महोत्तरी । सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण महोत्तरीले चालू आर्थिक वर्षको वैशाख १६ गतेसम्म ५ करोड ७२ लाख ३० हजार रुपैयाँ बराबरका अवैध सामानहरू बरामद गरेको छ ।
गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसीका अनुसार नं ९ गण तथा मातहतका कार्यालयहरूबाट साे बराबरकाे अवैध सामग्री बरामद गरेकाे हाे । विभिन्न प्रलोभनमा परी भारततर्फ लैजान लागिएका १६ जना व्यक्तिहरूलाई सीमा इलाकाबाट उद्दार गरेको, ११६ वटा विपदका घटनाहरुमा परिचालित भएको साथै रक्तदान, सरसफाई, प्रतिक्षालय निर्माण र जनचेतनामूलक कार्यक्रमहरु मार्फत सामाजिक उत्तरदायित्व निर्वाह गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक केसीले बताए ।
महोत्तरी जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन सीमा व्यवस्थापनलगायतका जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीले साेमबार १७ औं स्थापना दिवस मनाउन आयाेजना गरिएको कार्यक्रममा यस्ताे जानकारी गराइएकाे हाे ।
२०६४ साल वैशाख १७ गते सीमा सुरक्षा कार्यालय महोत्तरीको नामबाट जलेश्वर नगरपालिकाको खानेपानी कार्यालयमा स्थापना भएको कार्यालय २०६८ सालमा मटिहानी नगरपालिका वडा नं ९ जलसागरस्थित आफनै भवनमा सरेको थियो भने २०७५ सालबाट सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर नामाकरण भई महोत्तरी जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, विपत व्यवस्थापन , सीमा सुरक्षा, लोकमार्ग सुरक्षा, हूल तथा दंगा व्यवस्थापन, रेलवे सुरक्षा, कारागार सुरक्षालगायतका जिम्मेवारीहरूमा परिचालित हुँदै आइरहेको छ ।
गणले १७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको खेलकुद , हाजिरी जवाफ तथा दौडमा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा डिआईजी दीपेन्द्र शाहले गण तथा मातहत कार्यालयमा उत्कृष्ठ कार्य गर्ने १६ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गरे । यसैगरी सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माणका लागि जग्गा उपलब्ध गराउन सहयोग गर्ने तीन जना व्यक्तिहरूलाई कदर पत्रद्वारा सम्मान गरिएकाे थियो । पूर्व सशस्त्र प्रहरीहरु समेत उपस्थित उक्त कार्यक्रममा यस आर्थिक वर्षमा अनिवार्य अवकास प्राप्त गरेका डिएसपी गणेश कुमार सिंहलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । गणमा कार्यरत कर्मचारीहरुले सांकृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गणको स्थापना दिवसको शुभकामना दिँदै जिल्लाभर खटिएका सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंशा गरे । उनले केही वर्ष अगाडिसम्म सशस्त्र प्रहरीको युनिट स्थापना गर्न जग्गा नदिने सर्वसाधारणहरुले हाल सुरक्षाको महत्व बुझी ठाउँठाउँमा सशस्त्र प्रहरीको युनिट स्थापना हुनुपर्ने माग गरिरहेको बताए । सीमा इलाकामा हुने तस्करी नियन्त्रणमा अपेक्षित उपलब्धि हाँसिल गर्न जिल्लामा सशस्त्र प्रहरीको संख्या बढाउनुपर्ने पनि गेलालले बताए ।
