मकवानपुर । आज विहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुदैछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदै छन् ।
कूल परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जनाएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
त्यस्तै जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय एसइईका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलको एउटा परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ ।
यसैगरी परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १ सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
मकवानपुरबाट २६ केन्द्रमा ६ हजारले एसइई दिदै
मकवानपुर जिल्लामा यस बर्ष २६ वटा केन्द्रबाट ६ हजार विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी हुदैछन्।
जिल्लामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी हुनेछन् भने एक्जाम्टेड तर्फ १ सय ४९ जना सहभागी हुनेछन् । नियमित, प्राविधिक तर्फ र एक्जाम्टेड गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुदै छन् ।
गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मावि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो। मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको इकाइले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहनगरपालिकाले वडाकाे सुझाव अनुसार योजना बनाउने भएकाे छ । स्थानीय तथा जनसरोकारवालाकाे सुझाव अनुसार उपमहानगरपालिकाले वडास्तरबाटै योजना बनाउने अभियान सुरु गरेको हाे ।
नगरको विकासलाई अघि बढाउने उद्देश्य अनुरुप आगामी आर्थिक बर्ष २०८१/०८२ मा हुने कामलाई नगरवासी बिच अपनत्व गराउँन आवश्यक रहेकोले उपमहानगर वडास्तरमा पुग्ने अभियान थालनी गरेकाे हाे ।उपमहानगरले बुधबार १ नम्बर वडाबाट आर्थिक बर्ष २०८१/०८२ को बार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन कार्यक्रम सुरु गरेको हो ।
योजना निर्माणमा सहभागीले विकास निर्माणका कामलाई समुचित ढंगबाट लैजानु पर्ने, विद्यालयको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने, बिकट गाउँमा रहेको शहरी स्वास्थ्य चौकीमा आवश्यक पूर्वाधारको व्यवस्था मिलाउन जरुरी भएको बताएका थिए । स्थानीयले खानेपानी, स्वास्थ्य, शिक्षा र पुर्वाधार बिकासको काम गर्न आवश्यक रहेको बताएका थिए ।
वडाको नकौली, ध्याङसिंटार, भैरवडाँडासहितको माथिल्लो भेगमा खानेपानीको समस्या रहेको स्थानीय कुमारीमाया स्याङ्तानले बताइन् । दैनिक छाक टार्ने पानीको व्यवस्थापनका लागि २/३ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको स्याङतानले बताइन् । केन्द्र सरकारको ठुलो योजना निर्माण पछि पानीको समस्या समाधान हुन्छ भनिए पनि विगत ४/५ बर्षदेखि कुर्दापनि काम नभएको उनले गुनासो गरिन् । पानीको सुबिधाका लागि टंकी निर्माण, श्रोतको सुनिश्चितता हुँदा पनि समस्या नगरेको उनिहरुको भनाई थियो ।
यसैगरी कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीले भौगोलिक बिकटताका कारण माध्यमिक बिद्यालय थप गर्न जरुरी रहेको बताए । उनले वडा भरीमा एक मात्र माध्यमिक बिद्यालय भएका कारण ग्रामिण भेगमा रहेका बिद्यार्थीलाई समस्या भएको बताए । उनले बालमैत्री नगर घोषणाको क्रममा रहँदा शैक्षिक गुणस्तर र बिद्यालयको पुर्वाधार निमार्णमा ध्यान दिन जरुरी रहेको बताए ।
वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भएकाले १९ वडाहरुमा योजना संकलनको काम हुने उपमहानगरपालिका बित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपालले बताउँछन् । पालिकाको बजेट निर्माण पूर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने नीति अनुसार उपमहानगर सबै वडाहरुमा पुग्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए ।
सूचना संकलन गर्दै श्रोतलाई सुनिश्चितता गर्ने उद्देश्य अनुसार काम अघि बढाएको हाे । अधिकार आफैमा राख्ने नेतृत्व कर्ताको सोच रहने अवस्थामा उपमहानगरले जनतालाई सुबिधा दिने सोच अनुसार योजनाको भुक्तानी र फरफारकको काम वडा बाटै गर्नुले नगरको काममा सहजता भएको महाशाखा प्रमुख नेपालले बताए ।
आउँदो बर्ष बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको उनले बताए ।
