वकर्मा जिल्ला स्थित विभिन्न सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
मकवानपुर । मंसिर ४ गते भएकाे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा तर्फ बागमती प्रदेशमा ५ जना महिला उम्मेदवार विजयी भएका छन् । प्रदेश सभाकाे पहिलाे हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष तर्फ ५ जना मात्रै महिला निर्वाचित भएका हुन । बागमती प्रदेश सभाकाे प्रत्यक्ष तर्फ ६६ निर्वाचन क्षेत्र रहेकाेमा ७ दशमलब ५ प्रतिशत महिला प्रत्यक्षमा विजयी भएका हुन् ।
प्रदेशकाे दाेलखा बाहेक १२ जिल्लाकाे हालसम्मकाे नतिजा अनुसार ५ विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २/२ जना रहेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट १ उम्मेदवार विजयी भएका छन् । ५ जना विजयी उम्मेदवार गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए । ५ जनाकाे प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवारसँग मात्र भएकाे हाे ।
हालसम्म बाग्मती प्रदेशमा नेपाली कांग्रेसले २४ सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट र नेकपा एमालले १२ सिट जितेको छ । एकीकृत समाजवादीले ५ सिट जितेको छ । सत्ता गठबन्धनका दलले ४३ सिट जितेकाले यही गठबन्धन कायम रहेको खण्डमा उनीहरूकै सरकार बन्ने सम्भावना छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सिट जितेको छ । मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ । बागमती प्रदेशमा दोलखाको १० वटा विवादित निर्वाचन केन्दमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन । ती दुवै प्रदेशसभाको क्षेत्रमा महिला उम्मेदवार छैनन् ।
बागमती प्रदेश सभामा प्रत्यक्ष तर्फ प्रतिनिधित्व गर्ने महिलाहरुमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ काे १ बाट नेकपा माओवादी केन्द्री कुमारी मुक्तानले जित हासिल गरिन् । उनले एमालेका विष्णुप्रसाद ढकाललाई ३ सय २ मतान्तरले हराइन् । उनले १९ हजार ८ सय ७३ मत ल्याइन् भने ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए । मुक्तान प्रदेशकाे वहालवाला सामाजिक मन्त्री हुन् । यस्तै माओवादी केन्द्रकी राधिका तामाङ नुवाकोट क्षेत्र नम्बर १ काे १ बाट विजयी भइन् । उनले १६ हजार १ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३ सय ५० मत पाए ।
यसैगरी सिन्धुपाल्चोलकको निर्वाचन क्षेत्र १ (१) बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारीले जित हात पारिन् । उनले १४ हजार ६ सय ५२ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४ सय ९० मत ल्याए । यो क्षेत्रमा राप्रपाकी महिला उम्मेदवार निर्मला श्रेष्ठले २ हजार ६७ मत ल्याइन् ।
काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ (१) बाट नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन् । उनी काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर हुन् । उनले पनि एमालेका निरेशलाल सिंह महर्जनलाई हराइन् । उनले ४ हजार ६ सय ५६ मत ल्याउँदा महर्जनले ३ हजार ९ सय ३६ मत पाए ।
यस्तै काठमाडौं १० (२) बाट एकीकृत समाजवादीकी रमा आले मगरले एमालेका रामशरण ओल मगरलाई पछि पार्दै जित हासिल गरेकी छिन् । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएकी थिइन् । उनले ५ हजार ८ सय १८ मत ल्याइन् भने एमालेका उम्मेदवारले ५ हजार १ सय ८८ मत ल्याए ।
महिलालाई समानुपातिकमा राख्ने तर प्रत्यक्षमा अवसर नदिएका कारण समेत प्रदेशसभाकाे प्रत्यक्ष तर्फ महिला उम्मेदवार कम रहेकाले पनि जित हासिल गर्ने महिलाको संख्या कम हुन पुगेको बताइन्छ ।
मकवानपुर । महिला माथी हुने अधिकांश घटनामा पारिवारिक सदस्यकै सहभागीता हुने गरेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको घटना संङ्ख्याको विवरणले यस्तो देखाएको हो ।
चालू आबमा जिप्रकामा दर्ता भएका जवरजस्ती करणीका १४ वटा घटनामध्ये १३ वटा घटना आफ्नै परिवार र नातेदारबाट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चुडा कुमारी खड्काले बताइन् ।
महिला हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा यौनिक तथा लैङ्गिक हिंसा घटना व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । घटना व्यवस्थापन सम्बन्धि कार्यबिधीले स्पष्ट व्यवस्था गर्नुपर्ने सहभागीहरूले बताएका छन् ।
अपराधलाई नियन्त्रण र अपराधीलाई दण्डितसंगै पीडतलाई केन्द्रमा राखेर न्याय दिने व्यवस्था हुनुपर्ने सहभागीले बताए । स्थानीय तहहरूले न्यायसम्पादनको लागि बनाएको कार्यबिधिहरूलाई अधिकारकर्मीहरूले पछ्याउँनु पर्ने कानुन व्यवसायी जगन्नाथ सुबेदीले बताए ।
हिंसाको सवालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरू बढी पीडामा परेको बताइएको छ । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरू दिनदिनै यौनदुर्व्यबहारको सिकार हुंदा पनि सुनिवाई नभएको फ्रेन्स हेटौंडा प्रमुख किरण थापाले बताइन् । “तेस्रो लिङ्गीहरू पनि बलात्कारमा पर्न सक्छन् र कानुनी उपचार चाहिन्छ भन्ने बुझाई कानुनको समेत छैन” थापाले भनिन् “हामी/ हाम्रो समूदाय सबैभन्दा पहिले घरैमा हिंसा भोगिरहेका छौ, हाम्रो समूदायको पीडालाई कसैले बुझेका छैनन् ।”
कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख ललित घलानले अपराध न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको बताए । घटनालाई मिलाएर भन्दा कारबाही गर्न ध्यान दिनुपर्ने उनले बताए । “आफ्नो सामाजिक मान्यता जोगाउन खोज्दा सामन्य घटनाले अपराधकै रूप लिनसक्ने जोखिमबारे ध्यान दिनुपर्छ” घलानले भने ।
यसैगरी मकवानपुरगढी गाउँपालिका उपप्रमुख मानकुमारी नेपालीले हिंसाको कारण सामाजिक विकासमा बाधा सिर्जना गरेको बताइन् । ग्रामीण क्षेत्रमा हिंसा, बाल विवाह जस्ता बिषयमा बुझाइ र व्यवस्थापनको पाटोमा धेरै काम बाँकी रहेको उनले बताइन् ।
आर्थिक सशक्तीकरण नभएको कारण हिंसाको घटना बढी भएको मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जाल अध्यक्ष आरती पाठकले बताइन् । लैङ्गिक हिंसा न्यूनीकरणको लागि संघसंस्था र सरकारी निकायबिछ समन्वय, सहजीकरण सहकार्य अत्यावश्यक रहेको बताइन् ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको समन्वय, प्लान नेपालको आर्थिक सहयोगमा र राडो नेपालको आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चुडा कुमारी खड्का र ओसिएमसीको निरीक्षक अमृता श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा राडो नेपालका अधिकृत सुनिल चिमोरियाले बताए ।
कार्यक्रममा सेफ हाउस प्रमुख बिन्दा बर्तौला, हेउनमपा कानुन शाखा प्रमुख लक्ष्यम मैनाली, हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाईबालगायतको उपस्तिथि रहेको थियो ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले चुनावी समिक्षा गर्दै हारकाे कारण कमजाेर संगठन भनेकाे छ । आइतबार हेटौँडामा बसेको जिल्ला कार्यकर्ता भेलामा पार्टीका शीर्ष नेताहरुले कमजोर संगठन, अरुको गठजोड, आर्थिक अभाव तथा नयाँ शक्तिहरुको बलियो उपस्थितिका कारण मकवानपुरमा हार व्यहाेर्नु परेकाे जनाएकाे हाे ।
सत्ता गठबन्धन साझेदार दल नेकपा एसले गठबन्धनका दलहरु र मकवानपुरका मतदातामा धन्यवाद सहित आभार समेत प्रकट गरेको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडालाई उम्मेदवार बनाउने गठबन्धन र मतदान गर्ने मतदातालाई धन्यवाद् ज्ञापन गरेको हो । अध्यक्ष सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा इमानदार भएर मतदान गर्ने ३० हजार भन्दा बढी मतदातालाई धन्यवाद ज्ञापनकाे निर्णय गरेको हो । समाजवादीले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का हरेक वडाहरुका मतदाताकहाँ समेत पुगेर धन्यवाद ज्ञापन गर्ने तयारी गरेकाे छ ।
नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश इञ्चार्ज एवम् उपाध्यक्ष केदार न्यौपानेले निर्वाचन परिणाममा झिनो मतले हारजित भए पनि संगठन बलियो पारेर अघि बढ्न सके मकवानपुरमा समाजवादी पार्टी बलियो हुने बताएका छन् । यस्तै, स्थायी कमिटी सदस्य ललित बस्नेतले कम जनशक्ति भएको पार्टीले गठबन्धनको जोडमा चुनावमा होमिँदा यस्ता अप्ठ्यारा परिस्थिति आइलाग्ने भएकाले शिक्षाका रुपमा लिएर अघि बढ्नु पर्ने बताए ।
स्थायी कमिटी सदस्य विरोध खतिवडाले प्राविधिक रुपमा निर्वाचनमा पराजय हुनुमा अरुको गठजोडको आन्तरिक समस्या भए पनि नेता कार्यकर्तालाई निरास नभई पार्टी काममा लाग्न र सक्रिय रहन आग्रह गरेका छन् । आफू पनि मकवानपुरे जनतासँग निरन्तर सम्पर्कमा रहेर पार्टी काममा लागिरहने समेत उनले बताए ।
नेकपा समाजवादीका स्थायी कमिटी सदस्य समेत रहनुभएका खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश कुमार बर्तौलासँग पराजित भएका हुन्। बर्तौला ३४ हजार ९ सय १६ मतसहित विजयी हुँदा खतिवडा ३० हजार ३ सय ९६ मतले पराजित भए ।
एकीकृत समाजवादीले आगामी पुस ९ गते विस्तारित बैठक र भेला बोलाउने भएको छ । भेलाले पार्टीको मकवानपुर नेतृत्व हेरफेरसमेत गर्ने तयारी गरेको सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख रामकुमार एलनले जानकारी दिए । स्थानीय तह निर्वाचन अघि नै पार्टीका तत्कालील अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेपछि केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपाने पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।
लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुभारम्भको अवसरमा हेटौँडाको बुद्ध चोकमा दिप प्रज्वलन गरिदै । ‘सभ्य समाजको पहिचान, लैंङ्गिक हिंसा बिरुद्धको अभियान’ नाराका साथ यस वर्षको लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको समन्वयमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जालका सदस्य संस्थाहरूको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो । यस बर्षको नारा महिला हिंसा अन्त्य गरौँ, सभ्य समाजको निर्माण गरौँ भन्ने रहेको छ । तस्बिरहरू : सहीखबर




