- गाेपिनी दाहाल
मकवानपुर । चौथो मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा वडा नम्बर ६ र १३ दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा विजयी हुँदै दुबै टोली दोस्रो चरणमा प्रवेश गरे ।
नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा हेटौंडा–६ ले १८ नम्बर वडालाई र हेटौंडा १३ ले १९ नम्बर वडालाई पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन् ।
हेटौंडा ६ को जीतमा सुरज स्याङ्तानले दुई गोल गरे । उनले गरेको दुई गोलले नै ६ नम्बरले अघिल्लो चरणको यात्रा तय गरेको हो । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । १८ नम्बरले एक गोल आत्मघाती गोल प्राप्त गरेको थियो । खेलमा १८ नम्बरले प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो ।
प्रतियोगितामा हेटौंडा १३ को जीतमा एकमात्र निर्णायक गोल स्यामुएल सुनुवारले गरे । उनले खेलको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक भयो । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।
बिहीबारको पहिलो खेल हेटौंडा ७ र १४ तथा दोस्रो खेल १ र ४ नम्बर वडावीच हुनेछ । उक्त खेलको विजयी टोलीले अन्तिम चारमा स्थान सुरक्षित गर्नेछन् ।
मकवानपुर । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले वित्तीय संकट देखिएका सहकारीकाे नियमन गर्नु पर्ने बताएका छन् ।
मकवानपुरगढी- ३ मा रहेको जागरण वचत तथा ऋण सहकारी संस्थाले बुधबार आयोजना गरेकाे २५ औं रजत महोत्सव समापन समारोहमा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । सहकारीमा बसेर आफैं ऋणलिएर नतिर्ने प्रवृत्ति देखिएकोले सरकारले नियमित नियमन गर्नुपर्ने उनले बताए ।
उनले गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको बताए । ग्रामीण भेगमा सहकारी स्थापना गरेर स्वर्णिम अवधी समेत पार गरेकोमा जागरणलाई उनले बधाई दिए । मन्त्री श्रेष्ठले अहिलेको समय बजेट कार्यान्वयन र नयाँ बजेट बनाउने चरणमा रहेको बताउदै आगामी बजेट बनाउँदा कार्यान्वयन हुने खालकाे बनाइने बताए ।
सहकारी अभियानकर्मी सम्मानित
रजत महोत्सवमा संस्थाले संस्थापक सदस्य, मकवानपुरगढी गाउँपालिकाका सहकारी अभियानमा जिल्ला, प्रदेश र केन्द्रमा आफ्नो स्थान बनाएका सहकारी अभियानकर्मी, सञ्चारकर्मी, जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेकाे छ ।
४९ जना संस्थापक सदस्यलाई सम्मान गरिएको हाे । त्यस्तै अभियानकर्मीहरुमा मकवानपुरगढीका नारायणप्रसाद देवकोटा, बद्रीप्रसाद लम्साल, विदुर हुमागाई, कल्पना श्रेष्ठ, सुलोचना स्याङ्तान, निर्मला लम्साल, रामजी सापकोटा, हरिप्रसाद अधिकारी, खीलाप्रसाद चौलागाई, हरिप्रसाद कंडेल र कृष्ण बहादुर विडारीलाई सम्मान गरिएको छ ।

यसैगरी सञ्चारकर्मी सुरेश श्रेष्ठ र श्रीराम अर्जुनलाई सञ्चार माध्यमबाट सहकारी अभियानमा सहयाेग पुर्याएकाेमा सम्मान गरिएको हाे । यस्तै पुर्व कर्मचारीतर्फ भगवती घिमिरे, कल्पना सापकोटा, उमा रुम्बा, सन्तोषी श्रेष्ठ, कविता तिवारी, आइतीमाया थिङ र पुना राईलाई सम्मान गरिएको थियो । रजत महोत्सवको अवसरमा जागरण साकोस रजत वर्ष स्मारिका-२०८० विमोचन समेत गरिएको थियो ।
सहकारी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सहकारी मन्त्रालयका रजिष्ट्रार रोहित पोखरेल, मकवानपुरगढी गाउँपालिकाका वडा ३ का वडाध्यक्ष भागवत घिमिरे, वडा ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना,बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, महासचिव जिवसराज खड्का, प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल, नेफ्स्कुन फिल्ड हेटौंडा ईन्चार्ज विदुर खड्कालगायतका सहभागिता रहेकाे थियाे ।
मकवानपुर । हेटाैंडा उपमहानगरपालिका वडा ९ काे कार्यालय भवन उद्घाटन गरिएकाे छ ।
६७ लाख बजेटमा निर्माण गरिएकाे कार्यालयबाट अब सहज सेवा प्रवह गर्न सकिने वडा अध्यक्ष सुकराम केसीले बताए । बुधबार नगर प्रमुख मिना कुमारी लामा र उपप्रमुख राजेश बाँनियाले भवनकाे उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर कार्याकारी प्रमुख रामबाबु पुरी, वडा अध्यक्षहरु सविन न्योैपाने, जुना दहाल, पेम्वा लामा, सुनिल मोक्तान, फुर्वा दोर्जे लामालगायतकाे उपस्थिति रहेकाे थियाे ।

