मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ग्याल्पो ल्होसारको उपलक्ष्यमा शुभकामना दिएका छन् ।
नेपाली चाडपर्वहरुले आपसी भाइचारा,सामाजिक सद्भाव,सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्याउने भन्दै उनले शुभकामना सन्देश दिएका हुन् ।
आज मंगलबार हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औं ग्याल्पो ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो दिएका हुन् । “भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय,बहुभाषिक, बहुधार्मिक,बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ, ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग बनेका छन्’ प्रदेश प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
चाडपर्वबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो बनाउँनु हामी सबैको दायित्व भएको भएको उनको भनाई छ । “यस्ता चाडपर्वका माध्यमबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनु हामी सबैको दायित्व हो” शुभकामनामा भनिएको छ ।
प्रमुख शर्माले ग्याल्पो ल्होसारका अवसरमा देश तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा सुख,शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै यो पर्वले नयाँ उत्साह र उमंग छर्दै आपसी एकता,सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई हाम्रो राष्ट्र थप सुदृढ बनाउन सघाउ पुगोस् भन्ने कामना समेत गरेका छन् ।
मकवानपुर । जगली हात्तीकाे आक्रमणबाट मनहरी गाउँपालिका- वडा नम्बर -४ मा एक जना महिलाको ज्यान गएको छ ।
सोमबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारीको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनलाई हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार लागि ल्याइएकोमा थप उपचारको लागि चितवनको नयाँ मेडिकल कलेज रिफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हात्तीको आक्रमणबाट अधिकारी घाइते भएपछि स्थानीयबासि आक्रोशित बन्दै मनहरी– ३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा सोमबार तोडफोड समेत गरेका थिए। उनीहरूले सेनाले सुरक्षा गस्तीका लागि प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुर्याएका थिए।
आर्मी र निकुञ्जको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले हात्ती नियन्त्रणमा लिन र धपाउन बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित हुँदै उक्त घटना भएको हो । मकवानपुरको मनहरीमा पर्सा बन्यजन्तु आरक्षको हात्तिले बर्सेनि मानवीय क्षती गराउने गरेको भएपनि सरकार जिम्मेवार बनेको छैन ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा साहित्य महोत्सव सुरू भएको छ ।
मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको ३० औँ वार्षिकाेत्सव तथा २८७ औँ साहित्य शृखलाका अवसरमा दुइदिने बकैया कला-साहित्य महाेत्सव आज सुरु गरेको हो ।
महोत्सवको पहिलाे दिन चित्रकला प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका ६२ जना विद्यार्थीहरुले सहभागिता जनाए । आजै विद्यालय स्तरीय कविता प्रतियाेगिता सम्पन्न भएको छ । कविता प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका १८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
आज सम्पन्न भएका विभिन्न सत्रहरूमा बकैया गाउँपालिकाका जनप्रतिनिधिहरूले सहभागीता जनाएका थिए । बकैयामा कला, साहित्य र संस्कृतिको क्षेत्रमा पालिकाले सदैव सहयोग गर्ने बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले बताए ।
महोत्सव अन्तरगत भाेलि स्रस्टा सम्मान, जिल्लाभित्र र जिल्लाबाहिर युवा पुस्ता तथा अग्रज साहित्यकारहरुकाे कविता, मुक्तक र गजल प्रस्तुति, बहस, स्थानीय सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, विमोचन कार्यक्रम आदि रहने संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाएको छ ।
मन्त्रालयले प्रदेशका ४ हजार २६४ वटा भेडा र ८ लाख २८ हजार ९२५ वटा बाख्रालाई गरि जम्मा ८ लाख ३३ हजार १८९ वटा भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
फागुन १ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेशका १३ वटा जिल्लाका किसानले पालेका भेडा बाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइएको अधिकारीले जानकारी दिए ।
खोप कार्यक्रम ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन भएको उनले बताए । अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउदै आएको छ ।
पीपीआर भेडाबाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ । नेपालमा पीपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको छ । यस्तो अवस्था आउन नदिनका लागि खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको छ ।
पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत शनिवारसम्म खोप लगाएको थियो । नेपाल सरकारले आगामी सन २०३० सम्म नेपालमा भेडा बाख्रामा लाग्ने रोग पीपीआर उन्मुलन गर्ने लक्ष्य लिएको छ । हेर्नुस् बिस्तृत बिवरण:

