मकवानपुर । टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा विश्व वातावरण दिवस ७ दिन बिबिध कार्यक्रम गरी मनाउने भएको छ । समितिले उपमहानगरपालिकामा ५१ औं विश्व वातावरण दिवस सप्ताहब्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।
“प्लाष्टिकजन्य प्रदूषण निमूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं ” भन्ने मुल नाराका साथ जेष्ठ १६ गते देखि जेष्ठ २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने मुल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन जेठ १६ गते मंगलबार राप्तिखोला सरसफाई र वातावरण संरक्षण सम्बन्धि चेतना मुलक टिकटक प्रतियोगिता आयोजना गरिने छ । दोस्रो दिन अर्थात जेठ १७ मा पर्यावरण संरक्षण सम्बन्धी खुल्ला कविता प्रतियोगिता र सार्वजनिक सवारी साधानमा स्टिकर टास्ने तथा डस्बिन बितरण कार्यक्रम गरिनेछ । त्यस्तै तेस्रो (जेठ १८) मा वातारण संरक्षण तथा लागुपदार्थ दुव्र्यसनी बिरुद्द सडक नाटक प्रदर्शनी र ४० माईक्रोन भन्दा कमको प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिने अधिकारीले जानकारी दिए ।
त्यसैगरी रक्तदान कार्यक्रम, बाल क्लब स्तरीय वकृत्वकला प्रतियोगिता र हेटौंडाको हुप्राचौर र राजपानीमा वृक्षारोपणको कार्यक्रम चौथो दिन जेठ १९ गते हुनेछ । पाँचौ दिन जेठ २० गते सफा हेटौंडा अभियान अन्तर्गत उमहानगरको १९ वडामा सरसफाई कार्यक्रम र वातावरण सचेतना सम्बन्धी साईकल र्याली तथा सम्मान कार्यक्रम हुने उनले बताए । जेठ २१ छैठौँ दिनमा म आफ्नै डस्टबिन बोक्छु अभियान अन्तर्गत नगरका विद्यालयहरुमा सचेतना मुलक कार्यक्रम गरिने छ भने खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीको नगर विद्यालय स्तरीय प्रतिस्पर्धा गराइने छ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन जेठ २२ गते कपडाको झोला वितरण र उत्कृष्ट टोल विकास संस्थालाई पुरस्कृत गरिने छ भने बाजा तथा झाकी सहितको वातावरण सचेतना सम्बन्धी र्यालीले नगरपरिक्रममा गरिनेछ । नगरपरिक्रममा गरी हेटौंडाको हुप्राचौरमा एक सहमारोहबीच सप्ताहव्यापी कार्यक्रमको समापन गरिने संयोजक अधिकारीले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएका प्रतियोगितामा विजयी तथा सहभागीलाई समापन कार्यक्रमको दिन पुरस्कार वितरण तथा सम्मान अधिकारीले बताए ।
सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघसंस्था, क्लब, आमा समुह, स्वयंसेविका, धार्मिक, जातिय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरीक समाजका व्यक्तित्वहरुसंग समन्वय गरिएको उनले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघ हेटौंडाको आयोजनामा राष्ट्रिय पुरुष भलिबल हुने भएको हो । आयोजक सस्थाले प्रतियोगिता जेठ १६ गते देखि २० गतेसम्म संचालन हुने हेटौंडामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
भलिबल प्रतियोगितामा राष्ट्रिय र मोफसलका गरि १० टिमले सहभागिता जनाउने आयोजक मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौलाले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मकवानपुर जिल्ला भलिबल टिम, बागमती प्रदेश भलिबल टिम, पाथीभरा भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम र गण्डकी प्रदेश भलिबल टिमले सहभागिता जनाउने सिटौलाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम द्वितीय हुने टिमले क्रमशः २ लाख र १ लाख सहित नगद शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । यस्तै गरि सेमिफाइनल पुग्ने २ टिम लाई नगद ५०/५० हजार प्रदान गरिने आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान अध्यक्ष प्रताप बिष्टले जानाकारी दिए । यसै गरि सर्बोत्कृष्ट खेलाडी र बिधागत उत्कृष्ट खेलाडी लाई नगद पुरस्कर प्रदान गरिने बिष्टले बताए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्राचौर खेल मैदानमा हुने प्रतियोगिताको अनुमानित लागत २५ लाख रहेको सिटौलाले जानकारी दिए ।
