हेटौंडामा बृहत उद्यमशिलता प्रदर्शनी तथा अन्तर वडा स्तरीय नृत्य प्रतियोगिता
Tags: No Comments
मकवानपुर । हेटौंडामा बृहत उद्यमशिलता प्रदर्शनी तथा अन्तर वडा स्तरीय नृत्य प्रतियोगिता भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको समन्वय तथा व्यवस्थापनमा बृहत उद्यमशिलता प्रदर्शनी तथा अन्तर वडा स्तरिय नृत्य प्रतियोगिता भएको हो ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा उद्यमशिलता प्रदर्शनीमा हेटौंडाका महिलाहरुले उत्पादन गरेका १९ वटा स्टलमा सामाग्रीहरु राखिएको थियो । त्यसैगरी हेटौंडाका १७ वडाको सहभागिता रहेको नृत्य प्रतियोगितामा स्थानिय कला र संस्कृतिको सम्बर्दन गर्ने गरि अत्यन्यै रमाईलो ढंगले आफ्ना-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
नृत्य प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकारले सडक निर्माण मात्रै बिकास हो भन्ने कुरालाई छोडेर सबै क्षेत्रको काममा जोड दिन आग्रह गरे । ‘विकासका हरेक कामसंगै अतिरिक्त क्षेत्रमा पनि जोड दिनुपर्छ’ पौडेलले भने- ‘उद्यमशिलता प्रवर्द्धन कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरणलाई सहजता हुनेछ ।’
यसैगरी उद्यमशिलता प्रदर्शनीको उद्घाटन गर्दै बागमती प्रदेशसभाका सदस्य तथा पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले उद्यमशिलता संगै उद्योगी व्यवसायीहरूको प्रवर्द्धनमा लागि पर्नुपर्ने बताए । श्रेष्ठले भने- ‘यस्ता कार्यक्रमले अन्यलाई पनि प्रेरणा मिल्नेछ।’
यस्तै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले स्थानीय रूपमा उत्पादित वस्तुहरूको प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । लामाले आगामी दिनमा उपमहानगरपालिकाले उत्पादित वस्तुहरूको बिक्रि र बजारीकरण गर्ने सन्दर्भमा थप कार्यक्रमहरू आगामि बजेटमा समावेश गरि अगाडि बढ्ने जानकारी दिइन ।

कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले आफ्नो वडामा बिकास निर्माणका काम संगै यस्ता महत्वपूर्ण काम गरेर हरेक क्षेत्रको बिकासमा जोड दिने बताए ।
कार्यक्रममा उद्यमशिलता तर्फ हेटौंडा उपमहानगरपालिका वडा नम्बर -५ प्रथम, वडा नम्बर-४ द्वितीय, वडा नम्बर ६ तृतीय, वडा नम्बर २ र १९ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन । पुरस्कृत हुने वडाहरूलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५/५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै नृत्य तर्फ हेटौंड वडा नम्बर १८ प्रथम, वडा नम्बर १० द्वितीय, वडा नम्बर २ तृतीय, वडा नम्बर ११ र ५ ले सान्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कृत हुने वडाका समुहलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३५ हजार, २० हजार र १०/१० हजार प्रदान गरिएको टोल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा गीत संगीतको माध्यामबाट सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गर्नुहुने गायक एवम् संगितकार आशाकाजी श्रेष्ठलाई नगद २५ हजार र सम्मान पत्र सहित श्रष्टा सम्मान गरिएको थियो ।

लोक गायक बद्री पंगेनी र नायिका तथा मोडल ऋचा थापा लगायतका कलाकारहरूको विशेष प्रस्तुती रहेको कार्यक्रममा हेटौंडा नगर लका विभिन्न टोल विकास संस्था, विभिन्न संघ संस्थाका गरी ५ हजार भन्दा वढी व्यक्तिहरूले अवलोकन गरेको बताइएको छ ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समापन तथा पुरस्कार वितरण हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले गरेकी थिइन ।