कार्यक्रममा डिआईजी दीपेन्द्र शाहले गणको स्थापना दिवसको शुभकामना दिँदै नागरिकहरुको मानव अधिकारको सम्मान गर्दै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक रूपमा परिचालित हुन मातहतका अधिकृत तथा जवानहरुलाई निर्देशन दिए । उनले सशस्त्र प्रहरी बल नं ९ गणलगायत मधेश प्रदेशका अन्य इकाईहरुको मेहनत तथा उच्च स्तरको कार्यसम्पादनका कारण नं २ छिन्नमस्ता बाहिनीलाई यस वर्षको उत्कृष्ट बहिनीको रूपमा प्रधान कार्यालयले पुरस्कृत गरेको बताए ।
सोमवार जलसागर स्थित गणको कार्यालयमा आयोजित बार्षिकोत्सव विशेष कार्यक्रममा गण तथा गण मातहतका कार्यालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्ण, जलेश्वर नगरपालिका प्रमुख सुरेश शाह सोनार, मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको समेत उपस्थिति रहेको थियो ।
जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय र भन्सार कार्यालयका प्रमुखहरुकाे उपस्थित रहेकाे कार्यक्रममा जलेश्वर उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ , महोत्तरीका प्रनिनिधीहरुको पनि उपस्थिति रहेकाे गणका डीएसपी विकास अधिकारीले जानकारी दिए ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले २ जना स्रष्टालाई सम्मान गर्ने भएकाे छ । सिस्नुपानी नेपालकाे स्थापना दिवसको अवसरमा बैशाख १९ गते विविध कार्यक्रमसहित स्रष्टा सम्मान गर्ने भएको हाे ।
सिस्नुपानी नेपाल मकवानपुरले डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट दाङका उत्तमकृष्ण मजगैयाँलाई सम्मान गर्ने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने जानकारी दिए । यसैगरी आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८० बाट मोरङका अनिल पौडेललाई सम्मान गरिने उनले जानकारी दिए ।
स्थापना दिवसकाेअवसरमा हास्यव्यङ्ग्य रचना वाचन कार्यक्रम समेत गरिने बताइएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले बागमती गाउँपालिकाबाट सालको चिरान काठ बरामद गरेको छ । प्रहरीले बागमती वडा नं.२ भुर्कुसबाट २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार मध्यराति भुर्कुस टोलबाट बा.५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ पिस अर्थात २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरिएकाे हो । उक्त परिमाणकाे काठसहित ट्रिपर र चालक मकवानपुरगढी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २५ को आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चालक माेक्तान तथा उक्त टिपरलाई काठसहित अनुसन्धान तथा कारवाहीको लागि आइतबार डिभिजन वन कार्यालय मकवानपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।
मकवानपुर । ब्रह्मकुमारी राजयाेग सेवा केन्द्र मकवानपुरले स्वच्छ र स्वास्थ्य समाजकाे लागि आध्यात्मिक सशक्तिकरण अभियान सुरु गरेकाे छ । विश्वका १४० राष्ट्रमा शनिबार एकै दिन याे अभियान सुरु गरिएकाे हाे ।
हेटाैंडामा भएकाे क्षेत्रीय शुभारम्भ समाराेहमा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले आध्यात्मिक सशक्तिकरणबाट शान्ति संभव रहेकाे बताए । समाजमा हिजो एक अर्कोलाई सहयोग सद्भाव आदनप्रदान हुने तर आज हतियार बोकेर एक अर्कोलाई सिद्याउने प्रचलन बढेकाे सांसद पुलामीले बताए ।
