मकवानपुर । मकवानपुरकाे हेटौंडा टिसिएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लव र चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लव भिड्ने भएका छन् ।
सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि यी दुई टिम भिड्ने भएका हुन् । एपिएफ ११ अंकका साथ समूह विजेता र न्यू डाइमण्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनलमा प्रवेश गरेका हुन् । समूह चरणको अन्तिम खेलमा न्यू डाइमण्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लवलाई हराएको हो ।
न्यू डाइमण्डले आर्मीलाई १६–२५, २५–१९, २५–१६ र २५–२३ को सेटमा हराएको हो । खेलको प्लेयर अफ द म्याच न्यू डाइमण्डकी जेनिसा विक घोषित भइन् । यस्तै फाइनल प्रवेश गर्ने क्रममा एपिएफले प्रहरीलाई २३–२५, २५–१९, २५–२१ र २५–१६ को सेटमा हराएको हो । खेलको प्लेयर अफ द म्याच एपिएफकी निरुता ठगुन्ना घोषित भइन् ।
फाइनल खेल सोमबार दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ । हेटौंडामा सञ्चालन भैरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो । प्रतियोगितामा चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव र मकवानपुरको छहारी युवा सेवा समाजको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सेमिफाइनलबाट बाहिरिएका दुई टिमले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिए ।
सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरको साधारणसभा, अध्यक्षमा पुनः राम बिष्ट चयन
Tags: No Comments
मकवानपुर । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला कार्यसमिति मकवानपुरको १९औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशन शनिबार भएको छ ।
संस्थाका अध्यक्ष राम बिष्टको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै सर्वसम्मत पारित समेत गरिएको थियो ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि रिजालले संस्थाले समाजमा प्रहरी र समुदाय बिच पुलको रुपमा रहेर काम गरेको बताए । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि सबैको हितकारी संस्था सामुदायिक सेवा केन्द्र रहेको उनले बताए । केन्द्रले गरेका कार्यको प्रसंशा गर्दै उनले थप सहजीकरण गर्न र संस्थाको गतिविधी बढाउन आग्रह समेत गरे ।
“भय रहित, स्वच्छ, सृजनशिल, समाजको निर्माण हाम्रो अभियान” उदेश्यकासाथ २०५८ सालमा स्थापना भएको संस्थाले समाजका बिकृती न्यूनीकरण गर्न विभिन्न कार्य गर्दै आएको छ । सामुदाय र प्रहरीको सहकार्यतामा केन्द्रले स्थानीय समुदायमा हुने घरेलु समस्या, स्वास्थ्य उपचारको लागि सहजीकरण, घरायसी झैझगडा न्यूनीकरण सहजीकरण, सार्वजनिक यातायातका यात्रुका समस्याहरु, मानव बेचविखन, लागुपदार्थ तथा मादक पदार्थ विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रम लगायत समाजकाे हितमा कार्य गर्दै आएको अध्यक्ष विष्टले बताए ।
केन्द्रको आठौं अधिबेशनबाट पुन राम बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आगामी ३ वर्षका लागि बिष्टको अध्यक्षतामा २४ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसैगरी उपाध्यक्षमा विनोद लामिछाने, सचिवमा रमिला सापकोटा, सहसचिवमा महेश्वरमान श्रेष्ठ र कोषध्यक्षमा रामप्रसाद कोईराला सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा सदस्य अच्युतराज मिश्र, विशलाल खड्गी, नवराज कोइराला, बिना थिङ्ग,रिना सुवेदी, सिता राम पौडेल,नारायण खतिवडा,केशव प्रसाद न्यौपाने, लाल बहादुर प्रसाद कुर्मी, रामचन्द्र ढुंगाना,ज्ञानेन्द्र देवकोटा,मिलन सेढाई,रोशन खनाल,लोकनाथ पुडासैनी,राज कुमार गौतम,कपिल अर्याल,मनोज जलान,केदार पुडासैनी, सुर्य बहादुर रोक्का निर्विरोध निर्वाचित भएको छन् ।