भवन जति सुन्दर छ त्यसैगरि सेवा प्रवाह पनि सहज र सुन्दर तरिकाले गर्न लामाले निर्देशन दिइन् । ९ नम्बर वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्नकाे लागि अझै स्वास्थ्यकेन्द्रकाे आवश्यकता परेकाे अध्यक्ष केसीले बताए । भवन निर्माणकाे लागि करीव ३५ लाख रुपैया आवश्यक परेकाे केसीले बताए । बजेट प्राप्त हुन सकेमा यही आर्थिक वर्षमा भवन निर्माण सक्ने उनले बताए । वडा कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा विभिन्न निर्माण कम्पनी तथा उपभाेत्ता समितिहरुलाई सम्मान गरिएकाे थियाे ।
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा हेटौंडा १ र १५ नम्बर विजयी भएका छन् ।
हेटौंडा-५ स्थित पिप्लेक्याम्पा खेल मैदानमा जारी चौथो मेयर कप प्रतियोगितामा हेटौंडा १ ले १७ नम्बर वडालाई र हेटौंडा १५ ले २ नम्बर वडालाई पराजित गरेको हो । १ नम्बर वडाले १७ नम्बरलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्यो भने हेटौंडा १५ ले २ नम्बर वडालाई ५-० गोलले अन्तरले जित हासिल गर्यो ।
मंगलबार १ नम्बर र १७ नम्बर बिच भएको पहिलो खेल निर्धारित समय १-१ गोलको बराबरीमा टुंगिएपछि पेनाल्टीमा १ नम्बर वडा ५-४ गोल अन्तरमा विजयी भएको हो । खेलमा १ नम्बर वडाका विश्व लामा म्यान अफ दी म्याच घोषित भए ।
यसैगरी, मंगलबारको दोस्रो खेलमा हेटौंडा १५ को तर्फबाट रिकेश श्रेष्ठले खेलको २० र ४८ औं मिनेटमा, विश्वास ब्लोनले २८ र ३५ औं मिनेटमा तथा अनिष लामाले खेलको ४१ औं मिनेटमा गोल गर्दै २ नम्बरलाई पराजित गरेको थियो । खेलमा विश्वास ब्लोन म्यान अफ दी म्याच घोषित भए ।
हेटौंडामा जारी प्रतियोगितामा उपमहानगरका १९ वडाको सहभागिता रहेको छ । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
बुधबार हेटौंडा १६ र १३ को पहिलो तथा हेटौंडा ६ र १८ नम्बरको दोस्रो खेल हुने छ ।
मकवानपुर । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएकाे करातेमा ९ स्वर्णसहित १६ पदकका साथ बागमती प्रदेश प्रथम भएकाे छ ।
बागमती प्रदेशकाे चितवन जिल्ला भरतपुरमा जारी खेलमा बागमती प्रथम भएकाे हाे । चितवन जिल्लाकाे औद्योगिक प्रदर्शनी केन्द्रमा भएको तेक्वान्दो र कराते प्रतियोगिता बुधबार सकिएका छन् । करातेको दुई विधा ‘काता’ र कुमुते अर्थात् फाइटमा ९ स्वर्ण ३ रजत र ४ काश्य पदकसहित १६ पदकका साथ बागमती प्रदेश प्रथम भएको छ ।
४ स्वर्ण ३ रजत र २ काश्य पदकसहित कुल ९ पदकका साथ लुम्बिनी प्रदेश द्वितीय भयो भने ३ स्वर्ण २ रजत र ५ काश्यपदक सहित १० पदकका साथ सुदूरपश्चिम प्रदेश तृतीय हुन सफल भयो ।
कोशी प्रदेशले एक स्वर्ण ६ रजत र ६ काश्यपदक सहित कुल १३ पदक जित्न सफल भयो भने कर्णालीले एक स्वर्ण, ५ काश्य पदकसहित ६ पदक हात पार्यो । गण्डकीले एक रजत र ५ काश्यपदक पदकसहित ६ पदक, मधेश प्रदेशले पनि १ रजत र ७ काश्य पदकसहित ८ पदक जित्न सफल भयो ।
विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं करातेका अध्यक्ष युवराज लामा, बागमतीका सांसद इश्वर सापकोटा, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले पुरस्कार वितरण गरेका थिए ।
बक्सिङतर्फ विभिन्न तौल समूहका क्वाटरफाइनल तथा सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् । यस्तै चित्रवन रंगशालामा एथलेटिक्सका खेलहरु सम्पन्न भएका छन् । पुरुष तथा महिला भलिबल भरतपुर–१०, स्थित गेष्टहाउस चौर जारी छ ।
ब्याडमिन्टन भरतपुर कवर्डहलमा भइरहेका छन् । ब्याडमिन्टनमा पुरुष टिम इभेन्टमा कोशी प्रदेश प्रथम भएको छ भने बागमती द्वितीय, कर्णाली र लुम्बिनी प्रदेश तृतिय भएका छन् ।
त्यस्तै महिला टिम इभेन्ट तर्फ पनि कोशी प्रदेश नै प्रथम भएको छ कर्णाली प्रदेश द्वितीय , गण्डकी र बागमती प्रदेशले तृतीय स्थान हासिल गरेको छ । अन्य इभेन्टका फाइनल खेलहरु बुधबार हुनेछन् । बखान स्मृति रंगशाला जारी महिला फुटबलतर्फ मंगलबार क्वाटरफाइनल चरणका खेलहरु सम्पन्न भए ।