मकवानपुर । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप २०२२ को उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले उपाधि हात पारेको हो । पेनाल्टी सुट आउटमा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी हुँदा यो उसको तेस्रो विश्वकप उपाधि हो ।
विश्वकप उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्सले कतारको लुसेल स्टेडियममा फाइनल खेलेका थिए । पहिलो हाफमा अर्जेन्टिनाले लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले २ गोलको अग्रता बनाएको थियो । तर, फ्रान्सका किलियान एम्बाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।
निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्याएका थिए ।
यसअघि १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । त्यसपछि खेल पेनाल्टीमा पुगेको थियो । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी भएको हो ।
अर्जेन्टिनाले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई हराएको थियो ।
विजेता टोलीले ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४५ करोड रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ । यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो । विजेताले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफी हात पारेको छ । यो सक्कली ट्रफी रनिङ ट्रफी हो ।
यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने नियम रहेको छ ।
मकवानपुर । बागमती प्रदेशकाे राजधनी हेटौंडामा टाटा मोटर्सको एक्सपरेन्शियल ड्राइभकाे टेष्ट गरिएकाे छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा विद्धुतीय गाडी (इभी) को हेटौंडामा “एक्सपरेन्शियल ड्राइभ” नामक टेष्ट ड्राइभ कार्यक्रम गरिएकाे हाे ।
विद्युतीय गाडीमा रुची राख्ने ग्राहक, संघ संस्थासँग भेटघाट कार्यक्रम सहित आयोजना गरिएकाे “एक्सपरेन्शियल ड्राइभ” होटेल लिडोमा भएकाे हाे । पछिल्लो समय सन्तुलित वातावरण, न्यूनतम संचालन खर्च र अन्य विभिन्न दृष्टिकोणले इभी उपयुक्त भएको सिप्रदी कम्पनीले जनाएकाे छ । यसको बजार नेपालमा द्रुत गतिमा विस्तार भइरहेकोले टेष्ट ड्राइभ कार्यक्रमहरुमा सहभागीकाे संख्या उल्लेखनीय रहेको कम्पनीले बताएकाे हाे ।
हेटौडाका व्यावसायीक तथा प्रतिष्ठित व्यक्तिले समेत भाग लिएकाे कार्यक्रममा ग्राहकहरुलाई खरिद गर्न सहजताको लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको पनि सहभागिता रहेकाे थियो। कम्पनीका अनुसार ‘टाटा ब्रान्डका टिगोर र नेक्सन इभीहरु अरु भन्दा विशेष भएकोले सफलता हासिल गर्दै गएकाे छ । कम्पनीले इभीहरु दक्षिण एसियासँगै नेपाली भूभाग लागि एकदम सुहाउँदो र नेपाली बजारमा सर्वाधिक रुचाइने गरेकाे बताएकाे छ ।
समुन्नत जिप्ट्रोण प्रविधिले सम्पन्न टिगोर इभीले सर्वोत्कृष्ट सुरक्षाको लागि जीएनसीपीद्वारा मान्यता प्राप्त गर्नुका साथै नेक्सन इभीको बाहिरी र भित्री बनावट आकर्षक, बलियो एवं आरामदायी रहेकाे कम्पनीकाे दावी छ । यसको ग्राउन्ड क्लिएरेन्स पनि अन्य भन्दा उत्कृष्ट रहेकाे बताइएकाे छ।
मकवानपुर । क्रोएसिया कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै तेस्रो भएको छ । शनिबार राति सम्पन्न खेलमा मोरक्कोलाई २–१ ले हराउँदै गत संस्करण उपविजेता क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
कतारको खलिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा क्रोएसियालाई जित दिलाउने क्रममा जोस्को ग्वार्डिओल र मिसलाभ ओर्सिकले एक/एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको सातौँ मिनेटमा उसले जोस्को ग्वार्डिओलको गोलबाट अग्रता लियो ।
मोरक्कोका अचरफ दारीले ९ मिनेटमा गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । मोरक्कोले खेललाई बराबरीमा रोक्न खोजे पनि सफल भएन । ४२ औं मिनेटमा मिसलाभ ओर्सिकले गोल गर्दै क्रोएसियालाई २–१ को रोमाञ्चक जित दिलाए ।
विश्वकप उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल ८ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई २–० ले हराएको थियो ।
क्रोएसिया र मोरक्कोले कति पाए पुरस्कार राशी?
तेस्रो स्थान हासिल गरेसँगै क्रोएसियाले २७ मिलियन अमेरिकी डलर पुरस्कार राशी प्राप्त गर्ने भएको छ । मोरक्कोले चौथो स्थान हासिल गर्दा २५ मिलियन अमेरिकी डलर पाउने भएको छ । त्यस्तै, क्वार्टरफाइनलमा पुग्ने टोलीले १७ मिलियन, अन्तिम १६ मा पुग्ने प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले ९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् ।
विजेता टोलीले ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो । विजेताले नगदसहित सुनको जडित ६।१ किलोग्रामको आकर्षक ट्रफी हात पार्नेछ । यो सक्कली ट्रफी रनिङ ट्रफी हो ।
यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने छ ।
मकवानपुर । हेटौंडा लेडी जेसीज अध्यक्षमा दिलमाया घर्ती चयन भएकी छन् ।
शनिबार भएको अधिवेशनबाट सन् २०२३ का लागि घर्तीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जेसीजको कार्यकारीणि उपाध्यक्षमा शिखा भट्टराई र अस्मिता न्यौपाने तथा उपाध्यक्षमा नम्रता श्रेष्ठ, कुसु पण्डित, पूजा बस्नेत र अलिसा न्यौपाने चयन भएका छन् ।
कार्यसमितिको अन्य पदाधिकारी नवनिर्वाचित समितिले पदास्थापना कार्यक्रमबाट चयन गरिने बताइएको छ ।
मकवानपुर । जेसीआई बसामाडीको आयोजनामा हेटौंडामा भएको जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले जितेको छ ।
जेसीआई बसामाडीको २० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले जितेको हो । शनिबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा आग्रा स्पोर्ट्स क्लबले विनयवावु स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै उपाधि हात पारेको हो ।
फाइनल खेलमा आग्रा स्पोर्ट्सले विनयवावु प्रतिष्ठानलाई २५–२०, २६–२४ र २६–२४ को सोझो सेटमा पराजित गरेको थियो । उपाधिसँगै आग्राले ६५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता विनयवावुले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आग्राका पुजन गुरुङ घोषित हुँदा उत्कृष्ट स्पाइकर आग्राकै रमेश थिङ र सञ्जय थिङ घोषित भए ।
प्रतियोगितामा सहभागी ७ वटा टिम मध्ये बज्रबाराही युवा क्लब अनुशासित टिम घोषित भयो । प्रतियोगितामा विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र जेसीआई बसामाडीका अध्यक्ष चिराग अग्रवालले नगद तथा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल बागमती प्रदेश सभा सदस्य छिन्तु प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस मकवानपुरका वरिष्ठ नेता तथा जेसिआइ बसामाडीका अध्यक्ष सल्लाहकार जेसी अशोक शाक्यको विशिष्ट आतिथ्यता र पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा प्रहरी निरीक्षक चुडा कुमारी खड्काको विशेष आतिथ्यतामा भएको हो।
