मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले काेइलीदेवी स्मृति मातृभूमि सम्मानबाट शुलज्ञा राज्यलक्ष्मी शाह सम्मानित भएकी छिन् । मातृभूमिले शनिबार कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा तथा साङ्गीतिक कार्यक्रम आयोजना गरी शुलज्ञालाई प्रथम पटक उक्त सम्मान प्रदान गरिएकाे हाे ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा जन्मनु भएकी नेपाली गीत–सङ्गीत अमर नाम कोइलीदेवी माथेमाको स्मृतिमा मातृभूमिले स्थापना गरेकाे उक्त सम्मानकाे राशी ११ हजार रुपैंया रहेकाे समाजका सचिव किशन पौडेलले जानकारी दिए । शुलज्ञा हेटौंडा – २ स्थित बालजागृति इङ्गलिस माविमा कक्षा ५ मा अध्ययनरत छिन् ।
सानैदेखि सङ्गीत साधनामा समर्पित प्रतिभाशाली शुलज्ञाकाे जन्म लव शाह र सुस्मा ठकुरीबाट २०७१ साल चैत २४ गते, हेटौंडा–११ मा भएकाे हाे । हाल बाल जागृति माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत शुलज्ञाकाे सानै उमेरबाट गायनप्रति गहिरो रुचि र लगाव राख्दै आएकाे परिवारका सदस्य बताउाछन् ।
आँचल साहित्य कला पुन्जद्वारा आयोजित गायन प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरिसकेका छन् ।“म यस्तो गीत गाउँछु” जुनियर सेसनमा प्रथम स्थान प्राप्त गरी आफ्नो प्रतिभाको परिचय दिएकी शुलज्ञा हाल शुभारम्भ कला केन्द्रमा सङ्गीत साधना सिक्दै गरेकी छिन् । पी.एम. सेन्टरबाट सम्मानित भएकी छिन् ।
कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा
मातृभूमि साहित्य समाजको आयोजनामा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित ऐतिहासिक स्थल चिसापानी गढीमा जन्मनु भएकी नेपाली गीत सङ्गीत साधनाको अमर नाम कोइलीदेवी माथेमाको स्मृतिमा विशेष गरिएकाे छ ।
कार्यक्रममा अतिथि वक्ता भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, विशेष वक्ता केदार न्यौपाने रहेका थिए । हेटौंडीले गायक कृष्ण गोपाल सिंहले काेइलीदेवी सम्बन्धमा अनुभूति सुनाएकाे कार्यक्रममा सम्मानित स्रष्टा शुलज्ञा तथा गायिका सुनिता बुर्लाकोटीले कोइली देवीको गीत प्रस्तुत गरेका थिए ।
पिएम सेन्टरका प्रमेन्द्र महर्जन र शुभारम्भ कला केन्द्रका गायक घनश्याम ढकालले कोइलीदेवीको गीत भजनहरू प्रस्तुत गरेका कार्यक्रममा कोइली देवीको परिचय समाजका सचिव किशन पौडेलले दिएका थिए ।
नेपाली भाषा, साहित्य तथा कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापना भएको समाजले विविध स्मृति–विशेष कार्यक्रम तथा साहित्यिक गतिविधिहलाई निरन्तरता दिँदै आइरहेको पौडेलले जानकारी दिए । समाजले स्थापित एवम् नवोदित प्रतिभाहरूलाई साहित्य, कला तथा सङ्गीतका विविध विधामा पुरस्कार तथा सम्मान समर्पण गर्दै आएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता, १ नं. वडाका वडाध्यक्ष फुर्वा दोर्जे तामाङ विशिष्ट अतिथि रहनु भएकाे कार्यक्रमकाे सहजीकरण सानुबाबू खनालले गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा सात प्रदेशका ७ जना कविहरुले रचना वाचन कार्यक्रम आयोजना गरिएकाे छ । शनिबार प्रगतिशील लेखक संघ (प्रदेश) मकवानपुरको आयोजनामा देशका सातै प्रदेशका ७ जना कविहरुले कविता वाचन कार्यक्रम भएकाे हाे ।
