मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले बालसंरक्षणको सवाल चुनौतीपूर्ण रहेको बताएकी छिन् । बालबालिकाको क्षेत्रमा काम गर्न बलियो नीति नभएको कारण समस्या र चुनौती भएको बताइन।
बिद्यालय शिक्षामा धेरै कमीकमजोरी रहेको उनले बताएकी हुन् । बालबालिकाको सरोकारको बिषय पनि व्यवस्थापन गर्न नसकिएको उनले स्वीकार गरिन ।
सिविन बाल हेल्प लाइन मकवानपुरको आयोजनामा भएको बाल अधिकार, बालसंरक्षण बिषयक प्रदेश स्तरीय छलफल कार्यक्रम लामाले यस्तो बताएकी हुन् । सिक्ने उमेरका बालबालिकाहरू लागुऔषधको कारण सुधारगृहमा थुनेर राख्नु परेको तर संघीय सरकारले वास्ता नगरेको उनले बताइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटाले कुनै पनि कारण र प्रभावका कारण बालबालिका प्रभावित हुन नहुने आधार मानेर सरकारले ध्यान दिदै आएको बताए । नेपाल सरकार र गैससहरूको सहकार्यमा बिगतमा भन्दा सफलता हासिल भएको सचिब सापकोटाले बताए । समाज भड्किलो हुँदै आएको कारण बालबालिका असुरक्षित हुँदै आएको उनले बताए । यस्तो अवस्थामा तीनै तहको सरकारले बालबालिका संरक्षणमा चासो राख्नुपर्ने उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय महिला बालबालिका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले नेपाल बालबालिकाको क्षत्रमा देखिएको समस्या, चुनौती तथा अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए । झण्डै २ प्रतिशत बालबालिका बिद्यालय बाहिर रहेको उनले बताए । बालसंरक्षणको सवाल झनै चुनौतीपूर्ण भएको उनले बताए । लागुऔषधको कारण बालसुधार गृहमा बालबालिका राख्नुपर्ने अवस्था रहेको उनले बताए ।
“अझै पनि सचेतनाको अभाव छ, संरक्षणको लागि आवश्यक संरचनाहरू बनिसकेका छैन, बालबालिकाको पहुँच अभिबृद्दिको लागि काम गर्न बाँकी छ” कंडेलले भने । बाल विवाह, बाल श्रमिक, बाल हिंसाको क्षेत्रमा काम गर्न मन्त्रालयले समन्वय गरिरहेको उनले बताए ।

यसैगरी बाल हेल्प लाइनका प्रमुख झविन्द्र ज्ञावलीले नेपालको १८ जिल्लामा सन्चालन रहेको बाल हेल्प लाइन १०९८, बालसंरक्षण संयन्त्र, बालसुधार गृह, बालगृहको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बाल संरक्षणको सवालमा कानुन बनेको तर कार्यान्वयन, समन्वय, बाल अधिकार समितिको कृयाशिलताको कमीलगायतको पाटो कमजोर भएको ज्ञावलीले बताए ।
मकवानपुरको बालसुधार गृहमा ५९ जना बालकहरू राखिएको छ,तर सुधारगृह बालमैत्री छैन । कार्यक्रममा मकवानपुरमा रहेर बालबालिकाको क्षेत्रमा कृयाशिल संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको थियो ।
मकवानपुर । नेपालको संविधानले धारा ४२ सामाजिक न्यायको हक अन्तरगत अपाङ्ता भएका व्यक्तिहरुको सामाजिक न्यायको सवाल सम्बोधन गरेको छ । जसको उपधारा (१) मा “आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ” भनेको छ ।
तर संविधानले तोके अनुसारको सामाजिक न्याय आफूहरुमाथि नभएको अपाङ्ता भएकाहरुले गुनासो गरेका छन् । उक्त धाराको उपधार ३ मा “अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ” भनिएको छ । तर आफूहरुले अपाङ्ता भएकै कारण पाइलै पिच्छे विभेदपूर्ण व्यवहार सामना गर्नुपरेको ह्वीचियर प्रयोगकर्ता सरिता तामाङले बताइन् ।
अपाङ्ता दिवस मनाउँदै गर्दा सबै तहको सरकारले अपाङ्ता भएकाहरुप्रति आफूको दायित्वबोध भएको बताउने गरेको भएपनि दिनदिनै आफूहरुले समस्या झेल्नु परेको उनीहरुले बताएका छन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ३१ औं अन्तरट्रिय अपाङ्ता दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यालयमा सेवा लिन जाँदा बाटो, सेवा लिने कार्यकक्षदेखि शौचालय प्रयोगमा समेत आफूहरुले समस्या भोग्नु परेको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अस्विन लम्सालले बताए ।
समावेशी विकासको लागि रूपान्तरीत समाधान पहुँच र समतामूलक विश्वको लागि उर्जावान र सृजनशीलको प्रावधान भन्ने नाराका साथ डिसेम्बर ३ मा अपाङ्ता दिवस मनाइएको छ । तर सरोकारवालाहरुले आफूहरुलाई कतैबाट पनि सामाजिक न्यायको अभाष नभएको गुनासो गरेका छन् । “सेवा लिन जाने कार्यालयहरु नै अपाङ्गमैत्री छैनन” अध्यक्ष लम्सालले भने “त्यस्ता कार्यालयबाट हामीले कसरी सेवा लिने ?”
