मकवानपुर । मकवानपुरको हेटौंडामा सहिद आकाश मेमोरियल क्याम्पसले स्नातक तहको लागि अस्थायी सम्बन्धन पाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय एवं व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको ४ वर्षे BIT र BBA शैक्षिक कार्यक्रम संचालन गर्नको लागि क्याम्पसले सम्बन्धन पाएको मंगलबार पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।
क्याम्पसले स्नातक तहको ४ वर्षे BIT र BBA शैक्षिक कार्यक्रम संचालन गर्न आवेदन दिएकोमा पूर्वान्चल विश्वविद्यालयको कार्यकारी परिषदको जेठ ११ र साउन २६ गतेको निर्णयबाट सम्बन्धन प्राप्त गरेको हो ।
सहिद एकनाथ सुबेदी (आकश) स्मृति प्रतिष्ठान नेपालले आगामी तिहारपछी कक्षा सुरू गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा क्याम्पस सन्चालक समितिका अध्यक्ष बिजय गौतमले बताए ।
हेटौंडा ५ मा रहेको रिलायन्स बोर्डिङ स्कुलमा आकाश मेमोरियल क्याम्पस सन्चालन हुने अध्यक्ष गौतमले बताए ।
हाल क्याम्पस सन्चालकको रूपमा सन्चालकहरू ११ जना,४ निकाय पदेन सदस्यहरू रहेका छन् । जसमा हेउमनपा, जिल्ला प्रशासन र जिसस रहेको सन्चालक समिती उपाध्यक्ष गोकर्ण पराजुलीले बताए । सन्चालक समितिका दिनेश कुमार सुवेदीलाई क्याम्पस प्रमुख रुपमा नियुक्त गरेको छ ।
‘विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय एवं व्यवस्थापन संकाय, डीनको कार्यालयबाट क्याम्पसले सम्पूर्ण प्रक्रिया पूरा गरि क्याम्पस बीच दुई पक्षीय सम्झौता समेत र्भईसकेको हुँदा शैक्षिक सत्र २०८० ०८१ देखि स्नातक तहको ४ वर्षे BIT र BBA शैक्षिक कार्यक्रम (प्रत्येक शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना संख्या ४८ छात्रवृति समेत) संचालनका लागि पूर्वान्चल विश्वविद्यालय सम्बन्धन सम्बन्धी नीति, शर्त र प्रकृया २०७३ (सशोधन सहित) को बुदा नं. ४ अनुसार अस्थायी सम्बन्धन दिईएको व्यहोरा जानकारी गराउँदछु’ डा.कोमल प्रसाद दुलाल प्रमुख, योजना महाशाखाले हस्ताक्षर गरिएको सम्बन्धन पत्रमा भनिएको छ ।
मकवानपुर । बागमती प्रदेशमामा पेश भएको राष्ट्रभाषा विधेयक सम्बन्धी प्रदेश सभा सदस्यसँग छलफल गरिएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाःदेय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशले सभा सदस्यसंग मंगलबार संयुक्त छलफल गरिएको हो ।
छलफलमा प्रदेशसभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २०८० को व्यबस्था, संशोधनको व्यहोरा, संशोधनको कारण र आधारहरुसहितको संशोधन प्रस्तावबारे सान्दर्भिकता र आवश्यकताबारे प्रस्तुती समेत गरिएको थियो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले छोटो समयमा धेरै मिहेनत गरेर भाषा सम्बन्धी विधेयक ल्याएको बताउइन् । “हामीले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २ महिना भित्रै बनायौ,’ उनले भनिन्, “जाति, भाषा, सामाजिक मोर्चा/संस्थासँग छलफल गरेर सुझाब लियौ र संस्थागतसँगै व्यक्तिगत सुझाव लिएर डेढ महिनामा खाका बनायौ ।”
भाषा विधेयकलाई पूर्णता दिन लिपीको कुरा चलेको भन्दै उनले त्यसलाई भाषा कानूनभित्र राखेर जाँदा राम्रो हुने जिकिर गरिन् । विधेयक सदनमा पेश भएपछि संसद र पास भएपछि राज्यको सम्पति बन्ने भन्दै भावी पुस्ताले गर्व लायक बन्नेमा उनको जोड थियो ।
प्रदेशकी पूर्व उपसभामुख राधिका तामाङले भाषा विधेयकलाई पूर्ण बनाउने र प्रभावकारी बनाउने सरकार, सांसद, आदिवासी जनजाति संघसंस्था र अगुवासँगै प्रदेशवासीको जिम्मेवारी रहेको बताइन् । प्रदेशको भाषाबारे सोचाई साँघुरो बनाउन नहुने भन्दै उनले फराकिलो सोच बनाएर अघि बढे भाषाको कार्यान्वयन र विकास हुने दाबी गरिन् । आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले भाषा ऐन बनाउँदा सरल भाषामा बनाइने बताए ।
