मकवानपुर । शिक्षक सेवा आयोगले प्राथमिक तहकाे लागि ४ हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ । शनिबार आयाेगले देश भरकाे लागि प्राथमिक तह तृतीय श्रेणीकाे पदकाे लागि उक्त संख्यामा आवेदनकाे लागि विज्ञापन गरेकाे हाे ।
आयोगकाे विज्ञापन अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै १ हजार १०३ जना, कोशीमा १ हजार ७७ जना, गण्डकीमा ८ सय जना, मधेशमा ५ सय ८ जना, लुम्बिनीमा ४ सय ९५ जना, सुदूरपश्चिममा ३ सय २ जना र कर्णालीमा १ सय ७७ जनाका लागि आवेदन खुलाएको छ ।
आयोगले सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र, मधेशीलगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षककाे लागि आवेदन खुल्ला गरेकाे हाे । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुर बुझाएर जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगकाे सूचनामा जनाएको छ ।
विज्ञापन हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस
मकवानपुर । १४ बैशाख २०८१, मध्यान्ह १ बजेतिर एक जना ज्येष्ठ नागरिक बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय पुगे । हतार र निराश देखिएका उनले स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठसँग भेट्ने इच्छा प्रकट गरे । जनताका प्रतिनिधि हुन् मन्त्री, भेट्न नमिल्ने कुरै भएन । उनलाई अनुमती प्राप्त भयो, उनी मन्त्रीको कार्यकक्षमा पुगे । मन्त्री श्रेष्ठका सामु आफ्नो गुनासो राखेः “बुढेसकालमा उपचारको लागि सहज होला कि भनेर स्वास्थ्य बिमा गरेँ, बुढौली उमेर स्वास्थ्यमा केही समस्या केही छन्, उपचार सुविधा लिइरहनु पर्छ, तर जहिले पनि अस्पतालमा आयो कि दोस्रो दर्जाको नागरिकको व्यवहार हुन्छ, स्वास्थ्य जाँचदेखि औषधि लिनसम्म ‘बिमावाला’ भनेर हेपिन्छ, कति सहने, कहिलेसम्म सहने ।”
‘दोस्रो दर्जाको नागरिक’ यो शब्दले मन्त्री श्रेष्ठलाई भित्रभित्र बिज्यो, उनी तत्काल अस्पतालको अनुगमनमा निस्के । केही मिनेट भित्रै अस्पताल पुगे, जहाँ २ दिनदेखि फार्मेसीबाट औषधि नपाएर दुख खेपिरहेकाहरुको भीड थियो । मन्त्रीलाई भेटेर उनीहरुले आफ्नो दुखेसो पोखे, “जहिले सिस्टम चलेन भन्ने, बरु बिमा कार्यक्रम खारेजी गर्नुहोस्, हामीलाई ज्यूदै मार्ने काम नगर्नुहोस ।” अस्पतालका कर्मचारीको तिता व्यवहार÷बोलीले आफूहरु आजित भएको उनीहरुले बताए । अस्पतालले पर्याप्त पिउने पानी समेत उपलब्ध नगराएको, २ दिन देखि सिस्टम नचलेको भन्दै बिमाबाट औषधि नपाएको, कर्मचारीले नमिठो व्यवहार गरेको सेवाग्राहीहरुले गुनासो गरे ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौंडा अस्पतालमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री श्रेष्ठले अनुगमनपछि उनै ज्येष्ठ नागरिकले भने जस्तै पाएको प्रतिक्रिया दिए । ‘दोस्रो दर्जाको नागरिक’ बनाएको भन्ने गुनासो सुनेर बुझ्न आएको त्यसमा सत्यता रहेछ” मन्त्री श्रेष्ठले मिडियासँग भने “तत्काल केही सुधारको लागि निर्देशन दिएको छु ।” अस्पतालका निमित्त अस्पताल निर्देशक डा. श्रीधर अर्याललाई मन्त्री श्रेष्ठले स्वास्थ्यकर्मी तथा कर्मचारीको बोली, व्यवहार र अस्पतालको सेवा सुविधामा सुधारको लागि निर्देशन दिए ।
अनुगमन गर्दै मन्त्री श्रेष्ठले बिरामीको स्वास्थ्य अवस्था समेत बुझेका थिए । अस्पतालमा उपचारका क्रममा सर्वसाधारणहरुले राखेका अपेक्षालाई सम्बोधन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् ।
अस्पतालमा आएका सबैको लागि पर्याप्त पिउने पानी, अपाङ्गामैत्री, महिलामैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिएका हुन् । बिरामीको उपचारका लागी ओपीडी बढाएर भए पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उनले निर्देशन गरे ।
मन्त्री श्रेष्ठले हेटौंडा अस्पतालको स्तोरोन्नतिका लागी आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्था बारे जानकारी लिएका थिए । उनले अस्पतालको जनरल वार्ड, ईमरजेन्सी, सर्जिकल वार्ड, प्रसुती वार्ड, अप्रेसन थिएटर, आईसीयू, एचडीयूलगायत विभिन्न कक्षको अनुगमन गरे । हेटौंडा अस्पतालमा ईमरजेन्सी र ओपीडीमा दैनिक औषत एकहजार ३०० जनाले सेवा लिने गरेका छन् ।
“जनताको करबाट तलब खाएका कर्मचारीले उनै जनतालाई सेवामा विभेद गरेको कसरी सहने” मन्त्री श्रेष्ठले निमित्त अस्पताल निर्देशक अर्याललाई भने “अबको ३ देखि ५ दिनभित्र ९० प्रतिशत समस्या सम्बोधन गरेर देखाउनुहोस् ।” बिमाबाट पाइने औषधिबारे बोर्ड नै बनाएर सूचित गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । “फार्मेसीमा औषधिको अभाव भन्ने शब्द सुन्नै चाहन्न”, मन्त्री श्रेष्ठले भने “अभाव हुन किन दिने, व्यवस्थापन त अस्पतालले गर्ने हो बिरामीलाई दुख किन दिने ?”
