मकवानपुर । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।
मङ्सिरमा भएको एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका बादल पूर्वमाओवादी नेता हुन् । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अध्यक्ष केपी ओली सहित प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएपछि दलको नेता बन्ने अवसर उनले पाए । यो पटक बादल समानुपातिक बन्दसूचीमा रहेका थिए ।
- को हुन् बादल ?
वि.सं. २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मिएका उनी २०३१ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय सहभागी भएका थिए । चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी-एजी अध्ययनका क्रममा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएपछि बादल माओवादी आन्दोलनलाई अगाडि बढाउन सक्रिय भए । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र आन्दोलन गर्दा उनी सैन्य योजनाकार थिए । पुराना कम्युनिस्ट नेता अमिक शेरचनबाट बादलले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
२०७८ सालमा चितवनको सौराहमा भएको १०औँ महाधिवेशनमा उनी उपाध्यक्ष बनेका थिए । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुई तिहाइ नेतृत्वको सरकार बनाएको बेला पार्टीको तर्फबाट संसद्मा प्रभावकारी भूमिका निर्वाचन गर्नुपर्ने चुनौती बादललाई रहेको छ ।

