मकवानपुर । मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ का रामबहादुर रुम्बाले आमाबुबा र दाइको स्मृतिमा प्रतीक्षालय निर्माण गरेका छन् ।
उनले आमा केशरी, बुबा सुनलाल र दाई जितबहादुर रुम्बाको स्मृतिमा हेटौंडा–१४ स्थित कालोपानी चोकमा प्रतीक्षालय निर्माण गरेका हुन् । करिब १ लाख ५० हजार लागतमा निर्माण गरिएको प्रतीक्षालयको शनिबार हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी छन् ।
प्रतीक्षालय उद्घाटन गर्दै नगर प्रमुख लामाले सामाजिक कार्यले हेटौंडा उपमहानगरको विकासमा सहयोग पुग्ने बताइन् । लामाले आफ्नो परिवारको सम्झनामा प्रतीक्षालय निर्माण गरेकोमा रुम्बा परिवालाई धन्यबाद दिदै सामाजिक कार्यमा जोडिन आग्रह गरिन् ।
१४ नम्बर वडालाई हेटौंडा बजारसँग जोडेर बजारको अनुभूति हुने गरी काम गर्ने तयारी उपमहानगरपालिकाको रहेको उनले बताइन् । आफ्नो कार्यकालमा सबै पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य रहेको लामाले बताइन् । निर्मित प्रतीक्षालय सक्रिय टोल कालोपानी, कालोपानी हुँदै उत्तरपानी र कालोपानी हुँदै बाँडाचौर जाने बाटोको मध्यभागमा पर्दछ । तीनतिरबाट आएका यात्रुहरुलाई थकान मार्न प्रतीक्षालयमा प्रयाेगमा आउन सक्छ ।
चितवन । सारस्वत रत्न पुरस्कारबाट प्राडा कृष्णप्रसाद पौडेल सम्मानित भएका छन् । चितवनकाे रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने ‘सारस्वत रत्न पुरस्कार-२०८०’ डाक्टर पौडेलद्वारा लिखित `लय छुटेको समय´लाई प्रदान गरिएको हो ।
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार डाक्टर पौडेललाई नगर ३० हजार रुपैयाँ र सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् । प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार उक्त पुरस्कार प्रदान गर्ने योजना अनुसार आह्वान गरेको थियो । प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय पुरस्कार निर्णायक समितिले गत पुस महिनामा गरेको थियो ।
पौडेलका यसअघि ‘खुसीहरूको वनवास’ कवितासङ्ग्रह र ‘कम्मरीदेखि कोभिड कहर’ (हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी जानकारी) पुस्तक प्रकाशित छन् । लय छुटेको समय डाक्टर पौडेलको संस्मरण हो । यसमा बिरामी र डाक्टरका भोगाइहरू समेटिएका छन् । डाक्टर पौडेल अर्थोपेडिक विषयका प्राध्यापक हुन् । अर्थोपेडिक र स्पाइनल सर्जन उनी भरतपुर अस्पतालमा कार्यरत छन् । उनी उक्त अस्पतालमा २ पटक मेडिकल सुपरिटेन्डेन्ट पदमा रहेर काम गरिसकेका छन् ।
कार्यक्रममा सम्मानित स्रस्टाको व्यक्तित्व र कृतित्वका बारेमा प्राध्यापक लक्ष्मण अर्यालले बोलेका थिए । कार्यक्रमको दोस्रो चरणमा विभिन्न स्रस्टाले रचनावाचन गरेका थिए । कार्यक्रमलाई राजेन्द्र हमाल र कमल अर्यालले सहजीकरण गरेका थिए । कार्यक्रममा पौडेलका मातापिता कपिलामणि र तुलसी पौडेल पनि सहभागी थिए ।
भरतपुर । चितवनमा चियासँग कविताको ५० औँ शृङ्खलामा हेटौंडेली कवि शान्ति प्रियवन्दनाले कविता सुनाएकी छन् । शनिबार भरतपुरमा कवि शान्तिले समय शीर्षकको कविता सुनाएर कार्यक्रमको शुरुआत गरिन् ।
समयले आफूलाई धेरै कुरा सिकाएको र समय अनुसार आफू चल्न कोसिस गरेको भाव उनले कवितामा उतारेकी थिइन् । कार्यक्रममा शान्तिले १२ वटा कविता सुनाइन् । वोनस कविताको रूपमा उनले आफ्नो कवितासङ्ग्रह जिल खाइरहेको एक्काइसौं शताब्दीबाट एउटा कविता थप सुनाइन् । शान्तिका कवितामाथि ईश्वर कँडेल, उदय अधिकारी, डाक्टर एकनारायण पौड्याल र नमूना शर्माले टिप्पणी गरेका थिए ।
चियासँग कविताको शृङ्खला २०७३ साल साउन १५ गते सुरुवात भएको हो। शनिबार स्वर्ण शृङ्खला आयोजना भएको छ । पहिलो शृङ्खलामा कवि गोविन्दराज विनोदीले कविता सुनाएका थिए । त्यसपछि नियमितरूपमा भइरहेको कार्यक्रम कोरोनाकालमा रोकिएको थियो । ‘अहिले अवस्था सहज भएकोले यो शृङ्खलालाई नियमित लैजाने भएका छौँ´, शृङ्खलाका सदस्य भूपिनले भने ।
चियासँग कविताको स्वर्ण शृङ्खलामा चितवनका स्रष्टा तथा साहित्यानुरागी र कवि शान्तिका पारिवारिक सदस्यलगायतको उपस्थिति थियो ।

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको महत्वपूर्ण पर्व डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्न सकोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै शनिबार तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) मनाउदै गरेकोले उक्त पर्वले विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै प्रमुख शर्माले हाम्रा सबै मौलिक पर्वहरु राष्ट्रिय चाड भएको बताए ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा तामाङ समुदाय पनि एक महत्वपूर्ण अङ्ग भएको प्रमुख शर्माको भनाई छ । ‘तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रिती-रिवाज तथा परम्पराको सम्बर्धन एवम् संरक्षण गर्न महत्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा उल्लेख छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । हेटौडा उपमहानगरपालिका वडा नं. ११ मा नवजात शिशु मृत भेटिएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार हेटौंडा ११ नवलपुरस्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक बेबारिसे अवस्थामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयले शिशुकाे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव पोष्टमाटका लागि हेटौंडा अस्पताल ल्याईएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले छ ।