मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । मकवानपुरको हेटौंडामा भएकाे एन्फाकाे विशेष साधारणसभामा विहीबार नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भई मतदान भएको थियो ।
मतदानमा ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा मतदान गरेका छन् । एन्फाका कूल ८७ मतदातामध्ये ५३ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसमध्ये ५२ जनाले अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुने अर्थात अविश्वासको प्रस्तावको विपक्षमा भोट हाले भने १ भोट बदर भएको थियो । अध्यक्ष हटाउने पक्ष अर्थात अविश्वासको प्रस्तावको पक्षमा भने एक भोट पनि परेन । साधारणसभामा २ सय १० जना प्रतिनिधिको उपस्थिति रहेकाे भएपनि ८७ जना सदस्यसँग मात्र मताधिकार रहेकाे थियाे । नेम्वाङ एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् ।
अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्षमा रहेका भनिएका ३४ मतदाताले भने मतदान प्रक्रिया नै बहिष्कार गरेका छन् । उद्घाटन सत्र नै नराखी विशेष साधारणसभाकाे कार्यक्रम सुरु गरिएकाे थियाे । साधारण सभामा विवाद हुने सक्ने आंकलन गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएकाे थियाे ।
नेम्वाङ वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै उनीसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेश गरेका थिए । उनीहरूले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय सहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।
विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् । एन्फाको असोज १७ गते बसेको बैठकले अविश्वासको प्रस्ताव सामना गर्न मकवानपुरमा विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।
मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा सुरु भएको छ । विशेष साधारणसभा हेटौंडा-४ मा सुरु भएको हो । विशेष साधारणसभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेन्डा रहेको एन्फा केन्द्रीय समिति सदस्य टीकाराम लामाले जानकारी दिए ।
कुल १ सय १० प्रतिनिधि रहेकोमा साधारण सभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छन् । आजको विशेष साधारणसभामा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि मतदान हुने बताइएको छ । कडा सुरक्षा घेरा वीच विशेष साधारण सभा सुरु गरिएकाे छ । विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीसँग सम्बन्धी निर्णयको छिनोफानो गर्ने बताइएको छ ।
नेम्वाङ वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै उनीसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेश गरेका थिए । उनीहरूले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका हुन् । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय सहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् । विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् ।
नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारण सभाले मतदान गर्नेछ । एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मतकाे आवश्यक पर्नेछ ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकामा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । हेटौंडा–१९ तिनताप्केमा मोटरसाइकल दुर्घटना हुँदा मनहरीका संजिव बलकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मनहरी गाउँपालिका वडा नम्बर ३ डाेटेका २७ वर्षीय बलकाे उपचारकाे क्रममा मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । बुधबार बिहान पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिद्धकालिबाट हेटौडा १९ बस्तिपुर तर्फ आउँदै गरेको बा प्र ०२–०३९ प ७३०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएकाे बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
दुर्घटना हुँदा चालक संजिव र माेटरसाइकल सवार ३१ वर्षीय दीपक सिंह बल गम्भिर घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा ल्याइएकाेमा मोटरसाइकल चालक संजिवको उपचारको क्रममा बुधबार बेलुका मुत्यु भएको प्रहरीले जनाएको छ । घाइते दीपककाे उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मेची–महाकाली साइकल यात्रामा सहभागी १३ जनाले १० दिनमा मेचीमहाकालीकाे दुरी पार गरेकाे छ । १२ दिनमा मेचीमहाकालीकाे १०२८ किमि दुरीकाे यात्रा पुरा गर्ने लक्ष्यका साथ साइकलयात्रा सुरु गरेका थिए ।
हेटौंडाका साइकलप्रेमी ११ जना र बुटवलका २ जना गरी १३ जनाले समूहले कात्तिक ११ गते शनिबार झापाको मेचीनगरबाट सुरु गरेको साइकलयात्रा मंगलबार समापन गरी बुधबार हेटौंडा फर्केको हो ।
कोजाग्रत पूर्णिमाको दिन बिहान ८ बजे मेचीनगरस्थित नेपाल–भारत सीमानाकाको मेची पुलबाट साइकलयात्रा सुरु गरेको टोलीले १० दिनमा यात्रा सम्पन्न गरी ११ औ दिनको बिहान कञ्चनपुरको गड्डाचौकी भन्सार नाकामा पत्रकार सम्मेलन गरी यात्रा समापन भएको जनाएका थिए ।
स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने सकारात्मक सन्देस प्रवाह गर्दै हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा यात्रा सुरु गरिएको थियो ।
सोसाइटीका उपाध्यक्ष राजु थापामगरका अनुसार यात्राअवधिमा बिभिन्न जिल्लाका साइकल साथीहरुले सहयोग गरेका थिए । आगामी दिनमा निर्माण गरिने सार्वजनिक यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ, अपाड्डमैत्री लेन समाबेश गर्न पनि सोसाइटीले आग्रह गरेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
