मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिका ९ रजैयामा मिनीट्रकले हात चुडाल्दा मृत्यु भएकाे पुरुषकाे पहिचान खुलेकाे छ । मृत्यु हुनेमा भारतको विहार बेतिया–१२ का १८ वर्षीय पोशन शेख रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
शनिबार बिहान ११ बजेर २५ मिनेटको समयमा मनहरी ९ रजैया स्थित पूर्व पश्चिम राजमार्गमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार शेखले झ्यालबाट हात बाहिर निकाल्दा ठक्कर दिएकाे थियाे ।
मिनी ट्रकले ठक्करबाट हात चुडिएर गम्भीर घाइते भएका शेखलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा शनिबार दिउँसो १२ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार बस चालकको सिटभन्दा पछाडी सिटमा बसेका शेखले झ्यालबाट हात बाहिर निकालिरहेको अवस्थामा ट्रकले ठक्कर दिँदा दाहिने हातको पाता भन्दा मुनिको भाग चुडिएकाे चुडालेको दिएको थियो । मिनी ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