जनशक्ति अभाव भए थपेर पनि समस्या सम्बोधन गर्न उनले सुझाव दिए । कार्ययोजना बनाएर अस्पताल सुधारमा लाग्न उनले आग्रह गरेका छन् । “अब केही दिनभित्र मन्त्री हैन सेवाग्राही बनेर म आउँछु, अनि हेर्छु अस्पतालको अवस्था” उनले भने । डा अर्यालले आगामी दिनमा बिरामीले उपचारका क्रममा कुनै पनि सास्ति खेप्नु नपर्ने गरी सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मकवानपुर । मकवानपुर जिल्लामा आज फरक फरक घटनामा परेर ३ जनाको ज्यान गएको छ । भीरबाट लडेर, पाैडी खेल्दा डुबेर र सवारी दुर्घटनामा ३ जनाकाे ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विहीबार खोलामा पौडी खेल्नेत्र क्रममा डुबेर अर्का एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका ७ मनहरि स्थित मनहरी माथिल्लो बजार बस्ने ३३ वर्षीय शेखर थापाको मृत्यु भएको हो । नुहाउने क्रममा पानिमा डुबेका उनको खोलामै मृत्यु भएको र इप्रका मनहरीले मुचुल्का पश्चात पोष्टमार्टनको लागि हेटौडा अस्पतालमा ल्याइएको छ ।
यसैगरी सवारी दुर्घटना परेर अर्का एक जनाको विहीबार विहान मृत्यु भएको छ । मकवानपुर कैलाश गाउँपालिका १० सादिखोरियामा भएको दुर्घटनामा परि ३५ वर्षीय प्रदिप वाईवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिजुलीको पोल बोकेर गाँउतर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ त ०४१९ नं.को ट्याक्टरको पछाडी टेलरमा सवार मकवानपुर कैलाश १० पुरानोगाँउ बस्ने वाईवा सोही ट्याक्टरबाट लडी पछाडिको चक्काले किचिएर घटनास्थलमा नै मृत्यु भएको थियो । ट्याक्टर र ट्याक्टर चालक मकवानपुर भिमफेदी ९ बागमारा निवासी ३३ वर्षीय बिरमान स्याङतान प्रहरी नियन्त्रणमा छन् ।
यसैगरी राक्सिराङ गाउँपालकिा ४ पञ्चमी बस्ने ४१ वर्षीय ईमान सिङ थिङ भीरबाट लडी घाईते भएकोमा उपचारको क्रममा उनको ज्यान गएको छ । उपचारको क्रममा चितवन स्थित भरतपुर अस्पतालमा उनको ज्यान गएको हो । उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा–२ स्थित जलेश्वर महादेव मन्दिर परिसरमा विभिन्न मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । हेटौंडा–२ निबासी सेवानिबृत्त शिक्षक रामचन्द्र आचार्य ‘फुर्सती’ परिवारले कालभैरवको पाषाण मूर्ति स्थापना गरेका थिए ।
२ फिट अग्लो मूर्तिको मंगलबार र बुधबार दुई दिने बैदिक कार्यक्रम गरी प्राणप्रतिष्ठा गरिएको हो । त्यस्तै हेटौंडा–२ निबासी महेश्वरमान श्रेष्ठको परिवारले शिवलिङ्ग, नन्दि र गणेश भगवानको मूर्ति स्थापना गरेका छन् । हेटौंडा–२ निबासी भोला अर्यालको परिवारले शेषनागको मूर्ति स्थापना गरेका छन् । सबै मूर्तिको बैदिक बिधिअनुसार प्राणप्रतिष्ठा गरिएको हो ।
मूर्तिको जलाधिवासदेखि शैयाधिवाससम्मका बिधि पूरा गरी प्राणप्रतिष्ठा गरिएको थियो । सो अवसरमा होमयज्ञ, रुद्रीपाठ, चण्डिपाठ, गणेशस्तोत्र, शिवस्तोत्र, भैरवस्तोत्र, नागस्तोत्रको पाठपारयण गरी बुधबारबाट मूर्तिमा सर्वसाधारणका लागि पूजाआजा खुला गरिएको हो । पण्डित रामचन्द्र आचार्य, बासुदेव आचार्य, कपिल लामिछाने, अभ्युदय खनाल, डुकराज पौडेलले धार्मिक बिधिअनुसार मूर्तिको प्राणप्रतिष्ठाको सहजीकरण गरेका थिए ।
