मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठक एक हप्ता भित्र सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
काग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बैठकले एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यसैगरी प्रदेशसभाको रिक्त सभामुख पदमा कांग्रेसले दाबी गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, प्रदेश उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले पेश गरेको मस्यौदामा छलफल गरेको छ । सोही मस्यौदाअनुसार ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने विषयलाई सरकारमा सहभागी दुई दलबीच छलफल गरी पारित गर्न सरकारलाई अनुरोध गरिएको छ । मस्यौदाको सुझावमा हाल कायम १३ मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्ने, ७ निर्देशनालयलाई २ मा झार्ने तथा ५ वटा खारेज गर्ने प्रस्ताव गरिएको थियो ।
बैठकले पार्टीभित्र देखिएका आन्तरिक समस्या सहमति र संवादमार्फत समाधान गर्दै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सफल बनाउन दुवै पक्षलाई आग्रह गरेको छ । यसैगरी कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित बहादुरसिंह लामालाई बधाई तथा शुभकामना दिएको छ ।

