मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर ४ हाडिखाेला स्थित पशुपतिनाथ माध्यामिक विद्यालयले आफ्नाे स्थापनाकाे ४८ औं दिवस मनाएकाे छ । विद्यालय स्थापनाको ४८ औं बर्षको अवसरमा कक्षा १ देखि १० सम्मका बालबालिका बिच बिभिन्न मनोरन्जनात्मक खेलकुद प्रतियोगिताको आयोजना गरिएकाे थियो ।
स्थापना दिवसकाे अवसरमा आयोजना गरेकाे बिबिध खेलकुद प्रतियोगिताका बिजेतालाई पुरस्कृत समेत गरेकाे छ । खेलकुद प्रतियोगिताका बिजेता विद्यार्थीलाई गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले पुरस्कृत गरेका थिए । विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विब्यस अध्यक्ष माधब गौतमलाई सम्मानीत गरिएको छ । विद्यालयका शिक्षक परिवारको तर्फबाट प्रधानाध्यापक भानुभक्त आचार्यले वडाअध्यक्ष थापाले गौतमलाई सम्मान गरेका हुन् ।

विद्यालय ब्यवस्थापन समितिमा रहेर उत्कृष्ठ कार्य गरेको भन्दै केही महिना अघि बागमती प्रदेश सरकारले अध्यक्ष गौतमलाई प्रदेश दीपप्रदान गरेको थियो । अध्यक्ष गौतम पछिल्लो ६ बर्षदेखि विद्यालयब्यवस्थापन समितिको अध्यक्ष रहेर विद्यालयमा योगदान गरिरहेका छन् । अध्यक्ष गौतमको योगदानको कदर गर्दै गाउँपालिकाले शिक्षा समितिको सदस्यमा मनोनित गरेको छ ।
२०२७ सालमा स्थानीय समाजसेबीहरुले ब्यक्तिगतखर्चबाट संचालन गरेको यस विद्यालयलाई २०३२ सालमंसिर १५ गते तत्कालीन सरकारले अनुमति दिएको थियो । पछिल्लो एक दशकदेखि विद्यालयले नियमित रुपमा स्थापना दिवस मनाउँदै आएको छ ।
मकवानपुर । विश्वकप फुटबल २०२२ अन्तर्गत आजबाट अन्तिम १६ को खेल हुदैछ । कतार विश्वकपको अन्तिम १६ को समीकरण पूरा भए संगै अन्तिम १६ को खेल हुने भएको हो । आज शनिबार बिहान सम्पन्न समूह चरणका दुई खेलपछि अन्तिम १६ का सबै टोलीको टुङ्गो लागेको थियो।
जसअनुसार आज अन्तिम १६ अन्तर्गत पहिलो खेल नेपाली समयअनुसार राति ८:४५ नेदरल्याण्ड्स र अमेरिका भिड्दैछन् । नेदरल्याण्ड्स समूह ‘ए’को विजेता बन्दै समूह ‘बी’को उपविजेता अमेरिकासँग भिड्न लागेको हो। यसैगरी आज राति १२:४५ मा समूह ‘सी’को विजेता अर्जेन्टिना र समूह ‘डी’को उपविजेता अष्ट्रेलिया एकअर्काविरुद्ध भिड्दैछन्।
यस्तै समूह ‘ए’को उपविजेता सेनेगलले समूह ‘बी’को विजेता इङ्ग्ल्याण्डविरुद्ध खेल्नेछ। यो खेल सोमबार राति १२:४५ मा हुनेछ। सोमबार राति ८:४५ मा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। जापान समूह ‘ई’को विजेता हो भने क्रोएसिया समूह ‘एफ’को उपविजेता हो।
समुह ‘सी’को उपविजेता पोल्याण्ड र ‘डी’को विजेता फ्रान्सबीचको खेल भोलि राति ८:४५ मा हुनेछ। समूह ‘ई’को उपविजेता स्पेन र समूह ‘एफ’को विजेता मोरक्कोबीचको खेल मङ्गलबार राति ८:४५ मा हुनेछ।
यसैगरी ‘जी’ समूहको विजेता ब्राजिलले ‘एच’ समूहको उपविजेता दक्षिण कोरियाको सामना गर्नछ। यो खेल मङ्गलबार राति १२:४५ मा हुनेछ। ‘जी’ समूहकै उपविजेता स्विट्जरल्याण्डले भने ‘एच’ समूहको विजेता पोर्चुगलको सामना गर्नेछ। बुधबार राति १२:४५ मा यो खेल हुनेछ।
अन्तिम १६ मध्ये आठ टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन् ।
मकवानपुर । कम्युटर एशोसियसन नेपाल महासंघ क्यान मकवानपुरको १६ औं वार्षिक साधरणसभा शनिवार हेटौंडामा भएको छ । साधरणसभाको उद्घाटन पछि बोल्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले हेटौंडालाई सूचना प्रविधिमैत्री बनाउन क्यानसंग सहकार्य गरेर काम गर्ने बताइन् ।
साधारण सभामाक्यान मकवानपुरका जेष्ठ सदस्य योगेश्वर बहादुर श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो । सभामा क्यान मकवानपुरका कार्यवाहक सचिव गोविन्द चौलागाईले संस्थाका गतिविधिहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्यान मकवानपुर अध्यक्ष पुष्पराज पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन कार्यक्रममा क्यानका केन्दीय सचिव चिरन्जिवि अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारू मगर, क्यान मकवानपुरका संस्थापक अध्यक्ष नेत्रबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष श्यामकल श्रेष्ठ, दिपेन्द्र रेग्मी लगायतको आतिथ्यता रहेको थियो।