कार्यक्रममा जिसस मकवानपुरका निर्वतमान प्रमुख एवम् संस्थाका मानार्थ सदस्य रघुनाथ खुलाल, जिसस मकवानपुरका सदस्य बिरेन्द्रकुमार लामा, संस्थाका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरू, आजिवन सदस्यहरू, संमरक्षकहरू, सल्लाहकारहरू, मानार्थ सदस्यहरू, संस्थापक, कानुनी सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, लगायत विभिन्न राजनैतिक एवम् सामाजिक संस्संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।
मकवानपुर । मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा पुस्कल नेपाल चयन भएका छन् । संघको शनिबार हेटौँडामा भएको प्रथम वार्षीक साधारण सभा तथा अधिवेशनले नेपालको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाबाट समितिको प्रथम उपाध्यक्ष केशव मुड्वारी, द्वितीय उपाध्यक्ष भोजराज पराजुली, सचिव अमीर चौलागाईं, कोषाध्यक्षमा अमृत मगर, सचिब अर्चना कार्की, सदस्यमा रोशन खनाल, मिलन अधिकारी र केशव हुमागाई चयन भएका छन् ।
निवर्तमान अध्यक्ष विज्ञान रिमालको अध्यक्षता तथा संघका पूर्वअध्यक्ष एवम् केन्द्रीय समिति सहकोषाध्यक्ष किरणबाबु न्यौपानेको प्रमुख आतिथ्यमा साधारणसभा भएकाे हाे । सभामा पूर्वअध्यक्षद्वय नवीन पौडेल र अजित थापाको आतिथ्यता रहेको थियो ।
साहित्य सङ्गम मकवानपुरको ३३८औं सन्ध्या, अक्षयकोष सहयोगी सम्मानित
Tags: No Comments
मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३३८औं नियमित साहित्य सन्ध्या शनिबार हेटौंडामा भएको छ । साहित्य सन्ध्यामा संगमको अक्षयकोष निर्माण अभियानमा सहयोग गरेका ६४ जनालाई सम्मानित गरिएको छ । ३३८ औं साहित्य सन्ध्यामा सहयोगी दातालाई सम्मानसहित, रचना वाचन र गायन कार्यक्रम गरिएकाे हो । सङ्गमको नियमित गतिविधि सञ्चालनार्थ अक्षयकोष निर्माण अभियानमा सहयोगी दातालाई सम्मान गरिएको सङ्गमले जनाएको छ ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा सचिव नविन सिग्देलले साहित्य सङ्गमको यस अभियानमा सम्बन्धित वडाको साहित्यिक, शैक्षिकलगायतका गतिविधि सञ्चालन र सञ्चारमा महत्वपूर्ण भूमिका खेलेकाे बताए । उनले सबै साहित्यिक संस्थाहरूलाई आफ्नै कार्यक्रमका रूपमा अपनत्व लिँदै निरन्तर सरसहयोग र सहकार्य गर्दै आइरहेको बताउँदै सङ्गमको अक्षयकाेष निर्माण अभियान १० लाख पुर्याउने लक्ष्य नपुग रकम सहयोग गर्ने जानकारी दिए । संङ्गमले संचालन गरेकाे कार्यक्रम निरन्तरता दिन सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष सिग्देलले बताए । उनले विभिन्न विद्यालयबाट सहभागी नवसर्जकहरूलाई लेखनका लागि हौसला दिन र नयाँ पाठक तथा स्रोता बनाउन समेत सर्जकहरूसँग आग्रह गरे ।
५ हजार रूपैयाँमाथि सहयोगी दाताहरूलाई सम्मान गरिएको सङ्गम अध्यक्ष डीबी बर्तौलाले बताए । ‘सङ्गम मकवानपुरको नयाँ कार्यसमिति चयनपछि वाचन, विमोचन, बहस, कार्यशाला लगायतका कार्यक्रम सञ्चालनका लागि अक्षयकोष बनाउन अभियानै चलाइएकाे हाे उनले भने ‘अक्षयकाेष स्थापना हुन सके संस्थाका गतिविधिले निरन्तरता पाउने हुँदा पहिलो चरणमा दाताहरू सम्मान गरिएको छ ।’ शनिबारकाे कार्यक्रममा ६४ जना सहयाेगीलाई सम्मानित गरिएकाे र बाँकी सहयोगीहरुलाई अर्काे कार्यक्रममा सम्मान गरिने उनले जानकारी दिए । केही दाताहरुले नाम उल्लेख नगर्ने र सम्मान ग्रहण नगर्ने शर्तमा समेत सहयोग दिनु भएको उनले बताए ।