प्रदेश सभा सदस्य सरल सहयात्रीले विद्यालयमा भाषा पढ्ने वातावरण बनेमा भाषा दीर्घकालिन रुपमा संरक्षण हुने भन्दै भाषा आयोगले सरलिकरण गर्नुपर्ने तर्क गरे । अर्का सदस्य श्रीराम लामिछानेले भाषा संरक्षणसँगै आर्थिक, सांस्कृतिक र रहनसहनलाई पनि भाषा कानूनमा समेट्न सके समृद्धिमा सहयोग पुग्ने बताए । यसैगरी प्रेमभक्त श्रेष्ठले आउँदो पुस्ताका लागि रंजना लिपीबारे सचेतना जगाउन भाषा कानूनमा ब्यवस्था गर्नुपर्ने बताए ।
सभा सदस्य रमा आले मगरले ऐन बनाउनु स्वागत योग्य भएपनि नेवार र तामाङसँगै सुरेल, ह्यायु, सुनुवार लगायतको भाषाको संरक्षणमा पनि कानूनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
भाषा आयोगका सदस्य अमृत योन्जन, भाषा विज्ञ प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, अधिबक्ताद्वय शंकर लिम्बु र नरेश श्रेष्ठ तथा नेवाः देय् दबु स्वनिगः उपत्यका प्रदेश सदस्य श्रीकृष्ण महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए ।
मकवानपुर । मकवानपुरको हेटौँडामा प्रहरीले एम्बुलेन्स रोकेकाे कारण बिरामीकाे मृत्यु भएकाे घटनामा संलग्न सहायक हबल्दार डिल्लीराम शिवाकोटी निलम्बनमा परेका छन् ।
शिवाकाेटीले एम्बुलेन्स राेकेर बिरामीकाे आफन्तलाई समेत दुःख दिएकाे तथा एम्बुलेन्स समेत प्रहरी कार्यालयमा लगेपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएकाे थियाे । उक्त विषयमा समाचार प्रकाशित भएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सहायक हबल्दार शिवाकोटीलाई निलम्बन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दिपक रेग्मीले एम्बुलेन्स रोक्ने शिवाकोटीलाई निलम्बन गरेको जानकारी दिए । उनले निलम्बन गरेर घटनाको अनुसन्धान भइरहेको बताए ।
छानविन समिति गठन
यसैबीच घुमुवा प्रहरीको अवरोधका कारण बिरामीको बाटोमै मृत्यु भएको घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ । घटनाको सत्यतथ्य छानविन गर्न प्रहरी नायव उपरीक्षक भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार सम्भव नभए पछि बकैया १ धाेवीडाँडाकी चिरमाया लाेलाई डिस्चार्ज गरिएकाे थियाे । लाेलाई ना २ च ८४३२ नम्बरको एम्बुलेन्सबाट बकैया घर लैजान लाग्दा हेटौँडामा आइतबार राती घुमुवा प्रहरी सहायक प्रहरी हबल्दार डिल्लीराम सिवाकोटीले अवरोध गरेका थिए ।
सादा पोशाकमा रहेका सिवाकोटीले प्रहरी हुँ भन्दै दुव्र्यवहार गर्नुका साथै हातपात समेत गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । हेटौँडा–४, रानीदरबारमा काठमाडौंबाट आएको सुमोलाई छाडेर बकैयातर्फ जान अर्को सुमोमा सामान सार्दै गर्दा सहायक प्रहरी हबल्दार सिवाकोटी पुगेका थिए ।
सिवाकोटीको अवरोध र केहीबेरको तनावपछि सुरक्षागस्तीमा हिँडेको प्रहरी टोलीले घटनालाई साम्य पार्नुका साथै चिरमाया र उनको परिवारलाई जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । प्रहरीले रोकेकै कारण चिरमायाको सोमबार बिहान प्रहरी कार्यालय अगाडि एम्बुलेन्समै मृत्यु भएकाे परिवारले आराेप लगाएकाे छ । बिरामीकाे परिवारसँगकाे तनावकाे कारण सहायक हबल्दार सिवाकोटी घाइते भएकाेमा उपचारका लागि चितवन लगिएकाे थियाे ।
मकवानपुर । संघीय सरकार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलन सफल बनाउन तथा राजनीति परिवर्तनकाे लागि संचार जगतकाे योगदान रहेकाे बताएका छन् । साेमबार हेटाैडामा श्रेष्ठले भने “हामीले धेरै दुख र मेहनतले आजको ब्यबस्था ल्याउन सफल भएका हौं यसमा संचार जगतकाे याेगदान भुल्न सिकदैन ।’ मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
