मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटाैडामा दाेस्राे विजय युथ गाेल्डकप हुने भएकाे छ । शनिबार विजय युथ क्लबले पत्रकार सम्मेलन गरी प्रतियाेगिता असार ५ गतेबाट १५ गतेसम्म हुने जानकारी दिएकाे हाे ।
खेलाडीहरुको बीचमा भातृत्व सम्बन्ध स्थापना गर्दै फुटबलको विकासका निम्ति क्लवले दोस्रो विजय यूथ गोल्डकपको आयोजना गर्न लागेको क्लब अध्यक्ष सुदिप राजवाहकले जानकारी दिए । हेटौंडा ५ पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियाेगितामा १६ टिमकाे सहभागिता रहने छ ।
प्रतियाेगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए काे सहभागिता रहने राजवाहकले बताए ।
गाेल्डकपकाे विजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार रुपैया प्रदान गरिने राजवाहकले बताए । प्रतियोगिताकाे विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी / प्रत्येक खेलको म्यान अफ द म्याचलाई पुरस्कारकाे व्यवस्था रहेकाे उनले जानकारी दिए ।
असार ५ गते बेलुका ४ बजे हुने उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लव बीच हुने तालिका छ । प्रतियाेगितामा अनुमानित १३ लाख खर्च आयाेजकले जनाएकाे छ ।
यसअघि प्रतियोगिताको पहिलो संस्करण माघ २०७७ मा भएकोमा उपाधि आयोजक टिम एफसी विजय युथ क्लबले हात पारेको थियो । आयोजकले सेन्ट्रल कलेज विएसी भरतपुरलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो सस्करणको उपाधि जितेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरूले प्रदेश सरकारको बजेट बहिष्कार गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बजेट बिनियोजनमा विभेद गरेको भन्दै वडाअध्य्क्षहरूले मुख्यमन्त्री र उनका मन्त्रीहरुलाई बहिष्कार गर्ने भएका हुन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्षहरुले प्रदेश सरकारले राजधानी हेटौंडाको विकास निर्माणको लागि कुनै बजेट विनियोजन नगरेको भन्दै घोर आपत्ती जनाए । वडाध्यक्षहरुले हेटौंडामा हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरु सहभागि भए उनीहरुलाई कालो झण्डा देखाउँदै बहिष्कार गर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा-१४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरुले प्रदेशका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने तयारीमा रहेको बताए । उनले प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुन बाध्य हुने समेत उल्लेख गरे ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा-१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले प्रदेशको राजधानी हेटौंडा भएको र त्यसमा पनि १० नम्बर वडामा प्रदेशका मन्त्रालयहरु देखि प्रदेश सभा भवन लगाएत धेरै सरकारी भवनहरु भएको तर यहाँकै पूर्वाधार विकास निर्माणमा बजेट शून्य पार्नुले राजधानीलाई पछि पार्न खोजेको टिप्पणी गरे । उनले प्रदेशको राजधानी हेटौंडालाई नियोजित ढंगले बजेट नहाल्नुले राजधानी सार्न खाजेको भान भएको बताए ।
यसैगरी, हेटौंडा-१९ को वडाध्यक्ष नरनाथ सुवेदीले प्रदेश सरकारको बजेट पूवाग्राही ढंगले आएको बताउँदै बजेट संशोधन हुनुपर्ने बताए । उनले प्रदेशको बजेट पूवार्धार, रोजगारसँग नजोडिएको टिप्पणी गरे । उनले प्रदेश सरकारले आफ्नो दलका कार्यकर्ता पाल्ने ढंगले मात्रै बजेट ल्याएको दाबी गर्दै प्रदेश सरकारले बजेट सच्याउनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा-५ का वडाध्यक्ष शुशिल घिमिरे, हेटौंडा-११ की वडाध्यक्ष जुना दाहाल, हेटौंडा-१५ का वडाध्यक्ष सुनिल मोक्तानले प्रदेशको बजेट हचुवाका भरमा पहुँचवालाले पाउने गरी बनेको बताउँदै बजेट संशोधन हुनुपर्नेमा जोड दिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्व ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाले शनिबार १३ औ नगर सभामा
आगामी आर्थिक वर्षका बजेट सार्वजनिक गरेको हो ।
नगर विकासको लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रूपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार ७३० बेहोर्ने छ ।
यसैगरी प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट १ अर्व १४ करोड ५० लाख बाट व्यहोरिने छ ।
यस उपमहानगरपालिकालाई नगरसभा पश्चात सङ्घीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने अन्य कार्यक्रमहरुको एकल खाता कोष प्रणाली मार्फत भुक्तानी हुने भएकाले प्रस्तुत बजेटमा उक्त कार्यक्रमहरुको स्रोत समावेश नगरिएको उपमेयर राजेश बानियाँले बताए ।
तस्बिर सहयोग पत्रकार प्रतीक्षा न्यौपाने
काठमाडौं / नक्कली भूटानी शरणार्थी मुद्दामा काठमाडौं जिल्ला अदालतले पूर्व मन्त्री सहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार अभियुक्तहरूलाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो। अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डे लगायतलाई जेल पठाउन आदेश दिएको छ।
यो मुद्दामा दुई जनालाई मात्रै धरौटीमा रिहा गर्न आदेश भएको छ। टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको हो।
नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका उडाउने प्रकरणमा संगठित गिरोह चलाएको आरोपमा ३० जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। जसमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना फरार छन्।
पूर्व मन्त्रीहरू सहित ३० जनाबाट २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ बिगो भराउन पनि माग गरिएको थियो। उनीहरूमाथि ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकूलको कसूर र एकीकृत कसूरमा मुद्दा लगाइएको हो।
यस मुद्दामा १२ दिनदेखि जिल्ला अदालतमा थुनछेकको बहस चलिरहेको थियो। पूर्व मन्त्रीहरूको बचाउमा वरिष्ठ अधिवक्तासहित दर्जनौं वकीलेले बहस गरेका थिए।
www.himalkhabar.com बाट