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटाले राज्यले बिकृत अवस्थालाई व्यवस्थापन गर्नुपर्ने धारण लिए अघि बढेको बताए । “अपाङ्गताको अवस्थालाई सकेसम्म कम गर्ने, भएकालाई राज्यले व्यवस्थापन गर्ने गर्नुपर्छ, जो अपाङ्गता भैसकेको छ, उहाँको सार्थक जीवन यापन गर्न समन्वय सहजीकरण गर्नतर्फ ध्यान दिएका छौँ” सापकोटाले भने “राज्यले चाहेजती गर्न नसकेको होला, तर फरक व्यवहार गर्नुहुदैन भन्नेमा हामी लागेका छौ ।”
अपाङ्गता भएकाहरुको समस्यालाई सम्बोधन गर्न बागमती प्रदेश सरकारले नीतिको ड्राफ बनाएको छ,तर त्यो पुरा भएको छैन । सबै वर्ग र समूदायको सम्मानको लागि प्रदेश सरकारले नीतिको अन्तिम रुप दिएको मन्त्रालयका प्रवक्ता रुद्रहरी भण्डारीले बताए । यसैगरी सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले अपाङता भएकाहरुको समस्यालाई ध्यानमा राखेर दोभाषे तालिम, अटिजम भएका बालबालिकाको पुनर्थापना तथा शिक्षा कार्यक्रम, सहायता सामग्री वितरण गरिरहेको बताए ।
अपाङ्गताको हितको लागि धेरै नीति बन्नुपर्ने बनेका नीति,निर्देशिका नियमावली अपाङ्गता भएकाहरूले सम्पत्तिको रूपमा ग्रहण गर्नसक्ने हुनुपर्ने राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश अध्यक्ष लम्सालले बताए ।
संघीय संरचना अनुसार संघीय सरकारले नीति नबनाउदा स्थानीय तहमा समेत नीति बन्न नसकेन र ग्रामीण भेगमा धेरै अपाङ्गता भएका व्यक्तिको समस्यालाई सम्बोधन हुन पाएको उनले बताए । अपाङ्गता भएका वर्गिय ब्यक्तिको समस्या सम्बोधन गर्न मन्त्रालयहरूले कार्यक्रम बनाउनु पर्ने लम्सालले बताए ।
“अपाङता अभियान सशक्त हुन सकेको छैन, सबै बर्गका अपाङ्गता भएकाहरूको हितमा समन्वयात्मक रूपमा काम गर्नुपर्छ, दिवसमा मात्रै हैन, सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता छ” लम्सालले भने । संबिधानलाई संस्थागत गर्दै, अपाङ्गताको सवालमा समाबेशी र पहुँचको सवालको सम्बोधन हुनुपर्ने उनले बताए ।
स्पाइनल कट इन्जुरी भएकालाई झनै बढी समस्या हुने गरेको सहभागीहरुले बताए । अरुले गाडी रोक्न लगाउँदा गाढी रोक्छ, तर हामीलाई देखेपछि चढाउन मान्दैनन्, सार्वजनिक कार्यालयहरुमा रहेका वा सार्वजनिक स्थानहरुमा रहेका शौचालयहरु हामीले प्रयोग गर्नै मिल्दैन एक अपाङगता भएका सहभागीले भने ।
अपाङ्ग महसंघ बागमती प्रदेश सल्लाहकार सरिता तामाङले अपाङ्गता भएकालाई आत्मनिर्भर बनाउन तर्फ सरकारले ध्यान दिएको दिनुपर्ने बताइन् । क्षमता अनुसारको सिपको सम्बोधन हुनेगरी कार्यक्रम ल्याउनु पर्ने तामाङले बताइन् ।
कार्यक्रममा अपाङ पद्धति जीवन स्वावलम्बन केन्द्र ललितपुरका अध्यक्ष गणेश केसीले अपाङता भएकाहरुको समस्या र आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
मकवानपुर । मकवानपुरका प्रगतिशील नेता एवम् थाहा आन्दाेलनका प्रणेता स्वर्गिय रुपचन्द्र बिष्टको देखाएकाे बाटाेमा आफू हिड्न तयार रहेकाे संघीय सांसद महेश कुमार बर्ताैलाले बताएका छन् । जनताका कुरा संसदमा पुर्याउने र संसदका नीतिका विषयमा जनतालाई जानकारी गराउने रुपचन्द्रको ब्यवहार आफूले समेत आत्मसात गर्ने उनले बताए ।
नेकपा एमालेबाट मकवानपुरकाे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा निर्वाचित बर्ताैलाले थाहानगरपालिकाका मतदातालाई धन्यवाद सहित तथा सुझाव संकलन सुरु गर्नु अघी विष्टकाे शालिकमा माल्यार्पण गरेका थिए । धन्यवाद ज्ञापनकाे सुरुवातमा रुपचन्द्रका छोरा रणसंग्राम बिष्टले भावुक हुँदै बुबाले देखाएको बाटोतर्फ लाग्न बर्तौलालाई सुझाब दिएका छन् । जनताबाट संसद र संसदबाट जनतालाई जगाउँदै जानकारी गराउने रुपचन्द्रको ब्यवहार भएकाले सांसद महेशबाट त्यस्तै अपेक्षा गरिएकाे रणसंग्रामले सुझाब दिएका छन् ।
