मकवानपुर । जगली हात्तीकाे आक्रमणबाट मनहरी गाउँपालिका- वडा नम्बर -४ मा एक जना महिलाको ज्यान गएको छ ।
सोमबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारीको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनलाई हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार लागि ल्याइएकोमा थप उपचारको लागि चितवनको नयाँ मेडिकल कलेज रिफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हात्तीको आक्रमणबाट अधिकारी घाइते भएपछि स्थानीयबासि आक्रोशित बन्दै मनहरी– ३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा सोमबार तोडफोड समेत गरेका थिए। उनीहरूले सेनाले सुरक्षा गस्तीका लागि प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुर्याएका थिए।
आर्मी र निकुञ्जको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले हात्ती नियन्त्रणमा लिन र धपाउन बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित हुँदै उक्त घटना भएको हो । मकवानपुरको मनहरीमा पर्सा बन्यजन्तु आरक्षको हात्तिले बर्सेनि मानवीय क्षती गराउने गरेको भएपनि सरकार जिम्मेवार बनेको छैन ।