कोशी प्रदेशकी सीता तुम्खेवा, मधेस प्रदेशका यश लामा, बागमती प्रदेशका डा. निमेष निखिल, गण्डकी प्रदेशकी लक्ष्मी थापा, लुम्बिनी प्रदेशकी सुमिना, कर्णाली प्रदेशकी कवि कोकिलाकुमारी सिंह र सुदूरपश्चिम प्रदेशका खेम बतासले आ-आफ्ना प्रतिनिधिमूलक कविता वाचन गरेका थिए । सहभागी कविहरुले सामाजिक विसंगति, समस्या, मौलिक चिनारी लैंगिक उत्पीडन लगायत कविता सुनाएका थिए ।
प्रलेश मकवानपुरले ७ प्रदेशका कविहरुकाे कविता सुनिने कार्यक्रममा एक सय रुपैंयाकाे टिकट राखेकाे थियाे । प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष विशाल अधिकारी (आशुतोष) को सभाध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यसेवी मुक्तिगोविन्द बैद्य, प्रगतिशील लेखक संघका बागमती प्रदेश सचिव डीबी बर्तौला, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, हेटौंडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देललगायत मकवानपुरका साहित्यकार तथा साहित्यप्रेमी विद्यार्थीहरुको उपस्थिति थियो ।
मकवानपुर । कुमार नेगी ‘पालुङ्गे चरो’ लाई यस वर्षको श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२ प्रदान गरिने भएको छ ।
गजल मञ्च मकवानपुरले फागुन २ गते काे २३३ औं गजल यात्रामा नेगीलाई ५ हजार रुपैयाँ राशिकाे उक्त सम्मानबाट सम्मानित गरिने भएकाे हाे । साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला सिलवालले माता–पिता तथा छोरीको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् ।
२०५८ सालमा प्रकाशित कुमार नेगीको ‘श्रीजनाका हातहरू’ गजल संग्रह मकवानपुर जिल्लाबाट प्रकाशित पहिलो गजल कृति हो। जिल्लाको गजल इतिहासमा पहिलो गजल कृति प्रकाशन गरी गजल विधाको विकास, श्रीवृद्धि र प्रवद्र्धनमा पुर्याएको योगदानको कदरस्वरूप नेगीलाई सम्मान प्रदान गर्न लागिएको गजल मञ्च मकवानपुर अध्यक्ष संजित श्रेष्ठले जानकारी दिए ।
उक्त सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्व अध्यक्ष दुर्गा लामिछाने ‘नमूना’ सम्मानित भइसकेका छन्।
प्रतियोगितामा उत्कृष्टलाई ‘मनमाया स्मृति गजल पुरस्कार’
गजल प्रतियोगितामा उत्कृष्टलाई ‘मनमाया स्मृति गजल पुरस्कार’ २३३औं गजल यात्रामा प्रदान गरिने भएकाे छ । गजल मञ्च मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएकाे ‘मनमाया स्मृति गजल पुरस्कार’ माध्यमिक तह (कक्षा ९ देखि १२) सम्मका विद्याथीहरूबीच गजल प्रतियोगिता गराई उत्कृष्ट एक जनालाई प्रदान गरिदै आएकाे अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार दीपक गौतमले हजुरआमाको स्मृतिमा स्थापना गरेकाे ‘मनमाया स्मृति गजल पुरस्कार’ पुरस्कारकाे लागि माघ २५ गतेसम्म गजल पठाउनु पर्ने गरी सूचना प्रकाशित गरिएकाे उनले बताए ।

फागुन २ गते शनिबार गजल प्रतियोगिताका साथै पुरस्कार वितरण समेत गरिने कार्यक्रम रहेकाे बताइएकाे छ । उक्त प्रतियोगितामा मकवानपुर जिल्लाका विद्यालयहरुमामा माध्यामिक तह (कक्षा ८ देखि १२ कक्षासम्म ) मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउने छन् ।
प्राप्त गजलहरु मध्ये सर्ट लिस्टमा परेका गजलहरु अन्तिम प्रतियोगितामा वाचन गरिने छ भने गजल बाचनका लागि सर्ट लिस्टमा परेका गजलकारहरु स्वयम् उपस्थित हुनुपर्ने बताइएकाे छ ।
मकवानपुर जिल्लामा गजलको उत्थान, विकास र लेखनमा उत्प्रेरणा दिने उदेश्यले गजल मञ्च मकवानपुरकाे स्थापना भएकाे हाे । मञ्चले गजल सम्बन्धी विविध कार्यक्रमहरू गर्दै आइरहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार कर्मचारी खटिने भएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा स्वयं सेवकसहित ३ हजार ३ सय ६६ कर्मचारी निर्वाचनमा खटिने भएका हुन् ।