प्रतियोगिता सह आयोजक हेटौंडा उपमहानगरपालिका भलिबल संघ थाहा नगरपालिका भलिबल संघ भिमफेदी गाउँपालिका भलिबल संघ र मकवानपुर गढी गाउँपालिका भलिबल संघ रहेका छन । मकवानपुर जिल्ला खेलकुद समिति र नगर खेलकुद बिकास समितिको समन्वयमा प्रतियोगिता संचालन हुने भएको हो ।
प्रतियोगिताको मुख्य सहयोग हेटौंडा उपमहानगरपालिका तथा बागमती प्रदेश खेलकुद बिकास परिषद, हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालय र १९ नम्बर वडा कार्यालय सहयोग रहेको सिटौलाले बताए ।

मकवानपुर । प्रदेश भित्रका प्रहरी चौकी निर्माणको लागि बागमती प्रदेश सरकारले ६ करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आइतबारको बैठकले संघीय सरकार मातहतको ५ वटा प्रहरी चौकी भवनका निर्माणका गर्न उकत रकम ६ रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला व्यारेक भवन निर्माणका लागि ८४ लाख २२ हजार, मकवानपुरजिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि १ करोड ९८ लाख १ हजार, सिन्धुली जिल्लाको प्रहरी चौकी खाङसाङको भवन निर्माणका लागि १ करोड ३ लाख ३९ हजार रुपैयाँ उपलबध गराउने निर्णय गरेको हो ।
यसैगरी चितवन जिल्लाको सौराहास्थित प्रहरी चौकी निर्माणका लागि ९७ लाख ३३ हजार रुपैयाँ र जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन निर्माणका लागि १ करोड ३२ लाख ६१ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको आइतबारको बैठकले प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप सशर्त अनुदान दिने निर्णय समेत गरेको छ । बैठकले मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख दिने र नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र १ करोड १० लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेशका प्रवक्ता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकले प्रदेशका १० पालिकालाई १० लाख रुपैयाँका दरले स्थानीय विपद् कोषमा रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । दोलखाको गौरीशंकर गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, र चितवनको इच्छाकामना गाउँपालिकाको स्थानीय विपद्कोषमा १० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले सिन्धुली अस्पतालमा यही जेठ ९ र १० गते हुन गएको भौतिक क्षतिको कारण इमर्जेन्सीबाहेक अन्य सेवा सञ्चालन गर्न अप्ठ्यारो परिरहेकाले अन्य सेवा सुचारु गर्न क्षति भएको भौतिक पूर्वाधार निर्माणका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
मकवानपुर । थाहा नगरमा पर्यटन साहित्य महोत्सव भएकाे छ । पर्या साहित्यमा जाेड गजल महफिल, वहस, पर्या कविता वाचन सहित साहित्य महाेत्सवकाे आयाेजना गरिएकाे हाे । पर्या साहित्यमा जोड दिँदै साहित्य संगम मकवानपुरले ३ सय ३१औं साहित्य सन्ध्या थाहा नगर पर्यटनकाे रुपमा आयाेजना गरेकाे हाे ।
विकासघर पालुङमा आयोजित २ दिने कार्यक्रममा पहिलो दिन गजल महफिल आयोजना गरियो भने दोश्रो दिन बहस तथा पर्या कविता वाचन गरिए । गजल महफिलमा धर्मराज स्याङ्तान, विद्या निर्दोष पहाडी, इन्दिरा अधिकारी, ईन्दिरा अधिकारी, भरतप्रमोद दाहाल र सुवास सजलले गजल वाचन गरेका थिए । यस सेसनलाई बाबु त्रिपाठीले सहजीकरण गरेका थिए ।