मकवानपुर । राज्य र गैरराज्य तर्फबाट मानव अधिकार उल्लंघनको घटना बढ्दो अवस्थामा रहेको तथ्यांक सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२१ को तुलनामा सन २०२२ मा मानव अधिकार उल्लंघनको घटना बढेको सार्वजनिक गरेको हो ।
इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ प्रकाशन गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेक बागमती प्रदेश कार्यालय संयोजक गणेश भण्डारीले राज्यपक्ष कमजोर हुंदा मानव अधिकार संरक्षणको पाटो झन्झन् कमजोर भएको बताए ।
इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२२ मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ४ सय २५ जना पीडित भएका छन् । यो सङ्ख्या गत वर्ष सन् २०२१ भन्दा २ सय २४ जनाले बढी हो । गत वर्ष सन् २०२१ मा १ हजार १ सय ८३ जना पीडित भएका थिए । यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ३४ जना महिला र ३ सय ४१ पुरुष गरी जम्मा ३ सय ७५ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ८ सय ७७ जना महिला, १ सय ७२ जना पुरुष र १ जना अन्य यौनिक अल्पसङ्ख्यक) सहित जम्मा १ हजार ५० जना पीडित भएको भण्डारीले बताए ।
यस वर्ष राज्यपक्ष अन्तर्गत भएका मानव अधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका ४ जना महिला र ४१ पुरुष गरी ४५ जनाको स्वास्थ्य लगायतका विभिन्न कारणले मृत्यु भएको उल्लेख छ । साथै कुटपिटका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ३८ जना, यातनाका घटनामा ४ जना तथा अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३० जना महिला र २ सय ४५ जना पुरुष गरी २ सय ५५ जना पीडित भएका छन् ।
यसैगरी सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार १ सय ७३ जना पीडित भएका थिए जसमा राज्यपक्षबाट ३ सय ७५ जना र अन्यपक्षबाट ८ सय ९० जना पीडित भएका थिए ।
महिला अधिकार उल्ङ्घनका घटनामा सन् २०२२ मा बागमती प्रदेशमा ४ सय ३४ जना पीडित भएको अभिलेख इन्सेकले गरेकोछ । यस वर्ष बेचबिखनका घटनामा १३ जना, घरेलु हिंसाका घटनामा ९० जना, कथित बोक्सीको आरोपमा ३ जना, बलात्कारका घटनामा १ सय ७१ जना, बलात्कार प्रयासका घटनामा ३५ जना र यौन दुर्व्यवहारको घटनामा १७ जना महिला पीडित भएको अभिलेख छ ।
साथै परिवारजनबाट महिला मारिएका केही घटनामा पीडितपक्षले हत्याको आरोप लगायो भने आरोपित पक्षले आत्महत्या गरेको पाइएको इन्सेकले जनाएको छ ।
यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ४ सय २ जना पीडित भए । जसमध्ये बलात्कारका घटनामा २ सय ८५ जना, यौन दुर्व्यवहारको घटनामा १ जना बालक सहित १ सय २ जना, बालबालिका बेचबिखनमा ७ जना बालकसहित १८ जना, बालबिवाहका दुई ओटा र विद्यालयमा शारीरिक सजाय दिइएको २ जना बालिका र ४ जना बालक गरी ६ जना पीडित भएको अभिलेख भयो ।
इन्सेकका अनुसार देशको ७७ जिल्लामा रहेका जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्राथमिक सूचनामा आधारित छ ।
इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्यपक्षबाट ६ सय २२ जना तथा अन्यपक्षबाट ६ हजार ७ सय ५४ जना गरी जम्मा ७ हजार ३ सय ७६ जना पीडित भएको उल्लेख छ । सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका थिए । गत वर्षभन्दा यो वर्ष १ हजार ९१ जनाले बढी हो । जसमा मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५० जना महिला र ५ सय ७२ जना पुरुष गरी जम्मा ६ सय २२ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ जना पुरुष र ३ जना अन्य (यौनिक अल्पसङ्ख्यक) गरी जम्मा ६ हजार ७ सय ५४ जना पीडित भएको अभिलेख छ ।
यस वर्ष राज्यपक्षबाट १ जना महिला र ४ जना पुरुष गरी ५ जनाको हत्या भएको थियो । यातनाका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ८१ जना, जातीय विभेदका घटनामा २२ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ४ सय ५ जना, धम्कीका घटनामा २७ जना र कुटपिटका घटनामा ४ सय ४८ जना पीडित भएको अभिलेख भयो ।
यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय १४ जना बालिका र ३९ जना बालक गरी जम्मा १ हजार ४ सय ५३ जना पीडित भए । जसमध्ये बलात्कारका घटनामा १ हजार ९ जना, यौन दुर्व्यवहारको घटनामा ३ सय २६ जना बालिका र १९ जना बालक सहित ३ सय ४५ जना बालबालिका बेचबिखनमा ७ जना बालक र ३९ जना बालकसहित ४६ जना, बालविवाहका ३२, नवजात शिशु हत्या ७ ओटा र विद्यालयमा शारीरिक सजाय दिइएको घटनामा १४ जना पीडित भएको अभिलेख भयो ।
साथै यस वर्ष महिलामाथि हुने हिंसाका घटनामा ४ हजार २ सय २७ जना पीडित भएको अभिलेख भयो । यस वर्ष महिला बेचविखन तथा ओसारपसार प्रयासका घटनामा ४८ जना, घरेलु हिंसाका घटनामा ३ हजार २१ जना, कथित बोक्सीको आरोपमा २३ जना, बलात्कारका घटनामा ६ सय ५ जना, बलात्कार प्रयासका घटनामा १ सय ४५ जना, यौन दुर्व्यवहारको घटनामा ४२ जना र बहुविवाहका घटनामा ४२ जना महिला पीडित भएको अभिलेखमा उल्लेख छ ।
इन्सेकले हरेक बर्ष फागुन ७ गते देशैभरको मानव अधिकारको अवस्था बारेको पुस्तक सार्वजनिक गर्दै आएको छ । आज प्रदेशको राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रदेश कार्यालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
