मकवानपुर । मकवानपुरको हेटौंडामा जारी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा हेटौंडा १ र १५ नम्बर विजयी भएका छन् ।
हेटौंडा-५ स्थित पिप्लेक्याम्पा खेल मैदानमा जारी चौथो मेयर कप प्रतियोगितामा हेटौंडा १ ले १७ नम्बर वडालाई र हेटौंडा १५ ले २ नम्बर वडालाई पराजित गरेको हो । १ नम्बर वडाले १७ नम्बरलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्यो भने हेटौंडा १५ ले २ नम्बर वडालाई ५-० गोलले अन्तरले जित हासिल गर्यो ।
मंगलबार १ नम्बर र १७ नम्बर बिच भएको पहिलो खेल निर्धारित समय १-१ गोलको बराबरीमा टुंगिएपछि पेनाल्टीमा १ नम्बर वडा ५-४ गोल अन्तरमा विजयी भएको हो । खेलमा १ नम्बर वडाका विश्व लामा म्यान अफ दी म्याच घोषित भए ।
यसैगरी, मंगलबारको दोस्रो खेलमा हेटौंडा १५ को तर्फबाट रिकेश श्रेष्ठले खेलको २० र ४८ औं मिनेटमा, विश्वास ब्लोनले २८ र ३५ औं मिनेटमा तथा अनिष लामाले खेलको ४१ औं मिनेटमा गोल गर्दै २ नम्बरलाई पराजित गरेको थियो । खेलमा विश्वास ब्लोन म्यान अफ दी म्याच घोषित भए ।
हेटौंडामा जारी प्रतियोगितामा उपमहानगरका १९ वडाको सहभागिता रहेको छ । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
बुधबार हेटौंडा १६ र १३ को पहिलो तथा हेटौंडा ६ र १८ नम्बरको दोस्रो खेल हुने छ ।

