मकवानपुर । हेटौंडा भएको खुला कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुलीको पर्खाल कविता प्रथम भएको छ । प्रदेश युवा परिषद बागमती आयोजना र साहित्य संगम मकवानपुरको सहकार्यमा भएको राष्ट्रिय युवा कविता उत्सव २०८० अन्तरगत खुला कविता प्रतियोगितामा पराजुलीले प्रथम स्थान हासिल गरि ४० हजार नगद पुरस्कार प्राप्त गरे ।
यस्तै चितवनका कवि अन्जान प्रदीपको कविता ‘कुण्डली’ले द्वितीय स्थान साहिल गरेको छ । द्वितीय हुँदै प्रदिपले ३० हजार पुरस्कार प्राप्त गरे । यसैगरी नुवाकोटका कवि एलिसा एकलासको कविता ‘निर्धो बक्ररेखा’ले तृतीय स्थान हासिल गर्दै २० हजार पुरस्कार प्राप्त गरिन । कविता प्रतियोगितामा तनहुँका भीमप्रसाद खतिवडा अनुरागको ‘मेरो यात्रा’ कविताले सान्त्वना भइ १० हजार रूपैयाँ प्राप्त गरे ।
कविता प्रतियोगिताको लागि प्राप्त १ सय ५३ कवितामध्ये प्रारम्भमा उत्कृष्ट २० छनौट गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट २० मा छनौट भएका मध्ये १८ जना कविका कविता शनिबार हेटौंडामा वाचन समेतका आधारमा अङ्क प्रदान गरी नतिजा सार्वजनिक गरिएको निर्णायक मण्डल संयोजक निमेष निखिलले बताए ।
उत्कृष्ट कविताका कविहरूलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान र परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले नगदसहित कदरपत्रले सम्मान गरेका थिए ।
३ सदस्यीय निर्णायक मण्डल मण्डलमा चितवनका कवि भूपिन खड्का, काठमाडौँकी कवि डा. विन्दु शर्मा र हेटौँडाका कवि निमेष निखिल रहेका थिए ।
मन्त्री मोक्तानले युवाहरू लेखन, वाचन लगायत साहित्य सिर्जनामा लाग्नु सकारात्मक पाटो रहेको बताईन । उपाध्यक्ष चौलागाईँले पढ्ने मान्छेमा लेख्ने क्षमता हुने हुँदा पुस्तक पढ्नका लागि प्रेरित गर्नुपर्ने र यस अभियानमा सरिक सबै लेखकलाई धन्यवाद दिएका थिए।
विशिष्ट अतिथि कवी विप्लव प्रतिक र पूर्व सभासद् अनन्त पौडेल रहनु भएको कार्यक्रममा मकवानपुरका सम्पूर्ण साहित्यिक संस्थाबाट प्रतिनिधित्व गर्दै सर्जक सञ्जालका संयोजक तथा कविताका निर्णायक निमेष निखिलले मन्तव्य ब्यक्त गरेका थिए । सङ्गम अध्यक्ष डीबी बर्तौलाले मन्तव्यकका क्रममा साहित्य सङ्गमले साहित्य क्षेत्रको उन्नयनका लागि गुणात्मक कार्यक्रमहरू गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
युवा पुस्तामा कविता क्रेज सत्रको बहसमा समीक्षक घनश्याम घिमिरे, कविद्वय केशव सिलवाल र सीमा आभास सहभागी रहेका थिए । बहसलाई सङ्गम अध्यक्ष बर्तौलाले सहजीकरण गरेका थिए ।
यसैगरी एकल कविता वाचन सत्रमा कवि विप्लव प्रतीकले १० कविता वाचन गर्दा सुनाउदा उपस्थित दर्शक मग्न भएको थिए । सङ्गम उपाध्यक्ष सानु खनालले पूर्व पत्रकार, गीतकार, अनुवादक, रङ्गकर्मीका साथै युवा पुस्ताका रोजाइका कविमध्ये एक भएकोले कार्यक्रमको एक महत्वपूर्ण हिस्साका रूपमा विप्लवलाई उपस्थित गराइएको बताए ।
पठन संस्कृतिमा टेवा पुर्याउन किताबघर हेटौँडाले पुस्तक प्रदर्शनी समेत कार्यक्रम भरी गरेको थियो । सर्जकहरूले प्रदर्शनीबाट आफ्नो रोजाइका पुस्तकहरू सङ्कलन गरेको किताब घर संचालक छवि अनित्यले जानकारी दिए ।
