मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा सुरु भएको छ । विशेष साधारणसभा हेटौंडा-४ मा सुरु भएको हो । विशेष साधारणसभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेन्डा रहेको एन्फा केन्द्रीय समिति सदस्य टीकाराम लामाले जानकारी दिए ।
कुल १ सय १० प्रतिनिधि रहेकोमा साधारण सभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छन् । आजको विशेष साधारणसभामा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि मतदान हुने बताइएको छ । कडा सुरक्षा घेरा वीच विशेष साधारण सभा सुरु गरिएकाे छ । विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीसँग सम्बन्धी निर्णयको छिनोफानो गर्ने बताइएको छ ।
नेम्वाङ वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै उनीसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेश गरेका थिए । उनीहरूले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका हुन् । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय सहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् । विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् ।
नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारण सभाले मतदान गर्नेछ । एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मतकाे आवश्यक पर्नेछ ।