बर्तौलालाई कार्यकालको शुभकामना र बधाइ ज्ञापन गर्दै अहिलेका यो अवस्थामा रुपचन्द्रका काम र व्यवहार ताजै रहेको र त्यसै अनुसार काम गर्नका लागि थाहा नगरका वासिन्दाहरुले सुझाब दिएका छन् । रुपचन्द्र विष्टले गरेका काम र उनको व्यवहार जिल्लाभरी र देशैभरी अहिले पनि उत्तिकै चर्चित रहेको छ ।
३९ वर्षकै उमेरमा नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर–२ मा प्रतिनिधी सभाको रुपमा निर्वाचित भएपछी पहिलेको भन्दा केही नयाँ र यस भेगका नागरिकका निम्ति पाँच वर्ष काम गर्ने योजनाका साथ बर्तौला अगाडी बढेका छन् । निर्वाचित भएकाे प्रमाणपत्र लिए पछी बर्ताैला आफ्नाे क्षेत्रकाे मतदातालाई धन्यवाद दिदै सुझाव संकलनमा व्यस्त रहेका छन् ।
मकवानपुर । मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बसामाडी जेसीजको आयोजनामा लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिता मंसिर २८ गतेबाट हुने भएको हो । जेसीजले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरि २० औं संस्करणको भलिबल प्रतियोगिता मसिर २८ देखि पुष २ गतेसम्म संचालन गरिने जानकारी गराएको हो ।
प्रतियोगितामा १० देखि १२ वटा टिमको सहमागिता रहने आयोजक जेसिसका अध्यक्ष चिराग अग्रवालले बताए । हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष अग्रवालले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहने टिमले मंसिर २६ गते सम्म टिम दर्ता गराउन सक्ने बताइएको छ ।
यस्तै प्रतियोगिताभर विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको लागि करिब साढे २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितालाई हेटौंडाको स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्दै आएका छन् ।
पत्रकार सम्मेलनमा बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारी, कार्यक्रम संयोजक बसामाडी जेसीजका कार्यकारिणी उपाध्यक्ष सरोज पौडेल, सहसंयोजकमा उपाध्यक्षद्वय अनिल भण्डारी र असिमराज ढुंगाना लगाएतको उपस्थिति रहेको थियो ।
हेटौडामा अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन
Tags: No Comments
मकवानपुर । मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई हेटौडामा अभिनन्दन गरिएकाे छ । बुढ्यौली साहित्य समाज मकवानपुरकाे बार्षिक उत्सवमा थापालाई शनिबार नगद २ लाख रुपैयाँसहित अभिनन्दन गरिएकाे हो ।
साहित्यका कथा, कविता, दाना कविता र नाटकमा विशेष कलम चलाउनु हुने थापाले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएकाेमा मकवानपुरका १७ वटा साहित्यिक संघ, संस्थाले संयुक्तरुपमा अभिनन्दन गरेको हो । यस्तै कार्यक्रममै अभिनन्दन ग्रन्थको रुपमा तुल्सी थापाकै विषयमा विभिन्न व्यक्तिकाे लेख समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको छ । अभिनन्दन ग्रन्थमा थापाको व्यक्तित्व, कृतित्वका साथै उन विषयमा तयार पारिएका रचनासहित ३६ वटा लेख समेटिएको छ ।
लामाे समय शिक्षण सेवामा सेवारत थापा निवृत्त भएपछि साहित्य लेखनमा क्रियाशील थापाकाे सम्मानमा बुढ्यौली साहित्य समाज मकवानपुरले २ लाख रुपैयाँ बराबरको अक्षयकोष समेत स्थापना गर्ने भएकाे छ । अक्षयकोष स्थापना गरेर समाजले तुल्सी सरको सम्मानमा साहित्यकारलाई पुरस्कृत गरिने अध्यक्ष आरसी रिजालले जानकारी दिए ।
भक्तपुरका साहित्यकार कविराज घिमिरेको बुढ्यौली खण्डकाव्य समेत विमोचन गरिएकाे कार्यक्रममा सुदर्शन अधिकारी, निमेष निखिल, प्रताप विष्ट र पुरुषोत्तम आचार्यले थापाको कृतित्व तथा व्यक्तित्वबारे चर्चा गरेका थिए ।
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हास्यव्यङ्ग्यकार एवम् एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) को विशिष्ट आतिथ्य रहेकाे थियाे ।