मकवानपुर । युवा बचत तथा ऋण सहकारी संस्थाको बचत रकम १८ करोड ८ लाख ११ हजार ५ सय ७१ रुपैयाँ पुगेको छ । गत वर्षको शेयर सदस्य संख्या २ हजार २ सय ३६ बाट वृद्धि गरी २ हजार ५ सय ९२ पुऱ्याईएको संस्थाले जनाएको छ ।
शनिबार भएको साधारण सभामा यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले सहकारीहरू महिलाको जिवनस्तर उकास्न सहयोगी हुनुपर्ने बताएकी छिन् । युवा बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा प्रदेश सभा सदस्य श्रेष्ठले यस्तो बताएकी हुन् ।
साधारण सभामा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम शर्मा पौडेलले सहकारी घर आँगनको बैंक भएको बताए । रोजगार सिर्जना गर्न देखि व्यवसायिक प्रगति पनि गरेको उनले बताए । हेटौंडा उपमहानगरपालिकाको नीति विधि र सिद्धान्तसंग मेल नखाएमा नगरपालिकाले कुनै पनि हालतमा नछाड्ने पौडेलले बताए । “सहकारीले ऋण, बचत व्याज मात्रै हैन, आम्दानीमा जोड्ने नीति ल्याउनु पर्छ, मन्दीमा सहकारीको भूमिका के हो ?” पौडेलले भने । सहकारीले काम गर्ने बानीको विकास गर्न पर्ने उनले बताए ।
कार्यक्रममा सहकारी अध्यक्ष राजुप्रसाद गौतमले आर्थिक वर्ष २०८०/२०५१ को वार्षिक लक्षित कार्यक्रमहरु प्रस्तुत गरेका थिए । यस आवमा सहकारीले शेयर सदस्य २ हजार ५ सय ९२ बाट वृद्धि गरी ३ हजार १ सय पुन्याउने, संस्था अभिकर्ता भई सदस्य तथा कर्जा बिमा कार्य गरिने, सहकारीका कर्मचारीहरुलाई १ लाख, २ लाख र ७ लाखको विमा संस्थाले गरिदिने, काउन्टर तथा रुट विमा गरि सुरक्षाको व्यवस्था गरिने, बैंक, वित्तिय संघ संस्था संगको सहकार्य र कारोबारलाई निरन्तरता दिईने, सुविधाकर्जा वापत सदस्यको जम्मा बचतको ८० प्रतिशत जुनसुकै बेलामा पनि उपलब्ध गराईने र सो कर्जामा सेवा शुल्क नलाग्ने, कर्जा लगानीको सिमा संस्थाको प्राथमिक पुजिकोषको आधारमा नियमानुसार गरिने योजना रहेको अध्यक्ष गौतमले बताए । यसैगरी संचालक समिती, उप समिती तथा शेयर सदस्यलाई उत्कृष्ट सहकारी अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरिने गौतमले बताए । १५ हजार शेयर रकम नपुगेका सदस्यलाई पुर्याउनका लागि पहल गर्दै शेयरको माथिल्लो सिमा एक लाखसम्म प्रति सदस्य शेयर दिइनेछ । कर्जाको समय सिमालाई कर्जाको प्रकृति हेरि १ वर्ष देखि १० वर्षसम्मको समय सिमा कायम गरिएकोछ । सहकारीले विभिन्न बिधाम उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान समेत गरेको छ ।
मकवानपुर । पत्रकार शुद्धिकरण अभियान भनेर आस्थाको आधारमा सदस्यता नवीकरण गरिएको भन्दै प्रदेश कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको हेटौंडामा रहेको कार्यालयमा तालावन्दी गरेको हो ।
पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण जनाउँदै तालावन्दी गरेको हो । चौतारी बागमती प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा प्रेस चौतारीका केन्द्रीय सदस्य हरि हुमागाई, चौतारी बागमती प्रदेश कमिटीका महासचिब र सदस्यहरु, चौतारीका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतकाले महासंघको कार्यालयमा अनिश्चित कालका लागि तालावन्दी गरेका हुन् ।
