मकवानपुर । व्यवसायिक रुपमा पुशपालन गरिरहेका र व्यावसाय उन्मुख किसानलाई तालिम प्रदान गरिएकाे छ । मकवानपुरकाे बकैया गाउँपालिकामा रहेकाे हात्तिसुँडे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले कृषकहरुकाे लागि ५ दिने तालिम दिएर व्यवसायकाे लागि प्रेरित गरेकाे हाे ।
सफा दुध उत्पादन,व्यवसायिक पशुपाल, घाँस तथा आहार व्यवस्थापन सम्बन्धी तालिममा सहकारीका १२५ जना सदस्य किसानहरु सहभागी थिए ।
किसानहरुलाई सुजल डेरी पाेखराका व्यवस्थापक डा लक्ष्मण ढकालले सफा दुध उत्पादन,व्यवसायिक पशुपाल, घाँस तथा आहार व्यवस्थापनका क्रममा ध्यान दिनुपर्ने बारेमा महत्वपुर्ण जानकारी प्रदान गरेकाे सहकारीका अध्यक्ष ताेयानाथ दाहालले बताए । व्यवसायकाे लागि किसानलाई सिप तथा क्षमता विकासमा तालिम उपयाेगी भएकाे र सिपलाई व्यवहारमा ल्याउनेलाई गाउँपालिकाले समेत सहयाेग गर्ने पालिका अध्यक्ष धर्मराज लामिछानेले बताए ।
सहकारीमा ३५३ जना रहेका छन् । दैनिक २ हजार लिटर दुध संकलन गर्दै आएकाे हात्तिसुँडे सहकारीमा आवद्धहरुले दुधकाे पैसा भुक्तानी नहुँदा भने समस्या भएकाे अध्यक्ष दाहालले बताए ।
विक्री भएकाे दुधकाे भुक्तानी नपाएर आजित भएका किसानलाई राहत दिनकाे लागि गाउँपालिका जमानि बसेर उद्याेग सञ्चालन गर्ने संभावनाकाे खाजि थालिएकाे लामिछानेले बताए ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले एकै मञ्चमा १४ जना लेखकलाई सम्मान गरेको छ । २०८० साल भित्र पुस्तक प्रकाशन गर्ने मकवानपुरले लेखकलाई सङ्गमले शनिबार एकै मञ्चमा सम्मान गरेको छ ।
सङ्गमको ३ सय ४२ औ साहित्य सन्ध्याका प्रमुख अतिथि नवराज शर्मा तिमल्सिनाले सम्मान गर्दै पुस्तक प्रकाशन गराएका स्रष्टाहरूलाई सम्मान गर्ने परम्पराले अन्य पुस्तक लेखन र प्रकाशनमा हौसला मिल्ने बताए ।
सङ्गमले माटोको मोहका लागि तुलसी घिमिरे, महाकाशका लेखक मुना अर्याल, अकिञ्चनका आर्तहरू- देवराज खरेल, घुम्दै फिर्दै- जनार्दन खनाल,अनुत्तरित प्रश्न- समीर पाख्रिन, जुनेली- पुरूषोत्तम आचार्य, बैङ्किङ क्षेत्रमा बढेका पाइलाहरू- सुदर्शन अधिकारी,अन्तर्दृष्टी- किशन पौडेल,व्यथाभित्रको कथा- श्यामप्रसाद श्रेष्ठ, म कथा भन्छु नि ल- सिएम रिमाललाई सम्मान गरेको हो ।
यस्तै हार्न नसक्ने मान्छे म- गणेशकुमार तिमल्सिना,प्रारम्भिक संस्कृत व्याकरण- उदिम पन्त,पल्लवित पाइला- कृशु अर्याल, मेकिङ इट इजी- आदर्श पौडेललाई सम्मान गरेको छ ।
अनुशुया खनालले बालोरी छन्दको कविता वाचन गरेको सन्ध्यामा राजबहादुर बुढा, राजकुमार चौधरी, एलिजा ढकाल, ऋषिराम पाण्डे, स्वस्तिका दाहालले कविता वाचन गरेका थिए । यसैगरी मसान उपासक, देवराज तिवारी र देवराज खरेलले गजल साथै सुबास सजलले मुक्तक वाचन गरे । सम्मानित स्रष्टाहरूले समेत रचना वाचन गरेका थिए ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाले सम्मानित स्रष्टाहरूलाई सम्मान गर्ने अघिल्लो कार्यसमितिदेखिको परम्पराले निरन्तरता पाएको बताए । सम्मान कार्यक्रमलाई हेटौंडा १८ का लक्ष्मण भुजेलबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
यसैगरि लेखक गणेशकुमार तिमल्सिनाले ५० प्रति पुस्तक सङ्गमलाई सहयोग गरेका छन् । विधान संशोधनका क्रममा रहेको बताउँदै बर्तौलाले सङ्गमबाट भएको सहयोग सङ्कलनमा हालसम्म ४ लाख ५० हजार रुपैयाँ भएको जानकारी दिए ।