‘चाहे जुनसकै धर्म र आस्थाको कारण लडाइ भएकाे होस्, त्यसले नाश मात्रै गरेको छ, पृथ्वी बचाउनको लागि हर सबैमा एकले अर्कोलाई सम्मान गर्ने आदतकाे अनिवार्यता छ’ पुलामीले भने । जन्म संयोग मात्रै भएकाे तर, समाजको लागि योगदान गर्न पाउनु साैभाग्य भएकाे उनले बताए । कार्यक्रममा हेटाैंडा ११ का वडा अध्यक्ष जुना दाहालले भाैतिक विकासमा मात्रै ध्यान नदिइ आध्यात्मिक सशक्तिकरणमा पनि लगानी आवश्यक भएकाे बताइन् । बालबालिकालाई सही संस्कार सिकाउन जरुरी रहेकोले व्यक्तिले आफू परिवर्तन भएर परिवारलाई सत्मार्गमा ल्याउनतर्फ लाग्नुपर्ने दाहालले बताइन् ।
पछिल्लाे समय मानवमा घमण्ड बढ्दाे र करुणा प्रेम घट्दो अवस्थामा रहेकाे मनकामना दुग्ध उत्पादन सहकारी संस्था अर्जुन दाहालले बताए । ‘सुख र शान्ति भनेकाे समृद्ध, प्रेम र सहकार्यमा छ, सुख पैसामा धनमा हैन, अन्तरमनमा छ’ दाहालले भने ‘आफूलाई बिर्सेर अरुलाई समर्पण गर्दा सुख छ, आनन्द पाइन्छ ।’ प्रेम बाड्न सकियो भने स्वस्थ्य रहन सकिने बताउँदै दाहालले भने ‘जस्ताे आहार उस्तै ब्यावाहार र बिचार हुन्छ, खानपानमा पनि व्यवहार परिवर्तन गरौं ।’

योग ध्यान प्राणायमले पनि शारीरिक र मानसिक स्वस्थ्य संभव भएकाे आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कविराज निरीक्षक बिनोद शाहले बताए । मानव कल्याणको लागि अभियान सुरु भएकोमा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कविराज निरीक्षक शाहले खुसी ब्यक्ति गरे । आध्यात्मिक शक्ति सबै प्रकारको शक्तिको स्रोत भएको ब्रह्मकुमारी राज योग सेवा केन्द्र क्षेत्रीय संयोजक शुसिला दिदीले बताइन् । सबै मानव आत्माहरू आफू सुध्रिएर परिवारलाई सुधार गर्न तर्फ लाग्नुपर्ने उनले बताइन् । सकारात्मक चिन्तन नै विशेष सम्पत्ति भएको उनले बताइन् ।
समाजलाई प्रकृतिलाई योगदान गर्नको लागि याे अभियान शनिबारबाट विश्वभर सुरु भएको उनले बताइन् । सकारात्मक संकल्प राख्न अनुरोध गर्दै भनिन् ‘जे सोच राखेर काम गर्यो,नतिजा उहीँ नै हुन्छ, याे समय भनेकाे संकल्प सुधारको समय हो।’ सबैको राम्रो र भलो होस् भनेर सोच्नेको पनि सधै भलो तथा सकारात्मक नै हुने उनले बताइन् । विश्वको आत्माले नै सकारात्मक संकल्प गर्नुपर्ने र बुझेकाले नै अरुलाई बुझाउन यो अभियान थालिएको उनले बताइन् ।
कार्यक्रममा केन्द्रका प्रशिक्षक ब्रम्हकुमार विजयराजले स्वच्छ र स्वास्थ्य समाजकाे लागि आध्यात्मिक सशक्तिकरण अभियानकाे आवश्यकताबारे जानकारी गराएका थिए । आध्यात्मिक सशक्तिकरण ज्ञानकाे चार्जिङकाे रुपमा उनले प्रस्तुत गरे ।
आध्यात्मिक सशक्तीकरणले आत्मालाई सशक्त बनाउने, १४० राष्ट्रमा अभियान सुरु गरिएको केन्द्रका देवनारायण लामिछाने बताए । यसैगरी सेवा केन्द्रकाे प्रशिक्षक ब्रम्हकुमार मणिले बाहिरी स्वच्छता मात्रै भएर नहुने र यसकाे लागि आन्तरिक रुपले मानसिक स्वस्थ्य आवश्यक भएकाे बताए ।
आँचलद्वारा सम्पादक दाहालसहित ९ जना स्रष्ट्रा सम्मानित
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेकाे महिलाहरुको साहित्यिक सस्था आंचल साहित्य कला पुञ्जले सहीखबरका सम्पादक सरिता दाहालसहित विभिन्न क्षेत्रका ९ जना स्रष्ट्रालाई सम्मानित गरेकाे छ । पुञ्जले शनिबार हेटौंडामा सम्मान बहस रचना वाचन तथा गायन प्रतियाेगिता कार्यक्रम आयाेजना गरी दाहाललगायतलाई सम्मानित गरेकाे हाे ।
ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०८० बाट सहीखबर डटकमकी सम्पादक मकवानपुरका दाहाल सम्मानित भएकी हुन् । उक्त सम्मानकाे राशी ७ हजार पाँच सय रुपैयाँ रहेकाे छ । दाहाल २ दशकदेखि मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील छिन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिना लम्साल तथा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गरेका उक्त सम्मान एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिदै आएकाे सापकाेटाले बताईन् ।
ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान
२०७५ सालमा कौशल पाण्डे, २०७६ मा नवराज शर्मा, २०७७ मा प्रताप विष्ट, २०७८ मा कृष्णराम परियार, २०७९ मा राममणी दाहाल सम्मानित
यसैगरी हरिवंश भेटवाल र बिजुला भेटवालले स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० बाट रौतहटकी स्रष्टा रेणुका जीसी सम्मानित भएकी छिन् । उक्त सम्मानको राशी १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । १ लाख २५ हजारको अक्षयकोषबाट सुरु गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकार यो सम्मानबाट सम्मानित गरिदै आइएकाे छ । यो सम्मान आँचलमा स्थापना भएको अक्षयकोष सहितको पहिलो सम्मान हो ।
बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान
२०७४ प्रतिमा पाठक, २०७५ रुकु कार्की, २०७६ डा. विन्दु शर्मा, २०७७ ज्ञानु अधिकारी, २०७८ तिर्थदेवी सिलवाल, २०७९ बबि थापा सम्मानित
यसैगरी प्रतिभा धिताल छन्द सम्मान,२०८० बाट नुवाकोटकी साहित्यिक स्रष्टा सुमित्रा सुमी सम्मानित भएकी छिन् । उक्त सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नी दिदी प्रतिभा धितालको नाममा २०७५ सालमा स्थापना गरेकाे उक्त सम्मान एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष छन्दमा कलम चलाउने नारी साहित्यकारलाई प्रदान गरिदै आइएकाे सापकाेटाले जानकारी दिइन् ।
प्रतिभा धिताल छन्द सम्मान
२०७५ मा बुनु लामिछाने, २०७६ मा प्रभा भट्टराई, २०७७ मा कृष्णदेवि शर्मा, २०७८ मा भुषिता वशिष्ठ, २०७९ टीका आत्रेय सम्मानित
टीकादत्त-मायादेवी-कुलकुमारी साहित्यिक सम्मान-२०८० बाट काठमाडौैकी स्रष्टा प्रभा बराल सम्मानित भएकी छिन् । उक्त सम्मानकाे राशी ११ हजार १ सय ११ रहेकाे छ । साहित्यकार रुकु कार्की तथा बहिनी प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले पिता तथा माताद्धयको नाममा १ लाख ५० हजारको अक्षयकोषसहित सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो ।
टीकादत्त-मायादेवी-कुलकुमारी साहित्यिक सम्मान
२०७६ मा ललिता दोषी, २०७७ मा निमेष निखिल, २०७८ मा देवराज खरेल, २०७९ मा माधव पोखरेल सम्मानित
यस्तै अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान-२०८० बाट नेत्र एटम (काठमाडौं) लाई सम्मानित गरिएकाे छ । अप्सरा स्मृति सम्मानको राशि १५ हजार एक रुपैयाँ रहेको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले १ लाख ९० हजार रुपैयाँको अक्षयकोषसहित सुरु गरिएकाे उक्त सम्मान साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने व्यक्तिलाई प्रदान गरिने गरिएकाे हाे ।
अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान
२०७६ मा मकवानपुरका आरसी रिजाल, २०७७ काठमाडौंका लक्ष्मी माली, २०७८ मा चितवनका सरिता तिवारी, २०७९ मा माया ठकुरी सम्मानित
यसैगरी मंगलादेवि श्रेष्ठ बाल प्रतिभा सम्मान-२०८० बाट बालजागृति इङलिस स्कुलकी प्रसिद्धि लामिछाने सम्मानित भएकी छिन् । मकवानपुरका स्रष्टा लामिछानेलाई ३ हजार ५ सय रुपैयाकाे उक्त सम्मान प्रदान गरिने छ । शिक्षा सेवी देवप्रसाद श्रेष्ठले विद्यालय तहमा अध्ययनरत विशेष प्रतिभा भएका विद्यार्थीहरूलाई प्रदान गरिने गरी उक्त सम्मान स्थापना गरेका हुन् ।
मंगलादेवि श्रेष्ठ बाल प्रतिभा सम्मान
२०७७ मा अमर माविमा अध्ययनरत् प्रज्वल ढुंगाना, २०७८ मा बालजागृति इङलिस स्कुलका ऋत्विक केवि, २०७९ मा जीएस निकेतनका समर्पण न्यौपाने सम्मानित
यस्तै मुक्ति-तारा नवप्रतिभा सम्मान-२०८० बाट मकवानपुरकी स्रष्टा स्वस्तिका बाँनिया सम्मानित भइन् । ५ हजार रुपैया राशीकाे उक्त सम्मानकाे स्थापना २०७७ मा मुक्तिगाेविन्द वैद्य र तारादेवी वैद्यले गरेका हुन् ।
मुक्ति-तारा नवप्रतिभा सम्मान
२०७७ मा प्रसिद्धिका लम्साल, २०७८ मा प्रसन्ना चौलागाई, २०७९ मा कृतिका लौडारी सम्मानित
मकवानपुरका स्रष्टा दीपक गौतमलाई सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित गरिएकाे छ । १० हजार रुपैया राशी रहेकाे सम्मानकाे संस्थापक चन्द्रकिरण श्रेष्ठ र मेनुका शर्मा हुन् । समाजसेवी श्रेष्ठ र शर्माले २०७७ मा उक्त सम्मान स्थापना गरेकाे हुन् ।
सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान
२०७७ मा सुवास खनाल, २०७८ मा छवी अनित्य, २०७९ मा बाँसुरी वाधक विष्णु बहादुर विश्वकर्मा सम्मानित
यस्तै आँचल सम्मान २०८० बाट हरिवंश भेटवाल सम्मानित भएका छन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरले प्रदान गर्ने गरेको आँचल सम्मान २०८० मकवानपुरमा रहेर निरन्तर रुपमा साहित्य श्रीवृद्धिका लागि योगदान गर्ने सामाजिक व्यक्तित्व साहित्यसेवी भेटवाललाई प्रदान गरिएकाे हाे । संस्थाको अक्षयकोक्ष स्थापना गरेर सहयोग गर्नुका साथै आफूलेसमेत अक्षयकोष स्थापना गरेर आँचललाई संस्थागत गर्न सघाउ पुर्याउनु भएकाेमा भेटवालकाे कदर गर्दै उनलाई उक्त सम्मानद्वारा सम्मानित गरिएकाे सापाकाेटाले जानकारी दिइन् ।
पुञ्जले स्थापना गरेको ८ वटा पुरस्कार र एउटा सम्मानबाट विभिन्न क्षेत्रमा याेगदान गरेका ९ जना व्यक्तित्वलाई सम्मानित गरिएकाे पुञ्जकी अध्यक्ष सापकोटाले जानकारी दिइन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरमा रहेको महिलाहरूको कृयाशील संस्था हो । २०६९ सालमा स्थापना भएको संस्थाले मकवानपुरमा रहेर विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।
हरेक महिनाको तेस्रो शनिबार नियमित भेटघाटको कार्यक्रम अन्तर्गत महिलाहरू मात्र जम्मा भएर साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको यस संस्थाले वर्षमा चारओटा वृहत कार्यक्रम गर्दै आइरहेको छ । यस संस्थाले हरेक वर्ष ९ जना श्रष्टालाई फरक फरक सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको सापकाेटा बताउँछिन् ।