महासंघमा नेतृत्वमा रहनेहरु र पदाधिकारीहरुले आफ्नो संगठन निकट निष्कृय पत्रकारहरुको सदस्यता नवीकरण गर्ने तर प्रेस चौतारीमा आस्था राख्ने क्रियाशिल पत्रकारहरुको सदस्यता नवीकरण नगर्ने गरी प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशिल पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्ने मनसाय रहेको प्रेसचौतारीले ठहर गरेको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सदस्यताको विषय टुंग्याउनु अघि संगठनहरुसँग बसेर गरेको सहमति लत्याएको छ । चौतारीसंग सहमतिको प्रयास गरिएको प्रपञ्च रचेर आफ्नो मनोगत निर्णय कार्यान्वयन गराउन सिफारिस गरेको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसको घोर बिरोध रहेको कार्यबाहक अध्यक्ष खतिवडाले बताए ।
जिल्ला समितिबाट सर्वसम्मत सहमति भई सदस्यता नवीकरण गर्न सिफारीस गरिएका पत्रकारहरुको नामावली काटेर जिल्लाबाट सिफारिस नभएकाहरुको नाम प्रदेश समितिबाट थप्ने कार्य भएको खतिवडाले बताए । केन्द्रीय समितिबाट जारी भएको मापदण्डलाई धुलीसात बनाउँदै प्रदेश समितिले मनोगत रुपमा गरेको सिफारिस कार्यान्वयन नगर्न चौतारीले केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ ।
प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता नदिने र सदस्यता नवीकरण नगर्ने महासंघ प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा खल्तीका व्यक्तिलाई नयाँ सदस्यता पनि दिने, निष्कृय पत्रकारहरुको नवीकरण पनि गर्नेगरी रचिएको षडयन्त्र प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीलाई कुनै हालतमा स्वीकार्य नभएको तालावन्दी पछी जारी बिज्ञप्तीमा उल्लेख छ ।
महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने प्रेसचौतारीले जनाएको छ । महासंघले पत्रकारहरूको सदस्यता बारे हिजो शुक्रबार नामावली सार्वजनिक गरेको थियो ।

मकवानपुर । ‘हेटौंडा साइकल रन’ दोश्रो सस्करण २०८० को उपाधी आशिष थापा मगरले हात पारेका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार भएकाे रन प्रतियाेगितामा सहभागीलाई पछि पार्दै उपाधी हेटौंडा–६ का आशिषले हात पारेका हुन् ।
प्रथम भएका आशिषले नगद ५० हजार रुपियाँ प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौंडा–६ का हरेराम राई द्वितीय ह्ँदा, हेटौंडा–२ का विबै सिं मोक्तान तृतीय स्थान बनाउन सफल भए । यसैगरी हेटौंडा–४ का राजिव ठाकुर र प्रदिप थापाले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । साइकल रनमा द्वितीय भएका राईले ३० हजार, तृतिय भएका मोक्तानले २० हजार हात पारेका छन् । प्रतियोगितामा ठाकुर र थापाले प्रोत्साहन पुरस्कार स्वरुप ५/५ हजार रुपियाँ हात पारेका आयाेजकले जनाएकाे छ ।
यसैगरी प्रतियोगितामा सहभागी भएका महिलाहरुलाई प्रोत्साहन स्वरुप २/२ हजार रुपियाँ पुरस्कार प्रदान गरिएकाे थियाे । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साईकल रन कान्तिलोकपथ हुँदै शिवम सिमेन्ट रोड, हेटौंडा–फापरवारी सडक हुँदै नागश्वती, कमाने, गर्दोही हुँदै हुप्रचौरमा आइपुगेको थियो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र हेटौंडा उपमहानगरपलिकाका नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै समन्वय समितिका प्रमुख घलानले स्वास्थ्थका लागि साईकल यात्रा उपयोगी रहेकाले दैनिक जिवनमा बिलासिताका साधन छोडेर साईकल यात्रामा जोड दिन जरुरी रहेको बताए । उनले उपमहानगरले थालेको अभियानलाई सार्थक बनाउँन नगरवासीको सहयोग आवश्यक रहेको भन्दै नियमित साईकल यात्राले मानव जिवनमा फाईदा पुग्ने बताए ।