कार्यक्रममा सहयोगी दाताहरू सुदर्शनप्रसाद अधिकारी, दिनेश भण्डारी, विनोद सुवेदी, अमुल श्रेष्ठ, डीबी बर्तौला, ठाकुरराम भण्डारी, सुभाषचन्द्र पौडेल, विश्वास क्षेत्री, दीपक गौतम, सुदीप बर्तौला, मनोज पोखरेल, उमा मैनाली, भानुभक्त आचार्य, रामहरि न्यौपाने, उमेश आचार्य, रामकृष्ण तिमल्सिनालगायतलाई सम्मानित गरिएकाे हाे । साहित्य सर्जक तुलसी घिमिरेले साहित्य सङ्गम सुरूवातकाे प्रसङ्ग राख्दै कविता वाचन गरेकाे कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको तर्फबाट बालजागृती ईङ्लिश सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदी र सुदर्शनप्रसाद अधिकारीले मन्तव्य राखेका थिए ।
बालजागृति स्कुलका विद्यार्थीहरू सायुज्य देवकोटाले भजन शिरोमणि भक्तराज आचार्य तथा प्रसिद्धी लामिछानेले स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको गीत गाएका थिए। देवकाेटा र लामिछानेकाे गायनलाई सङ्गीत प्रशिक्षक घनश्याम ढकाल र मनोज शाहीले सहजीकरण गरेका थिए । साहित्य सर्जकहरू सुवास सजल, रचना भण्डारी, रजनी पौडेल, कृतिका लौडारी, स्वस्तिका बानियाँ, इभानी रानाभाट, छवि अनित्य, किसन पौडेल, देवराज तिवारी, सुदर्शन अधिकारी, चेतप्रसाद पौडेल, विष्णु गौतम, ठाकुरराम भण्डारी, शोभा थापा, मिथिला अधिकारी, केशव न्यौपानेलगायतले साहित्यक रचना वाचन गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता, साहित्यकार तुलसी घिमिरेकाे विशिष्ट आतिथ्यता र सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा भएकाे कार्यक्रमलाई सङ्गम सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रममा भावना सापकोटा, भवानी तिमल्सिना, श्रीराम अधिकारी, मुक्तिगोविन्द वैद्य, दिनेश भण्डारी, राजकुमार लामिछाने, मधु ढुङ्गाना, ईन्द्र नेपाल लगायतका साहित्य सर्जक, साहित्यसेवीको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटाैंडामा जारी खेलकुद तथा व्यापार महाेत्सवमा शानिबार लोकगायिका बबिता बानियाँ जेरी र लोक गायक प्रदीप रोक्काले प्रस्तुती दिएका छन् ।
उनीहरुकाे लाइभ दोहोरी प्रश्तुतीमा मकवानपुरेहरुले मज्जा लिए । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडाको टिसिएन चौरमा जारी महोत्सव अन्तर्गत उनीहरुको प्रश्तुती रहेको थियो । लोक गायनको क्षेत्रमा चर्चित यी जोडीको प्रस्तुतीमा दर्शकहरुले नाचेर साथ दिएका थिए ।
अन्य दिनको तुलनामा शनिबार दर्शकको बाक्लो उपस्थिती रहेको थियो । शनिबारै चर्चित गायिका रचना रिमाल, कमल के क्षेत्री र सुमन नेपाली ब्याण्डको लाइभ प्रस्तुती रहेको थियो । गायिका रिमालले आफ्ना निकै चर्चित गीतहरु प्रश्तुत गरेकी थिइन् ।
पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुती दिइरहेका छन् । महोत्सवमा आइतबार गायिका राधिका हमाल, गायक उर्गेन दोङ, कमल खत्री, एन्जिला रेग्मी र द शिल्ड ब्याण्डको प्रस्तुती रहने छ । महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल समेत भैरहेको छ ।
महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सव सफलतापूर्वक सञ्चालन भैरहेको जानकारी दिए ।
महोत्सवमा करिब २६० वटा स्टलहरु छन् । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान रहेको छ । वर्षभर विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि रकमको जोहो गर्ने उद्देश्यले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरिएको उनले बताए ।
महोत्सवमा खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिता जारी रहेको छ । १६ गतेसम्म सञ्चालन हुने भलिबलको विजेताले २ लाख, उपविजेताले १ लाख, सेमिफाइनलमा पराजित हुने दुई टोलीले नगद ५०/५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने खड्गीले बताए ।