मकवानपुर । मकवानपुरमा रहेर अनलाइन मिडियामा आवद्ध पत्रकारहरुकाे छाता संगठनकाे रुपमा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान)को तदर्थ समिति गठन गरिएकाे छ ।
अनलाईन मिडिया सञ्चालकहरुको छाता संगठनको रुपमा ओमान गठन गरिएको हाे । हेटौंडामा आयोजित अनलाइन सञ्चालकहरुको भेलाले खबरब्रेक अनलाइनका सञ्चालक धर्मेन्द्र दाहालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम (हेटौंडा खबर), उपाध्यक्षद्वयमा सुनिता विष्ट (पालिका डायरी) र रुपक कालिराज (हजुरको खबर), महासचिवमा उज्वल अधिकारी (नेपाल कलम), सचिवद्वयमा मनोज देवकोटा (हेटौंडा टुडे) र राजेश थापा ( रातोसमाचार) र कोषाध्यक्षमा प्रवेश धिताल (साझापत्र) चयन गरेको हो ।
त्यस्तै सदस्यहरुमा दीपेश दाहाल (अखबार हव), गोविन्द तिमल्सिना (शुभसमय), भूपेन्द्र राना (थाहापाना) चयन भएका छन् । आवश्यकताको आधारमा थप केही सञ्चालकहरुलाई कार्यसमितिमा ल्याइने अध्यक्ष दाहालले बताए । स्वरोजगार अनलाइन मिडियालाई स्तरीय र विश्वसनीय बनाई टिकाउने वातावरण बनाउन संस्थाले पहल गर्ने उनले बताए ।
बालबालिका बालश्रम तथा बाल विवाहबाट प्रभावित हुने दर बढ्दो
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्लामा बालबालिका बालश्रम तथा बाल विवाहबाट प्रभावित हुने दर बढ्दो रहेको पाइएको छ ।
जिल्लाको को ३ वटा स्थानीय तहमा मात्रै सन् २०२३ मा ७१ जना बालबालिकाहरु बालश्रम तथा बाल विवाहबाट प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये अन्य ७ वटा स्थानीय तहले यसबारे तथ्याङ्क संकलन गरेको पाइएको छैन ।
जिल्लाको मनहरी, कैलाश र राक्सीराङ् गाउँपालिका बिच बालश्रम न्युनिकरणलगायत बालबालिकाको सवालमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । सिविन बालहेल्पलाइन १०९८ को तथ्याङ्क अनुसार मनहरी गाउँपालिकामा बालविवाह, बालश्रम लगायतका घटनाहरु सन २०२२ मा बालक २९ जना र बालिका २१ जना गरि जम्मा ५० जना रहेको बताइएको छ । यसैगरी कैलाश गाउँपालिकामा १० बालिका सहित १७ जना, राक्सीराङ गाउँपालिकामा बालक ३ जना र १ जा बालिका गरी ४ जना बालबालिकाहरु बालश्रम तथा बाल विवाहबाट प्रभावित रहेको पाइएको हो ।
त्यसरी बालहेल्पलाइनको रेकर्डअनुसार सन् २०२३ को जनवरीदेखि हालसम्म मनहरीमा बालक ९ जना र बालिका ७ जना गरि जम्मा १६ जना, कैलाश गाउँपालिकामा बालक ३ जना र बालिका २ जना गरि जम्मा ५ जना, राक्सीराङ् गाउँपालिका बालक ३ जना र बालिका २ जना गरि जम्मा ५ जना रहेको बताइएको छ । ५ महिनाको बिचमा नै प्रभावित हुने बालबालिकाको संङ्ख्या २६ जना रहनु उल्लेख्य भएको सरोकारवालाहरुको भनाइन छ ।
यसैबीच बालबालिको समस्याको समाधान गर्न मकवानपुरका तीन वटा स्थानीय तहहरुबिच समन्वय बैठक बसेको छ ।
तीन वटा गाउँपालिकाका जनप्रतिनिधी, बालअधिकार समितिका पदाधिकारी, विभिन्न शाखाका प्रमुख, बालसमुहका सदस्य गरि २७ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमा बाल बालिका सम्बन्धि ऐन २०७५ भएका प्रावधान, बालअधिकार समितिको गठन प्रकृया, क्रियाशिलता, बाल कल्याण अधिकारको नियुक्ति, बालश्रम, बालविवाह,बालबालिकाको ओसार पसार, लागुपदार्थको प्रयोग एवं ओसारपसार, बालसमुह गठन तथा क्रियाशिलता र प्रशिक्षणलगायतका विषयमा बालहेल्पलाइन १०९८ का प्रबन्धक झबिन्द्र ज्ञवालीको सहजीकरणमा छलफल गरिएको हो ।