उपमहानगरपालिकाले गत बर्षबाट प्रतियोगिताको सुरुवात गरेको हो । उपमहानगरले नगरवासीलाई साईकलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्य अनुसार प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएकाे छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले खानेपानीको उपभोग गर्ने नगरवासीका लागि दिएको सुविधाबाट हेटौंडा–१६ शक्तिका बासिन्दा लाभान्भित भएका छन् । १७ बर्ष अघि गठन भएको शक्ति खानेपानी तथा सरसफाई उपभोक्ता समिति खानेपानी बाेर्डमा हु्तान्तरण भएसँगै हटौडा १६ शक्तिका ३ हजारले निःशुल्क खानेपानी उपभाेग गर्न पाउने भएका छन् ।
यस अघि उपभाेक्ता समितिबाट बितरण भएको पानीको उपभोग गरेवापत न्यूनतम १ सय रुपियाँ तिर्दै आएका ३ हजार लाभग्राहीले निःशुल्क खानेपानीको उपभोग गर्न पाउने छन् । शनिबार शक्तिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी बोर्डमा हस्तान्तरण भएसँगै स्थानीय लाभान्वित भएका हुन । उपमहानगरले दिँदै आएको खानेपानीको सुविधाबाट लाभान्वित हसने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
उपभोक्ता समितिबाट प्रयोग भएको पानी उपभोग गरेवापत न्युनतम दश हजार लिटर बराबर एक सय रुपियाँ तिर्ने गरेका उपभोक्ता उपमहानगरले दिएको सुबिधा बाट लाभाम्वित हुने भएको समितिका सचिब प्रेमप्रसाद पनेरुले बताए । शक्तिमा रहेका ६ सय ५७ घरधुरीले ५ सय ५७ धाराबाट खानेपानीको उपभोग गर्दै आएका छन् । समिति बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले नगरवासी समक्ष गरेको बाचा पुरा गर्दै गएको भन्दै खानेपानी र स्वास्थ्य बिमासँगै अब बिधुतमा दिने छुटलाई कार्यान्वयनको चरणमा रहेको बताइन् ।
‘बोर्डले शक्ति खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई लिएसँगै खानेपानीको मुहानलाई सदुपयोग गर्दै नगरको पुर्विक्षेत्रका बासिन्दालाई शुद्ध खानेपानी दिने कार्यमा थप व्यवस्थापन गरिदै लगिने छ’ अध्यक्ष प्रताप बिष्ट भने ‘शक्तीमा रहेको खानेपानीको श्रोतको प्रयोग गर्दै हेटौंडा–१८ फुर्केचौरदेखि कमाने सम्मका उपभोक्तालाई पानी खुवाउने लक्ष्य छ ।’ बोर्डले उपमहानगर क्षेत्रमा मंहगो शुल्क तिरेर खानेपानीको उपभोग गरेका नगरवासीलाई न्यून शुल्कमा खानेपानी बितरण गर्न १५ उपभोक्ता समिति बोर्डमा लिई सकेको छ । उपमहानगर क्षेत्रमा खानेपानीको श्रोत व्यवस्थापन गर्दै खानेपानी बोर्डले चालु आर्थिक बर्ष २०८०/०८१ सम्ममा २६ हजार धारबाट पानी उपभोक्ता माझ खानेपानी पु¥याउदै आएको जनाएको छ ।
उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बिश्वकर्माको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइराला, वडा सदस्य राजनप्रसाद दाहाल, संगिता बिश्वकर्मा, बोर्डका सदस्य इन्द्र नेपाल, बोर्डका निमित्त निर्देशक बिष्णुप्रसाद सापकोटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
