फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनपछी पहिलाे पटक आज विहीबारबाट संघीय अधिवेशन हुदैछ । प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन हुन लागेकाे हो । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुबै सदनको पहिलो बैठक दिउँसो २ बजेका लागि आह्वान गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा वालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ ।
शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई जानकारी गराइनेछ । त्यसपछि सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ ।
सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको व्यवस्था छ । सोहीअनुसार केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूलाई मनोनयन गर्नेछन् ।
त्यसपछि अधिवेशन आरम्भ भएको विषयमा राजनीतिक दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलको बैठकले तय गरेको छ । बुधबार भएको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति पनि तय गरेको छ । जसअनुसार आगामी आइतबार सभामुखका लागि निर्वाचन हुनेछ ।
संविधानको धारा ९१ मा ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने’ व्यवस्था छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
संविधानमा लेखिएको छ, ‘तर प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन । सभामुखको निर्वाचन गर्ने दिन तोकेपछि बिहीबारकै बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गर्ने कार्यसूची छ ।
जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश छन् । त्यसपछि ज्येष्ठ सदस्य केसीले पूर्वसांसदहरू ऋषिकेश गौतम, मोहम्मद अफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गणेशसिंह ठगुन्ना र गुरुप्रसाद बुर्लाकोटी, नेकपाबाट वर्षमान पुन, श्रम संस्कृति पार्टीबाट आरेन राई र राप्रपाबाट खुस्बु ओली सहभागी थिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् ।
सत्तापक्षविहीन राष्ट्रिय सभा राष्ट्रिय सभा पहिलो पटक सत्तापक्षविहीन बनेको छ । प्रतिनिधिसभामा करिब दुईतिहाइ सिट जितेर सरकार गठन गरेको रास्वपाको प्रतिनिधित्व राष्ट्रिय सभामा छैन । राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बुधबारको बैठकमा सत्तापक्ष नभएको अवस्थामा सिट कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भएको थियो ।
राष्ट्रिय सभा उपाध्यक्ष बस्ने लहरमा मन्त्रीहरू बस्ने र बाँकी लहरमा दलीय हैसियतअनुसार सिट व्यवस्थापन गर्ने सहमति भएको छ । राष्ट्रिय सभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रिय सभा अध्यक्षसहित) छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडा बजार तर्फबाट रातमाटे तर्फ जाँदै गरेको बा प्र. ३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र रातमाटे तर्फबाट हेटौंडातर्फ आउदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा बा. प्र.०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल पछाडि सवार हेटौंडा ९ प्रगतिशील टोल बस्ने १८ वर्षीय एकता वैधको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा हेटौंडातर्फबाट रातमाटे तर्फ जाँदै गरेको ना ६ प ३१४५ नम्बरको ट्रकमा वैद्य ठोक्किएकी थिइन् ।
७६८३ नम्बरको मोटरसाइकल चालक हेटौंडा ४ कर्रा बस्ने १८ वर्षीय रोनित कार्की र अर्को मोटरसाइकल चालक चितवन इच्छाकामना ५ घर भइ हाल हेटौंडा ४ शितलमहल चोक बस्ने २२ वर्षीय पुष्पलाल गुरुङ सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको हेटौंडा अस्पताल उपचार भइ रहेको छ भने मोटरसाइकल, ट्रक र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठक एक हप्ता भित्र सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
काग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बैठकले एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यसैगरी प्रदेशसभाको रिक्त सभामुख पदमा कांग्रेसले दाबी गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, प्रदेश उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले पेश गरेको मस्यौदामा छलफल गरेको छ । सोही मस्यौदाअनुसार ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने विषयलाई सरकारमा सहभागी दुई दलबीच छलफल गरी पारित गर्न सरकारलाई अनुरोध गरिएको छ । मस्यौदाको सुझावमा हाल कायम १३ मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्ने, ७ निर्देशनालयलाई २ मा झार्ने तथा ५ वटा खारेज गर्ने प्रस्ताव गरिएको थियो ।
बैठकले पार्टीभित्र देखिएका आन्तरिक समस्या सहमति र संवादमार्फत समाधान गर्दै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सफल बनाउन दुवै पक्षलाई आग्रह गरेको छ । यसैगरी कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित बहादुरसिंह लामालाई बधाई तथा शुभकामना दिएको छ ।
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषि क्षेत्रमा दिइदै आएकाे अनुदान प्रणालीलाई उत्पादनका आधारमा लागू गरिने बताएका छन् ।