‘नेपालमा जुन प्रकृतिको राजनीतिक परिवर्तन भयो सो अनुरुप समृद्धि र बिकासको क्षेत्रमा जनभावना अनुरुप काम गर्न नसकिएको सत्य हो’ उनले भने ‘परिवर्तनलाई संस्थागत गर्नु र जनताको जीवनस्तर उकास्नु आजको आवश्यकता हो ।’ ‘सुशासन, समृद्धि, समाजिक न्याय सरकारकाे मुल मन्त्रको रुपमा रहेको छ’ उनले भने । अहिलेको सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसके वर्तमान राजनीतिक व्यवस्थाको औचित्य नरहने बताउँदै उनले नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्न नसकेको खण्डमा लामो संघर्ष पछि प्राप्त भएको राजनीतिक व्यवस्था परिवर्तनको औचित्य नहुने तर्क गरे ।
मन्त्री श्रेष्ठले सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावित बनाउने प्रयासहरू भइरहेको दाबी गरे । सरकारले सञ्चालन गरेको सुशासनको अभियानविरुद्ध सङ्गठित शक्ति आक्रामक ढङ्गले प्रस्तुत भइरहेको उनले आरोप लगाए । ‘सरकारले सुरु गरेको सुशासनको अभियानलाई तुहाउन खोजिँदै छ । सुशासन अभियानविरुद्ध सङ्गठित शक्तिबाट आक्रामक ढङ्गले प्रहार भइरहेका छन्’ उनले भने ‘सरकार सुशासनको अभियानमा निरन्तर चलिरहन्छ । भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा चलिरहन्छ । यो अभियानमा पूर्ण विराम लाग्नेवालामा छैन ।’
गृह मन्त्रीको निरन्तरता र भ्रष्ट्राचारको निरन्तरता तैं चुप मैँ चुपको यथास्थिति कायम हुन नसक्ने उनले बताए । सरकारले जुनसुकै परिस्थितिमा सुशासन र भ्रष्ट्राचारविरुद्धको अभियानलाई जारी राख्ने उनको भनाई रहेकाे थियाे । सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटर ब्याज, भुटानी शरणार्थी, सुन तस्करीसम्बन्धी भ्रष्टाचारका विभिन्न घटनाको छानबिन गरिरहेको उनले बताए ।
‘सरकारले सुशासन अन्तर्गत नै मन्त्रीहरुकाे अनावश्यक खर्चको कटौती , अनावश्यक पदक वितरण खारेजी, मिटर ब्याजी समस्या लाई समाधान गर्न समिति बनाइ पीडितहरु लाई न्याय दिने प्रक्रिया , प्रहरी प्रशासन भित्र हुने सरुवा बढुवालगायतमा हुने चलखेल लाई शुन्य मा झारेको छौ’ उनले बताए । ‘भ्रष्टाचार, कुशासन विरुद्ध सरकारले काम गरिरहदा त्यसको संरक्षकहरु आत्तिएका छन् र सरकार बिरुद्ध बोलिरहेका छन्’ उनले भने ‘हामी भ्रष्टाचार विरुद्धको अभियान, सुशासनको अभियान , समृद्धि को अभियानमा लागिनै रहने छौ ।’
सरकारले विशेषत चार विषयमा जोड दिएकाे भन्दै श्रेष्ठले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डता कायम राख्न, राजनीतिक परिवर्तनलाई कायम राख्न, मुलुकमा सुशासनको अभियानलाई जारी राख्न र विविधता बिचको एकता, सद्भावलाई कायम राखी सामाजिक एकता र सद्भाव माथि खलल आउन नदिन चुनौती रहेकाे बताए ।
मन्त्री श्रेष्ठले साेमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेकपा माओबादी केन्द्र मकवानपुरको कार्यक्रम, प्रेस सेन्टरको पत्रकार सम्मेलन, मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रम, हेटौंडा जेसीजको आयोजनामा ‘पब्लिक स्पिकिङ प्रतियोगिता’ लगायतका आधा दर्जन कार्यक्रममा सहभागी भएका थिए ।
मकवानपुर । मकवानपुरको हेटौंडा–१५ चुरियामाइस्थित पूर्व–पश्चिम राजमार्गमा साेमबार बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा ९ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परेर घाइते भएकाहरुको हाल पहिचान खुलेको छैन । उनीहरुलाई उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकाे छ । दुवै सावारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
