मकवानपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौंडामा निर्माणाधीन सब स्टेशनको अनुगमन गरेका छन् । कार्यकारी निर्देशक घिसिङले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, स्थित थानाभर्याङमा निर्माण भइरहेको ४०० केभी, २२० केभी र १३२ केभी सब स्टेशनको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले निर्माणाधीन सब स्टेशनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए । आगामी असारभित्र सब स्टेशनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका ठेकेदार कम्पनीहरूले प्रतिबद्धता विपरीत निर्माण स्थलमा कुनै काम नगरेको भन्दै उनले काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए । उनले सब स्टेसन निर्माण स्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेलमोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरूलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिवाना तिराउने चेतावनी दिएका छन् ।
साथै उनले भारतको दिल्लीमा रहेका सिमेन्सका प्रतिनिधि र टेलमोसका प्रतिनिधिलाई छुट्टाछुट्टै फोन गरी आइतबार काठमाडौं आएर संयुक्त बैठक गर्न निर्देशन समेत दिएका थिए । चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडेर बाँकी रहेको काम गर्न टेण्डरमार्फत् सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५मा ठेक्का सम्झौता भएको थियो ।
यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेस निर्माण पनि राखिएको छ । कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सबस्टेसनको निर्माण आउँदाे असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