साइकलयात्रामा १ जना महिलाको पनि सहभागिता रहेको थियो । हेटौंडा–४ की सीता श्रेष्ठले मेचीमहाकाली साइकलयात्रा सफलतापूर्वक सम्पन्न गर्ने मकवानपुरको पहिलो महिलाको रुपमा परिचय बनाएकी छिन् । ३५ वर्षदेखि ६५ वर्षसम्मका १३ जनाले साइकलयात्रा गरेका थिए ।
२०५४ माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेचीमहाकाली यात्रा गरेका थिए । भिजिट नेपाल ९८ को अवसरमा हेटौंडाको सहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि ब्यक्तिगत खर्चमा उनीहरुले साइकलयात्रा गरेका थिए । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकलयात्रा गरी बीचैमा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गरेका थिए ।
टोलीमा लक्ष्मीचरण श्रेष्ठ, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, सुशीलकुमार चौधरी (बुटवल), सुरज खत्री (बुटवल), विकास बानियाँ, सीता श्रेष्ठ रहेका थिए ।
साइकलयात्रामा सहभागी सदस्यमध्ये लक्ष्मीचरण श्रेष्ठ र भानुभक्त आचार्यले २५ वर्षको अन्तरालमा दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गगरेका छन् ।
२५ वर्षअघिको पूर्वपश्चिम राजमार्गको अवस्था र बर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियर सहितको साइकल उपलब्ध भएका कारण १० दिनभित्र यात्रा सम्पन्न गर्न सकिएको उनीहरुले बताएका छन् । ब्यक्तिगत खर्चमा उनीहरुले मेची–काली साइकलयात्रा गरेका हुन् ।
मकवानपुर । बागमती प्रदेशमा कृषि क्षेत्रबाट उत्पादन गरेको सवै वस्तु ६६ दशमलव ४ प्रतिशत कृषकले घरायसी उपभोगमा खर्च गर्ने गरेका छन् । कृषि पेशबाट प्राप्त हुने केही कृषि उपच बिक्री गर्ने २५ प्रतिशत रहेकाे एक तथ्याङ्कले देखाएकाे छ । यस्तै केही घरायसी प्रयाेजनकाे लागि राख्ने बाँकी सबै बिक्री गर्ने ७ दशमलव ४ प्रतिशत रहेका छन् भने कृषिबाट उत्पादिन सबै वस्तु बिक्री गर्ने शुन्य दशमलव ९ प्रतिशत रहेका छन् ।
हेटाैडामा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा बामगमती प्रदेशमा करिव ५६ प्रतिशत परिवार कृषि आम्दानीले खान नपुग्ने रहेका छन् । तथ्याङ्क अनुसार प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान नपुग्ने परिवार ५५ दशमलव ९ प्रतिशत रहेकाे देखिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने ४४ दशमलव १ प्रतिशतमात्र रहेकाे देखाएकाे छ ।
कृषि गणना, २०७८ काे प्रतिवेदनमा उल्लेखित तथ्याङ्क समेटिएकाे छ । नेपाल राज्यभर भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्की बताउँछन । बागमतीमा ७२ दशमलव ६ प्रतिशत परिवारकाे आम्दानीको मुख्य स्रोत कृषि रहेको छ ।
तथ्याङ्क अनुसार कृषिमा पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पाओरट्रिलर प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । तर पनि कृषि पेशालाई प्रमुख पेशकाे रुपमा अपनाउन नसकेकाे तथा झारा टराइ खेती लगाउने प्रचलन बढेकाेले कृषि पेशमा आश्रीत परिवार घट्दै गएकाे देखिन्छ ।
यसैगरी बागमतीमा १४ दशमलव ८ प्रतिशत फलामे हलो, ३० दशमलव ८ प्रतिशत ट्रयाक्टर र १६ दशमलव ७ प्रतिशत पाओरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले जानकारी दिए । तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भएकाे तथ्याङ्कले देखाएकाे छ । तर बाली सघनता भने घटेकाे छ । वर्षमा २ पटक भन्दा बढी बाली लगाउन सकिने अवस्थमामा दाहाेर्याए बाली लगाउने चलन प्रायः हराउन थालेकाेले वर्षमा बढीमा बाली २ पटक मात्रै लगाएको देखिन्छ । बागमती प्रदेशमा १५ लाख ७० हजार भन्दा घरपरिवार संख्या रहेकाेमा ६ लाख ६८ हजार १ सय ७७ कृषक परिवार रहेको निर्देशक कार्कीले बताए ।
उनका अनुसार प्रदेशमा २ लाख ८२ हजार २ सय ९२ हेक्टर जमिन कृषि चलनमा प्रयोग भएको छ । नेपालमा सरदर १ दशमलव ९१ प्रतिशत बाली सघनता रहेता पनि प्रदेशमा भने २ पटक सम्म बाली लगाएको पाइएको कार्की बताउँछन् । प्रदेशमा बगैँचाको रुपमा आँप ५ सय ३२ हेक्टरमा, केरा १ हजार १ सय २० हेक्टरमा, सुन्तला ६ सय ८८ हेक्टरमा, कागती ४ सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको उनले बताए ।
त्यस्तै, प्रदेशमा गाईगोरुको पालन घट्दो छ । २०६८ को गणना अनुरुप घट्दै गइरहेको देखिन्छ । गाईगोरु र राँगाभैसी भन्दा खसीबाख्रा र संगुरबंगुरको संख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा पछिल्लो समय कृषकमा महिलाको संख्या भने बढ्दो क्रममा रहेकाे छ । विगत तीन दशक देखिको तथ्याङ्कले समेत महिला कृषकको संख्यामा बृद्धिभएको निर्देशक कार्कीले जानकारी दिए ।
नेपालमा ३२ दशमलव ४ प्रतिशत महिला कृषकको रुपमा रहेका छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव २ प्रतिशत र पुरुष ६५ दशमलव ८ प्रतिशत रहेका छन् । २०५८ को गणनामा महिला ८ दशमलव १ प्रतिशत र पुरुष ९१ दशमलव ९ प्रतिशत कृषक थिए । युवा जनशक्ति पुरुष पढ्न तथा कामकाे शीलशीलामा विदेसिएकाले समेत कृषीमा महिलाकाे सहभागिता बढ्दै गएकाे अनुमान गरिएकाे छ ।
यसैगरी बागमतीमा ४८ प्रतिशत कृषकले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यको लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल र उन्नत वीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको बताइएकाे छ ।
