मकवानपुर । भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र हेटौंडाले आगामी आर्थिक वर्षको योजना तर्जुमाको लागि स्थानीय तह, जिल्ला स्थित संचालित आयोजना परियोजनाहरूको प्रमुख तथा प्रतिनिधिहरूसँग कार्यशाला गोष्ठी गरेको छ ।
गोष्ठीमा सहभागी पशुपालक किसान, सहकारीकर्मीहरूले किसान लक्षित कार्यक्रमको लागि बजेट छुट्याउन माग गरेका छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख गंगा चौलागाईंले किसानको चाहेको कार्यक्रम लागू गर्दा किसानको हित र प्रोत्साहन हुने बताइन् । यसको लागि बजेट योजनापूर्व नै किसानले सम्बन्धित कार्यालयमा आफ्नो सुझाव दिनुपर्ने चौलागाईंले बताइन् ।
व्यवसायीक किसानहरूलाई मारमा नपर्ने गरि पशु स्वास्थ उपचारमा पहुँच विस्तार गरिनु पर्ने मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन दाहालले ।
कार्यक्रममा उठेका सवालहरूलाई कार्यालय प्रमुख प्रभात न्यौपानेले सम्बोधन गरेका थिए । आगामी कार्यकालामा किसानको सुझाव अनुसारको कार्यक्रम लागू गर्न कोसिस गरिने न्यौपानेले बताए । आगामी आर्थिक वर्षको लागि कार्यक्रम बनाउन गोष्ठीले मार्ग निर्देशन गरेको उनले बताए ।
कार्यक्रममा मकवानपुर जिल्लाको १० वटै स्थानीय तहका पशु शाखा प्रमुख, व्यवसायीक पशुपालक किसानहरू, सहकारीको प्रतिनिधिहरूको उपस्थिति रहेको बिज्ञ केन्द्रका पशु सेवा प्राबिधिक प्रदीप सापकोटाले बताए । कार्यक्रममा केन्द्रका योजना शाखा प्रमुख डा. आभाष कोइरालासमेतको उपस्थिति थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित ४ जना नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित शहीद स्मारक क्षेत्रबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बिहीबार साँझ ५ बजेको समयमा शहीद स्मारकस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका ४ जनाको सुरक्षाजाँच गर्ने क्रममा लागुऔषध ट्रामाडोल ५० ट्याबलेट, एनरागन ६५ ट्याबलेट, नुरफिन १४ एम्पुल, ड्राईजेपाम ७ एम्पुल र फेनारागन २ एम्पुलसहित नियन्त्रणमा लिइको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उक्त परिमाणको लागुऔषध सहित चितवन जिल्लाका ३ जना र मकवानपुर जिल्लाका १ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले लागुऔषधसहित चितवन जिल्ला भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २४ का आशिष भुजेल, वर्ष २० का विवेक लामा र वर्ष २३ का सुदीप महर्जन र मकवानपुर जिल्ला, हेटौंडा–११ बस्ने वर्ष २३ का निशान वाईबा तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र आवश्यक कारवाहीको प्रक्रियामा रहेको जानकारी दिएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा स्वदेशी सुपर मार्केट खुलेको छ । सुपरमार्केट आधिकारीक रुपमा विहीबारबाट सन्चालन हुने छ ।
जमादार ग्रुपको परियोजना अनुसार स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याइएको हो । हेटौंडा २ कान्तिराजपथ स्थित जमादार टेडिङको स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याइएपछि बुधबार पत्रकार सम्मेलन मार्फत आधिकारी उद्घाटन तथा सुपरमार्केटको विशेषता बारे निर्देशक अमित अग्रवालले जानकारी गराएका थिए ।
अमित मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार गूप्ता अग्रवालका छोरा हुन् । लामो समय अमेरिका बसेर फर्केका अमितले अब स्वदेशमै केही गरौं भन्ने लागेर यो व्यवसाय सुरु गरेको बताए ।
सुपरमार्केटको भोली बिहीबार प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका नेतृ डा आरजु राणा देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, हास्य कलाकार जितु नेपाल र मिस नेपाल २०१० सदिक्षा श्रेष्ठको सहभागिता रहने बताइएको छ ।
करिब २ करोडको लगानी रहेको सुपरमार्केटमा स्वदेशी सामग्रीहरु पाइनेछ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई समर्थन गर्ने लक्ष्य रहेको अग्रवालले बताए ।