२०६३ सालमा स्थापना भएको क्यान मकवानपुरमा १०५ जना संस्थागत र व्यक्तिगत साधरण सदस्य छन् । साधरणसभाको बन्दसत्रबाट नयाँ नेतृत्व पनि चयन हुने बताइएको छ ।
मकवानपुर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका निर्वाचन कार्यालय तथा निर्वाचन अधिकृतलगायतलाई धन्यवाद दिदै थपलियाले भने ‘आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षाहरू पूरा भएको छ’
‘‘हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,” जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको धन्यवाद ज्ञाप कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भने ‘यस कारण हामीले निर्वाचनमा पद, पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गराएका छाैं ।’
निर्वाचनको सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास हेर्दा बाहिर देखिने भौतिक गतिविधि र हाम्रा यी सडकका भित्तामा भन्दा सामाजिक सञ्जालका भित्ताहरु अलि बढी रंगिन देखिने र विभिन्न कारणले निर्वाचनलाई दुषित पार्ने मनशाय बोकेका व्यक्तिहरूले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने देखिएकाले यसलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको समेत उनले बताए ।
‘अब भौतिक रुपमा वा सडकमा हुने कुरामा मात्र होइन सामाजिक सञ्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न पाइँदैन भन्ने कुरा स्थापित भएको छ’ थपलियाले भने ‘निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको छ ।’
निर्वाचन अधिकृतहरूले काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन समेत उनले आग्रह गरे । प्रमुख आयुक्त थपलियाले आयोग वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैन भन्दै अब छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्था गर्न तयारी गरिरहेकाे बताए ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले एड्स रोग रोकथामको लागि जनचेतना सबैभन्दा महत्वपूर्ण भएकाे बताएका छन् । विहीबार डिसेम्बर १ तारिख अर्थात विश्व एड्स दिवस २०२२ मा भएकाे प्रभातफेरी पछिकाे काेणसभामा बाेल्दै मन्त्री लामाले भने ‘जनचेतनाको अभावमा यस्ताखाले संक्रमण हुने भएकाेले सरकारले जनचेतनालाई प्राथमिकतामा राखेको छ ।’
दिवसकाे अवसरमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा “ एड्स अन्त्यका लागि समानताको सुनिश्चितता” भन्ने नाराका साथ हेटौँडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । हेटौँडा अस्पतालबाट सुरु भएकाे प्रभातफेरी हेटौँडा १० बसपार्कमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, बागमती प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एड्सबारे जनचेतना फैल्याईरहेका विभिन्न संघसस्थाका प्रतिनिधि, प्रहरी तथा आम सर्वसाधरणको सहभागिता रहेको थियो ।

यसैगरी ३५ औं विश्व एड्स दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले जनचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । प्रतिष्ठानले जनचेतनाको लागि र्याली, फल्यास मुभ र एड्स भएकाहरुको अनुभव साटासाट गरेको हो ।
जनचेतनामुलक र्यालीलाई सम्बोधन गर्दै प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीले एड्स नियन्त्रणमा रहेपनि नसकिएकाले जनचेतनामुलक कार्यक्रमले अझैं चेतना फैलाउन मदत गर्ने बिश्वास व्यक्त गरे । उनले एड्स बारे आम जन समुदायले सही जानकारी पाउनुपर्नेमा जोड समेत दिए ।
हेटौंडा १० टिसिएनमा रहेको प्रतिष्ठानको कार्यालय अगाडिबाट सुरु भएको र्याली बसपार्क, जिल्ला प्रहरी कार्यालय परिसर, राप्ती रोड, बुद्ध चोक, सिमाचोक हुँदै सितलमहल चोक हुँदै हुप्रा चौरमा पुगेर कोणसभामा परिणात भएको र्याली एड्स संक्रमितले अनुभव साटा साट गरे पश्चात समापन भएको हो ।
र्यालीमा सहभागि प्रतिष्ठानमा अध्ययनरत बिद्यार्थीहरुले जनचेतनामूलक प्ले कार्डको प्रर्दशन गर्नुका साथै एड्सबाट बच्न र बचाउन आग्रह गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, प्राध्यापक, बिद्यार्थी, कर्मचारी लगायतकाको सक्रिय सहभागिता रहेको प्रतिष्ठानका सुबोध आचार्यले जानकारी दिए ।