मकवानपुर । मकवानपुरको बकैयामा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
बकैया गाउँपालिका वडा नं.६ स्थित बकैया खोलामा शनिबार डुबेर ती बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया ६ टिकुले टोल बस्ने चौर स्याङतानको छोरा ६ बर्षीय दिपक स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बकैया खोलाको पानीमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका दिपकलाई उपचारको लागि सामुदायिक प्रसुती गृह अस्पताल निजगढ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ । हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेल्पबक्स प्याकेजिंङ कार्टुन फ्याक्ट्रीमा आइतबार मध्यराती आगालागी भएको हो ।
काठमाडौ १९ का संजीव मानन्धरले संचालन गरिरहेको फ्याक्ट्री आगालागीबाट पुर्ण रुपमा जलेर नष्ट भएको तर मानवीय क्षति नभएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको जनाइएको छ।
प्रहरीका अनुसार आगलागीको कारण थाहा भएको छैन । घटनामा भएको क्षतीको विवरण समेत हालसम्म प्राप्त नभएको मकवानपुर प्रहरीले जनाइएको छ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले कुनैपनि अस्पतालको परिकल्पना नर्स बिना गर्न नसकिने बताएका छन् । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा ‘चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८१/८२ को तर्जुमा गोष्ठी कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
उनले अस्पताललाई नर्स अपरिहार्य रहेकाे बताउँदै नर्सको महत्व अस्पतालको सेवासुविधासँग जोडिएको विषय भएको धारणा व्यक्त गरे । अस्पताल व्यवस्थापनका विषयमा विशेषज्ञ डाक्टरहरुको मात्रै कुरा उठ्ने र तालिममा पनि नर्सको सहभागिता कम भएको मन्त्री श्रेष्ठको भनाई छ । नर्स विना अस्पताल व्यवस्थित हन नसक्ने उनले बताए । डाक्टर र नर्सलाई समान अवसर प्रदान गर्नु पर्ने समेत उनले आग्रह गरे । डक्टरले पर्याप्त सुविधा पाइरहँदा नर्सलाई पनि सेवा सुविधा दिन कञ्जुसाई गर्न नहुने उनले बताए ।
नेपाल सरकारले दिएको सुविधालाई समान रुपमा प्रयोग गर्न र संस्थाको सम्पूर्ण विकासमा समानता हुन आवश्यक भएको उनले बताए । औषधीको प्रयोग गर्दा अनावश्यक खर्च नगर्न चिकित्सकहरुलाई सुझाव दिनुका साथै औषधीको गुणस्तरलाई पनि ध्यान दिन आग्रह गरे । प्राप्त बजेटबाट थोरै कार्यक्रम गर्न सकिए पनि त्यसमा गुणस्तरीयता कायम गर्दै नागरिकले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्नेमा उनको भनाई थियाे । चिकित्सकहरुलाई आफ्नो क्षमता अधिकतम स्वास्थ्य क्षेत्रमा लगाउन र काम गर्ने दौरानमा आर्थिक मुनाफाको पछि नलाग्न उनको निर्देशन समेत दिए ।
निर्देशनालयका निर्देशक दिपक तिवारीको अध्यक्षतामा दुईदिनसम्म सञ्चालित कार्यक्रममा विभिन्न अस्पतालका प्रमुखहरुले आफ्ना प्रस्तुतीकरण प्रस्तुत गर्नुका साथै आगामी २०८१÷८२ का लागि रणनीतिक महत्वका योजनाका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य निकायका निर्देशक, प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्ट, जनस्वास्थ्य कार्यलयका प्रमुख र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखलगायतको उपस्थिति थियो ।