३ सय ७४ मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा आयोगबाट ६ जना कर्मचारी र ३ जना स्वयं सेवक नियुक्त गरिने बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएकाे छ । निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताइएकाे छ ।
प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार निर्वाचन कार्यालयबाट २ हजार २४४ जना र मतदान केन्द्रमै नियुक्त हुने स्वयम् सेवक १ हजार १ सय २२ जना कर्मचारी मतदान अवधिभर परिचालन हुने छन् । यसबाहेक निर्वाचनमा निर्वाचन स्थलको संवेदनशीलता र आवश्यकताका आधारमा निर्वाचन प्रहरी परिचालन हुने बताइएकाे छ ।
४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र छन् । जिल्लाको भीमफेदी कारागार र कर्मचारीका लागि हेटौंडामा अस्थायी मतदान केन्द्र रहने कार्यालयले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरका ४ हजार ४ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुरमा २५ माघबाट एचपीभी खोप अभियान सुरु हुने भएको हो । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए।
विद्यालयमा कक्षा ६ मा अध्ययनरत ४ हजार २३० जना, १० वर्ष उमेर समूहका तथा विद्यालय बाहिर रहेका १ सय १६ जना तथा अघिल्लो वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका ५७ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको घिमिरेले जानकारी दिए ।
पहिलो चरणमा २५ माघ देखि १ फागुनसम्म विद्यालय तहको कक्षा ६ मा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप अभियान विद्यालयमै सञ्चालन गरिनेछ। विद्यालय बाहिर रहेका तथा अभियानका क्रममा छुटेका किशोरीलाई २२ फागुनसम्म स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवाबाट खोप उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिए।
हरेक वर्ष फागुन महिनामा लगाइने भनिएको यो खोप यस वर्ष भने प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण समय अगावै सञ्चालन गर्न लागिएको बताइएको छ । उक्त खोप नियमित रूपमा उपलब्ध हुने निमित्त प्रमुख घिमिरेले जानकारी दिए ।
चिकित्सकहरूका अनुसार ह्युमन प्यापिलोमा भाइरस महिलाको शरीरमा करिब २० वर्षसम्म रहन सक्ने र लामो समयपछि क्यान्सरको रूपमा देखा पर्न सक्छ। खोप लगाउँदा केहीलाई सुई दुख्ने, छाला रातो हुने, रिङ्गटा लाग्ने जस्ता सामान्य समस्या देखिन सक्ने भए पनि यसबाट कुनै दीर्घकालीन हानि नहुने स्वास्थ्यकर्मी बताउछन् ।
तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब २ हजार १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ । तीमध्ये करिब १ हजार ३१३ जनाको मृत्यु हुने अनुमान छ।
सरकारले पहिलो पटक आर्थिक वर्ष २०७६/०७७ मा एचपीभी खोप लगाउन सुरु गरेको थियो। त्यसपछि २०७९/०८० र २०८१/०८२ मा अभियानका रूपमा सञ्चालन गरिएको उक्त खोप कार्यक्रम यस वर्षदेखि नियमित रुपमा वार्षिक कार्यक्रम मै समाबेश गरि सञ्चालन गरिने भएको छ।
स्वास्थ्यकर्मीहरूले एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने भएकाले लक्षित उमेर समूहका किशोरीलाई खोप कार्यक्रममा सहभागी भइ खोप लगाउन आग्रह गरेका छन्।