हेटौंडामा शुक्रबारबाट सुरु “बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला” को उद्भाटन गर्दै मन्त्री पौडेलले कृषि क्षेत्रमा दिइदै आएरेकाे अनुदान पूर्ण रूपमा परिमार्जन गरिने घोषणा नै गरेका छन्। मन्त्री पौडेलले हालको अनुदान वितरण प्रक्रियाले वास्तविक किसानलाई लाभ पुर्याउनुको सट्टा अल्छी बनाएको टिप्पणी गरे। उनले अबका दिनमा वितरणमुखी अनुदानलाई निरुत्साहित गर्दै उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिने स्पष्ट पारे।
‘हामी अनुदानको मोडालिटी परिवर्तन गर्दैछौँ,’ मन्त्री पौडेलले भने, ‘किसानले कति उत्पादन गर्छन्, सोही आधारमा राज्यले प्रोत्साहन दिने व्यवस्था मिलाइनेछ। यसले कृषिमा वास्तविक व्यवसायीकरण ल्याउने हाम्रो विश्वास छ।‘ उत्पादनमा आधारित प्रणाली अपनाए पनि युवा स्वरोजगारका कार्यक्रमलाई भने निरन्तरता दिइने उनले बताए। विशेष गरी शैक्षिक प्रमाणपत्र धितो राखेर प्रदान गरिने सस्तो दरको कृषि ऋणलाई यथावत् राखिने मन्त्रीको भनाइ छ। उनले युवाहरूलाई कृषिमा आकर्षित गर्न र पलायन रोक्न सरकारले यो नीति लिएको बताए ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजना, बागमती प्रदेश सरकारको सहयोग र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सुरु भएको उक्त मेलामा ४० वटा स्टलहरू रहेका छन्। प्रदर्शनीमा रैथाने बालीहरु कोदो, जुनेलो, फापर,हस्तकला तथा घरेलु उत्पादन राखिएको थियो । संघका अध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले आयोजित यस मेलामा करिब ५ लाख ७५ हजार १७८ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
चैत १६ गतेसम्म संचालन हुने मेलाले प्रदेशको कृषि अर्थतन्त्रलाई चलायमान बनाउने आयोजककाे अपेक्षा छ।
मकवानपुर। मकवानपुरकाे हेटौंडामा ‘जाऔँ पोखरा’ अभियान सुरु गरिएकाे छ । होटल संघ पोखराको पहलमा ‘जाऔँ पोखरा’ अभियान २०८२ हेटौंडामा आन्तरिक पर्यटनलाई प्रोत्साहनकाे लागि सार्वजनिक गरिएको हाे ।
शुक्रबार हेटौंडामा पत्रकार भेटघाट मार्फत उक्त अभियानकाे औपचारिक जानकारी दिइएको हाे । संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अभियानले विशेषगरी आन्तरिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। यस क्रममा इटहरी, विराटनगर, झापा लगायत पूर्वी नेपालका प्रमुख सहरहरूमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ। अभियान नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाइएको हो।
आयोजकले पछिल्लो समय विश्वव्यापी आर्थिक प्रभावका कारण विदेशी पर्यटक आगमन घटेको उल्लेख गर्दै दिगो पर्यटन विकासका लागि स्वदेशी पर्यटकको भूमिका महत्वपूर्ण हुने बताए। पोखराको होटलकर्मी, पर्यटन व्यवसायी र सञ्चारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनको प्याकेज सार्वजनिकजस्ता गतिविधि समेटिएकाे सुवेदीले जानकारी दिए ।
पोखरामा आयोजना हुने महोत्सवमा सहभागिताका लागि बागमती प्रदेशकाे राजधानी हेटौंडा लगायतका स्थानका बासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभिप्राय पनि अभियानले लिएको बताइएकाे छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै वार्षिक १० लाखभन्दा बढी पर्यटकलाई सेवा दिने लक्ष्य राखिएको छ। भुटान र चीनबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेका छन् भने भारत लगायत अन्य देशमा पनि उडान विस्तारको तयारी भइरहेको छ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखरामा फेवा नव वर्ष महोत्सव, सडक महोत्सव र खाना महोत्सव आयोजना गरिनेछ। साथै भारतीय सहरहरूमा ‘चलिए पोखरा’ अभियान सञ्चालन र अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूमा सहभागिता जनाउने तयारी छ। पोखरालाई ‘पर्यटनको राजधानी’का रूपमा स्थापित गर्न होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने करिब ६० हजार बेड क्षमता रहेको बताइएको छ। यस क्षेत्रबाट १९ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
पोखरामा बन्जी जम्प, जिप लाइन, प्याराग्लाइडिङ, केबलकार र अल्ट्रालाइट जस्ता साहसिक गतिविधिहरू उपलब्ध रहेको उल्लेख गर्दै आयोजकले प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा पोखराको प्रवर्द्धन गर्न आग्रह गरेका छन्। नेपाली कला र संस्कृतिको संरक्षण र सम्वर्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले अभियानअन्तर्गत चैत २९ देखि वैशाख १ गतेसम्म फेवा ताल किनार लेकसाइड क्षेत्रमा २१औँ फेवा नव वर्ष महोत्सव आयोजना गर्ने भएकाे छ। सो अवसरमा आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल दरमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
हाल अमेरिका र इजरायल तथा इरान युद्धका कारण मध्यपूर्वमा भइरहेको तनावका कारण कतिपय बाह्य पर्यटकहरूले नेपाल घुम्ने कार्यक्रमलाई रद्द गरिरहेको बेला सो महोत्सवले आन्तरिक पर्यटकलाई आर्कषित गर्न सकेमा पोखराको पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा आयोजकले राखेकाे छ ।
आन्तरिक पर्यटन प्रवर्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ वर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई संघले निरन्तरता दिदै आएकाे छ ।