आगामि आर्थिक बर्षको योजना निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिका शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने तयारीमा लागेकाे छ । सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौंती गर्दै शिक्षा र स्वास्थ्य केन्द्रीत बजेट आगामि आर्थिक बर्षमा आउने बताइएकाे छ ।
योजना तर्जुमामा नगरका उपप्रमुख राजेश बानियाँले जनताले दिएको म्याडेड अनुसार बिकासका कामलाई अघि बढाइने बताए । नगरका सबै भागको भावनालाई समेटेर अघि बढ्ने उद्देश्य अनुसार कार्यक्रमलाई वडाहरुमा ल्याएको उनले बताए । शिक्षा र स्वास्थ्यलाई नगरको बिकासको कडिका रुपमा लिएर अघि बढ्ने गरी कम गर्छौै उनले भने । ‘स्तरीय बाटो होइन स्तरीय शिक्षा र स्वास्थ्य भन्ने सोचमा हामी छौं त्यहि ढंगले अघि बढ्छौं’ उनले बताए ।
हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामालगायत स्थानीय राजनितिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहका संयोजकहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ।
मनहरी –७ रमौली बाङ्गेटोलस्थित मनहरी खोलाको बगरमा मंगलबार सालनालसहित नवजात शिशुको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थिए।
इलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको प्रहरीले शिशुको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
- गाेपिनी दाहाल
मकवानपुर । मकवानपुरमा बाघको आक्रमणबाट ४ वटा गाइको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारका रुद्र बहादुर रानाकाे गाई बाघको आक्रमणबाट मृत्यु भएको छ ।
स्थानीय ६५ वर्षीय रानाको ४ वटा गाई चराउनको लागि शुक्रबार मनकामना सामुदायिक बनमा छाडेकोमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । वन क्षेत्रमा चराउन छाडेको गाई घर फर्की नआएपछि खोजी गर्दै जाने क्रममा सोमबार गाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
साेमबार वन क्षेत्रमा गाई मृत रहेकाे जानरकाी स्थानीयले प्रहरी चौकी झुरझुरेमा गराएका थिए । झुरझुरे प्रहरी चौकीबाट टोली खटी गई उक्त स्थानमा हेर्दा २ वटा बाघको आधा भाग खाएको अवस्थामा र २ वटा मारेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडाैं । मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिकामाथि कुटपिट भएको घटनाको भत्सर्ना गरेको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि काम गर्दै आएको मायाको पहिचान नेपालले घटना भत्सर्ना गरेकाे हाे ।
लैङ्गिकता तथा यौनिकताबारे रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट हिंसा हुनुले दुई नाबालिकाको अवस्था दर्दनाक बनेको मायाकाे पहिचानले जनाएकाे छ। संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नाबालिकालाई सुरक्षा प्रदान गर्न माग गरेका छन्। सोमबार पत्रकार सम्मेलन गरेर पन्तले नेपाल प्रहरी र मानव अधिकार आयोगमा नाबालिकाको सुरक्षाका लागि निवेदन दिएको जानकारी दिए।
नाबालिकामाथि परिवार र आफन्तबाटै कुटपिट भएको घटनाको निष्पक्ष छानबिन गर्न पन्तले माग गरेका छन्। ‘१७ र १६ वर्षका नाबालिकालाई भागी विवाह गरेको आरोपमा कपाल भुत्ल्याउने, लौरोले हान्ने मात्रै नभएर लात्तैलात्ताले कुटपिट गर्नु क्रूर अमानवीय व्यवहार हो,’पन्तले भने,‘सार्वजनिक रूपमा व्यक्तिको लैङ्गिकता तथा यौनिकताका आधारमा हिंसा हुँदा समेत छानबिन गरी दोषीलाई कानुनी कारबाही नगर्नु लज्जास्पद छ।’
हिंसामा परेका नाबालिकाको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भइरहेको छ। ‘एकातिर उमेर नपुगेका नाबालिका अर्कोतिर परिवारले कुटपिट गरेको घटना व्यक्तिको अनुमति बिना अतिरञ्जित गरेर सार्वजनिक हुँदा थप चिन्ता थपिएको छ,’मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले भने,‘हामी नेपाल सरकार, गृह प्रशासन, मानव अधिकार आयोग, स्थानीय जनप्रतिनिधि सबैलाई नाबालिकालाई सुरक्षा प्रदान गर्न हार्दिक अपिल गर्दछौ।’
हिंसामा परेका नाबालिकालाई तत्काल सुरक्षासँगै अभिभावकलाई परामर्शको आवश्यकता देखिएकाले तत्काल यसमा ध्यान दिन नेपाल सरकारसँग मायाको पहिचान नेपालले माग गरेको छ। मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्री (मधु)ले समलिङ्गी नाबालिकाहरुमाथि भएको लैङ्गिक हिंसा तत्काल अन्त्य हुनु पर्ने माग गरे। यस्तै पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले कैलालीकै एउटा पालिका समलिङ्गी तेस्रो लिङ्गीको विवाह दर्ता गर्ने अर्को पालिकामा हिंसा हुने अवस्था आउनु दुखद भएको बताए।