‘सुपरमार्केटमा खाद्यवस्तुदेखि कपडा, घरको सजावट र व्यक्तिगत हेरचाहको सामग्रीहरु सुपथ मूल्यमा पाउन सकिनेछ । नेपाली उत्पादन र प्याक गरिएका उत्पादनको प्रवद्र्धनले थप आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माणमा सघाउ पुग्ने कृष्णगुप्ता अग्रवालले बताए ।
सुपरमार्केबाट प्राप्त नाफाको निश्चित प्रतिशत ट्रष्टलाई प्रदान गरिने बताइएको छ । ट्रष्टको घोषणा समेत सुपरमार्केटको उद्घाटनमै हुने निर्देशक अमित अग्रवालले बताए । उद्घाटनको दिन विभिन्न लक्की ड्रमा पुरस्कारहरु समेत राखिएको छ ।
मकवानपुर । थाहा नगरपालिकाका २ वटा वडा संस्थागत सुत्केरी सुनिश्चित वडा घोषणा गरिएकाे छ । थाहा नगरकाे ९ र १० नम्बर वडालाई घरमा सुत्केरी हुने शून्य वडा घोषणा गरिएको छ । नगरको ९ नम्बर वडाको माझगाउँमा आयोजित एक समारोहबीच ९ र १० वडालाई संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणा गरिएको हो ।
नगर प्रमुख विष्णु बहादुर विष्टले ९ नम्बर वडाकाे चित्लाङ स्वास्थ्य चौकी र १० नम्बर वडाकाे टौखेल शहरी स्वास्थ्य केन्द्रलाई प्रमाणपत्र प्रदान गरेर पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएकाे वडा घोषणा गरेका हुन् । २ वडालाई संस्थागत सुत्केरी वडा घोषणा गर्दै थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले अब अन्य वडाहरुलाई बालमैत्री घोषणा गरेर सिङ्गो नगरलाई नै संस्थागत सुत्केरी हुने नगरको रुपमा विकास गर्नेगरी अभियान चलिरहेको बताए । उनले घरमा सुत्केरी सून्य गर्ने अभियानले दिगो विकासका दर्जन लक्ष्य हासिल गर्न मद्दत पुग्ने उल्लेख गरे । संस्थागत सुत्केरीको सुनिश्चिततासँगै नगरलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने अभियानको पनि आधार तयार भएको बिष्टको भनाइ थियो । उनले बिषम परिस्थितिमा पनि नागरिकको लागि अहाेरात्र खटेर काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिए ।
बुधबार थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल, वडा नं. ९ का वडा अध्यक्ष राजकुमार बलामी, दुबै वडाका वडा सदस्यहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयम्सेविकाहरु, सेवाग्राहीहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको सहभागितामा वडा नं. ९ र १० लाई ‘जिरो होम डेलीभरी’ वडा घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । कार्यक्रमका अध्यक्ष एवम् ९ नम्वर वडा अध्यक्ष राजकुमार बलामीले वडाकाे प्राथमिकता नै शिक्षा र स्वास्थ्य रहेकाे उल्लेख गरे ।
चालु आर्थिक वर्षको हालसम्म वडा नं. ९ को चित्लाङ स्वास्थ्य चौकीमा १६ जना सुत्केरी भएका छन् भने वडा नं. १० को टौखेल सहरी स्वास्थ्य केन्द्रमा ३ जना सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा दुबै संस्थामा गरी २९ जना सुत्केरी भएका थिए । वडामा कुनै पनि महिला घरमा सुत्केरी भएका छैनन् अर्थात् सबै सुत्केरी स्वास्थ्य संस्थामै भएको छ भन्ने तथ्याङ्क प्रमाणीकरण भएपछि जिरो होम डेलीभरी वडा घोषणा गरिन्छ ।
पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिवलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाण पक्राउ परेसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसरका इन्चार्ज एसएसपी दानबहादुर कार्कीले खाणका स्वकीय सचिव केसीलाई पनि पक्राउ गरिएको बताए।
नक्कली भटानी शरणार्थी प्रकरणमा खाणसँगै उनका स्वकीय सचिव केसी पनि पक्राउ परेका हुन्। यसअघि प्रहरीले यो प्रकरणमा १० जनालाई पक्राउ गरिसकेको छ। उनीहरुले दिएको बयानका आधारमा खाण र उनका स्वकीय सचिव केसीलाई पक्राउ गरेको जनाइएको छ।
८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।
कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ। स्राेत himalkhabar.com