संगम अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा प्रमुख अतिथी थाहा नगरपालिका प्रमुख विष्णु विष्ट, विशिष्ट अतिथिहरू थाहा नगरपालिका उपप्रमुख भरत गोपाली रहनु भएको दोश्रो दिनको उद्घाटन समारोहमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले प्रस्तुत गरेकाे मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयक कार्यपत्रमा कवि सुवास खनालले टिप्पणी गरेका थिए । जसमा देवराज खरेल र हरिकृष्ण कार्कीले आफ्ना विचारहरू राखेका थिए । उक्त सेसनको सहजीकरण संगम सचिव डिबी बर्तौलाले गरेका हुन् ।
साहित्यसँगै पर्यटनः आन्तरिक पर्यटनको प्रदीपन बहस देवराज खरेलको अभिभावकत्वमा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, साहित्यकार माया मानवी, भाषा संस्कृति अध्येता ओम रिजाल सहभागी सेसनको सहजीकरण संगम कोषाध्यक्ष मनोज पोखरेलले गरेका थिए । मानवीले जनप्रतिनिधिहरू जुनसुकै राजनीतिक दलबाट चुनिएता पनि साहित्य, पर्यटन विकास, सर्जक लगायत सबैप्रति राजनीतिक आँखाले नहेर्नका लागि अनुरोध गरिन् । यस्तै अध्येता रिजालले कर्णाली क्षेत्रको दुल्लुमा त्यहाँका कला कौशल, संस्कृति, इतिहास, भेषभुसा, भाषा आदिबारे पुस्तक लेखिएको र त्यसलाई स्थानीय निकायले प्रकाशन गरेको हुँदा थाहाले यस्ता सिकाइलाई पछ्याउँनका लागि सुझाव दिइन् ।

कविहरू भावना सापकोटा, पुण्यशिला श्रेष्ठ, रजनी श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, स्वस्तिका दाहाल, प्रज्वल अधिकारी, सुरज पराजुली, बाबु त्रिपाठी, प्रकाश समीर, राम बर्तौला, रसिकराज, देवराज तिवारी, विशाल अधिकारी आशुतोष, संप्रस पौडेल, मसान उपासक, अञ्जय प्रधान, यश लामा, बैकुण्ठ लामिछानेले पर्या पर्यावरण कविता वाचन गरेका । डा. नवराज लम्सालको अभिभावकत्वमा भएकाे कविता वाचन कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र दिइएको थियो ।
कार्यक्रममा मदन पुरस्कार लगायत ४ राष्ट्रिय साहित्यिक पुरस्कार विजेता डा. लम्सालले वाचन भएका पर्या साहित्य सिर्जनाले स्थानीयदेखि विश्वका मुद्दा उठाएका र सर्जकहरूलाई छन्द वा गद्यमा रचना गर्ने तथा आफ्नो रचनालाई कसैले नराम्रो भन्ला कि भन्ने अन्यौलताबाट मुक्त भएर लेखन कार्यमा जोड गर्न सल्लाह दिँदै आफ्नो कृति अग्निमा थाहा, मकवानपुरगढी लगायत मकवानपुरकै माटोको सुगन्ध रहेकोले मकवानपुरलाई जहिल्यै माया गर्ने बताए ।
पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, थाहा नगरपालिका, पालुङ र पालुङ साहित्य परिषदसँगको सहकार्यमा पालुङमा आयोजित २ दिने महोत्सव बाइलाइन नेपाल, साहित्य पोस्ट, एन एस टेलिभिजन, थाहापाटी, दामन एफएमसँगको सहकार्यमा सम्पन्न गरिएको हो ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिका ९ रजैयामा मिनीट्रकले हात चुडाल्दा मृत्यु भएकाे पुरुषकाे पहिचान खुलेकाे छ । मृत्यु हुनेमा भारतको विहार बेतिया–१२ का १८ वर्षीय पोशन शेख रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
शनिबार बिहान ११ बजेर २५ मिनेटको समयमा मनहरी ९ रजैया स्थित पूर्व पश्चिम राजमार्गमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार शेखले झ्यालबाट हात बाहिर निकाल्दा ठक्कर दिएकाे थियाे ।
मिनी ट्रकले ठक्करबाट हात चुडिएर गम्भीर घाइते भएका शेखलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा शनिबार दिउँसो १२ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार बस चालकको सिटभन्दा पछाडी सिटमा बसेका शेखले झ्यालबाट हात बाहिर निकालिरहेको अवस्थामा ट्रकले ठक्कर दिँदा दाहिने हातको पाता भन्दा मुनिको भाग चुडिएकाे चुडालेको दिएको थियो । मिनी ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