कार्यक्रममा कैलाश गाउँपालिका, राक्सीराङ् गाउँपालिका र मनहरी गाउँपालिकाका बालबालिका एक अर्का गाउँपालिकामा बालश्रम गर्ने, बालविवाह गर्ने तथा अन्य समस्याहरु अन्तर सम्बन्धित भइ आउने घटनाको विवरणहरु बालहेल्पलाइनबाट प्रस्तुत गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले बालिकाहरुको समस्या समाधान गर्न पालिकाहरु बिच समन्वय सहकार्य गर्नुपर्ने र आगामी दिनमा गाउँपालिकाले कार्यक्रम निति तथा बजेटको लागि सुझाव दिन अनुरोध गर्दे आगामी दिनमा यस्ता समन्वयतात्मक बैठकको आयोजन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यसैगरि राक्सीराङ् गाउँपालिक वार्ड न ८ का वार्ड अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक यसु प्रजाले राक्सीराङ् गाउँपालिकामा बालश्रम, बालविवाह लगायतका समस्याहरु रहेको र गाउँपालिकामा यस विषयमा छलफल गरि समधान तर्फ जान गाउँपालिका प्रतिवद्ध रहेको बताए ।
त्यसै गरि कैलाश गाउँपालिका बालमैत्री सम्पर्क ब्यक्ति हस्त नेगीले कैलाश गाउँपालिका बालमैत्री अभियानमा अगाडि बढेको तर बालविवाहको समस्या सबैभन्दा बढि चुनौतिपूर्ण रहेको बताए । सिविन नेपालको आयोजना तथा मनहरी गाउँपालकाको समन्वयमा भएको मनहरी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारीले बताइन् ।
मकवानपुर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको कार्यमा संलग्नलाइ कारवाही गर्न नेकपा (एकीकृत समाजवादी) मकवानपुरको मोर्चा संगठनहरुले माग गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै मोर्चा संगठनले मानव बेचबिखन र भ्रष्टाचारको डिजाइनको विरुद्धमा आफूहरु खुला रुपमा सडकमा उत्रेको उल्लेख गरे ।
“यो कुकृत्यमा संलग्न सबै अपराधीहरुलाई गिरफ्तार गरी कानूनी कावाही गर्न हाम्रो पार्टीले विगतदेखि नै सार्वजनिक रुपमा माग तथा आह्वान गर्दै आएको हो” ज्ञापन पत्रमा भनिएको छ ।
नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन हालसम्म सरकारले राखेको अडान, कार्य र सकृयताले आमनागरिकको वीचमा सकारात्मक सन्देश प्रवाह गरेको ज्ञापन पत्रमा भनिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजिएको भन्दै नक्कली भूटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद भित्रैबाट संविधानका विरुद्धसमेत बोल्ने काम गरिएको मोर्चाको ठम्याई छ । यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोवल खसाल्ने प्रयास गरिएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।
विगतका धेरै भ्रष्टाचार काण्ड यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आमजनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको भन्ने आशंका जन्मिएको भन्दै एकीकृत समाजवादी निकट मोर्चाहरुको ज्ञापन पत्र बुझाएका हुन् ।
“हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गम्भीरपूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौ” ज्ञापनपत्रमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, सचिव ध्रुव भुजेल, युवा संघका किरण बल, कविन पन्त, अनेरास्ववियुका किशोर टन्डन, समाजवादी प्रेस संगठनका रामकुमार एलनलगायतको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