कार्यक्रममा हेटौंडा–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जन, नेपाली कांग्रेसका जिल्ला सचिव ईश्वर पाठक, जलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष मुरारी सुबेदी, हेटौंडा–२ का वडासदस्य ईन्द्रप्रसाद रिजाल, टोल विकास समितिका पदाधिकारीलगायत सहभागीतामा कार्यक्रम गरिएकाे हाे ।
मकवानपुर । मकवानपुर जिल्लामा बुधबार एकै दिन ४ स्थानमा आगलागी भएको छ । आगो लगाएको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई नियान्त्रणमा लिएको छ । जिल्लाको बागमती गाउँपालिकामा वनमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।
बागमतीमा सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको मकवानपुर प्रहरीले जनाएकाे छ। बुधबार दिउँसो जंगलमा लागेको आगो अकस्मात् बस्तीमा पस्दा बागमती गाउँपालिका ९ ढाडे बस्ने चन्द्रमाया स्याङताङको घरमा आगलागी भइ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
स्याङताङको २ तले जस्ताले छाएको कच्ची घर कालिश्वर सामुदायिक वनमा लागेकाे आगो सल्किएर नष्ट नभएकाे हाे । आगलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट भएको र घरमा रहेको लत्ताकपडा,भाडावर्तन,अन्नपात क्षती भएको प्रहरीले जनाकारी दिएकाे छ। इलाका प्रहरी कार्यालय फापरबारीबाट खिटिएको प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएकाे छ।
यसैगरी मकवानपुरकाे बकैया गाउँपालिका पाङधुरे दमार बस्ने दिपक जिम्बाको २ वटा जस्ता र खरले छाएको कच्ची गोठमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएकाे छ । प्रहरीका अनुसार नौलो हरियाली सामुदायिक बनमा लागेको डडेलोबाट जिम्बाकाे गोठमा आगो सल्कन गई आगोलागी भएको थियाे ।
प्रहरी चौकी हात्तिसुडेकाे टोली स्थानीयबासी र हेटौडा उपमहानगरपालिकाकाे दमकलको सहायतामा आगी पुर्ण रुपमा नियन्त्रणमा लिएको छ । उक्त आगोलागीबाट २ वटा गोठ पुर्णरुपमा जली नष्ट हुनुका साथै २ वटा बाख्राकाे समेत मृत्यु भएकाे छ । यसैगरी १ वटा बाख्रा घाईते भएको तर मानविय क्षती नभएको प्रहरीले जनाएकाे छ ।
यस्तै बुधबारनै मकवानपुरकाे कैलास गाउँपालिका ४ झ्यागे स्थित स्थानीय नवराज न्यौपानेको गोठमा बारीमा बालेको आगोबाट अचानक आगो सल्कन गई आगोलागी हुँदा आंशिक क्षती भएकाे छ । यसका साथै घरमा समेत आगलागी भई क्षति पुगेकाे प्रहरीले जनाएकाे छ । प्रहरी चौकी भार्ताबाट खटिएकाे टोली र स्थानीयकाे सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएकाे छ भने मानवीय र चौपाया क्षती नभएको प्रहरीले जनाएकाे छ ।
बुधबार नै मकवानपुर ईन्द्रसरोवर गाउँपालिका २ सुकौरा स्थित पवली भन्ज्याङ सामुदायिक वनमा लगाइएकाे आगोलागीबाट स्थानीय राम बहादुर घिसिङको माटो ढुङ्गा,टिनले छाएको २ तले घरको अगाडीको भाग काठको बार्दली ,झ्याल,ढोका, मकै ५ मुरी,तोरी ३ मुरी,फापर १ मुरी,डिएपिमल २ बोरा र भाडाकुडा जली क्षती भएको छ । साथै स्थानीय राम चन्द्र घिसिङको शौचालय समेत आगलागी हुदा क्षती भएको प्रहरीले जनाएकाे छ ।
उक्त आगलागी स्थानीय २० वर्षीय अर्जुन बल तामाङ र ३८ वर्षीय सोम बहादुर घिसिङले लगाएकाे प्रहरीले जनाएकाे छ । प्रहरी चौकी खानिखेतबाट खटिएकाे टोलीले आगो लगाउने २ जनालाई नियन्त्रणमा लिएको र उक्त घटनामा थप अनुसन्धान भइरहेकाे छ ।