मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट असार १ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सरकारको बजेट सार्वजनिकीकरणका लागि असार १ गते ४ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
सभामुख पाठकका अनुसार प्रदेशसभा बैठक अघि दिउँसो १२ बजे कार्यव्यवस्था समितिको बैठक आह्वान गरिएको छ । उक्त बैठकले प्रदेशसभाको बैठक तथा प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने कार्यसूची तयार गर्ने सभामुख पाठकले बताए ।
राताेपाटीबाट
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ रमनटारमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी मध्यबिन्दु नगरपालिका–१४ बस्ने बर्ष ४७ को दिल बहादुर टन्डन क्षेत्री रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरीबाट चितवनतर्फ जादै गरेको ना.७ ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जादै गरेको बा.प्र.०२–०३० प १६३१ नम्बरकोे स्कुटरलाई मंगलबार ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालक दिल बहादुर घाइते भएका थिए ।
घाउते उनलाई पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिफर चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–१० अरुणखोला बस्ने बर्ष ४० को बिर बहादुर कुमाललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
मकवानपुर । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाले लैङ्गिकतामा आधारीत हिंसा विरुद्ध सचेतनामुलक जानकारी कक्षा सञ्चालन गरेको छ ।
महिला अधिकारकाे सवालमा कार्यरत विभिन्न संस्थाहरुबीचमा कार्यगत एकताको लागि कार्यक्रम गरिएको हाे । संघमा आवद्ध महिला स्वास्थ्य स्वयम सेविकाहरु, एक द्वार शंकट व्यवस्थापक केन्द्र (ओसिएमसी), माइती नेपाल, बाल कल्याण समाजलगायतकाे उपिस्थतिमा कक्षा सञ्चालन गरिएकाे हाे । कार्यक्रमपछी यि संस्थाहरुबीचकाे कार्यगत एकता, रिफर प्रणालीबारे बुझाइमा स्पष्ट बनाउन सहयाेग पुगेकाे सहभागीहरुले बताए ।
कार्यक्रममा परिवार नियाेजन संघ मकवानपुर जिल्ला शाखा पुर्वसभापति प्रकाश खतिवडाले सहजिकरण गरेका थिए । छलफल कार्यक्रमपछि सहभागीहरुलाई हिंसाबारे बुझ्न समस्याको पहिचान, समाधानको लागि संस्थागत समन्वयमा समेत आगामी दिनमा सहज रुपमा काम गर्न सहयाेग हुने अपेक्षा गरिएकाे खतिवडाले बताए । सहभागीहरुले महिलाको सवालमा कानूनमा गरिएकाे व्यवस्थाबारे जानकारी नभएकाेले काम गर्न समस्या हुने गरेकाे बताएका थिए ।
महिलाकाे स्वास्थ्य अधिकारको सवालमा सहभागीहरुले छलफल गरेको खतिवडाले बताए । कार्यक्रमपछि महिला स्वास्थ्य स्वयमसेविकाहरुले हिंसाको सवालमा आगामी दिनमा विभिन्न संस्थामा उचित उपचारकाे लागि रिफर गर्ने बताए ।
महिला हिंसामुक्त समाज निर्माणको लागि सचेतनाको पाटो सशक्त बनाउन कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गरेको संघको केन्द्रीय सदस्य निगम श्रेष्ठले बताए । लैङ्गिकताको आधारमा हुने हिंसा, त्यस विरुद्धको कानूनी घटना रिफर गर्न तथा न्यायको लागि अघि बढ्न कार्यक्रम प्रभावकारी भएको केन्द्रीय सदस्य श्रेष्ठले बताए ।
कार्यक्रमा संघको शाखा सभापति इश्वर पण्डित, कोषाध्यक्ष फुलमान श्रेष्ठ, शाखा प्रबन्धक ममता श्रेष्ठ, लेखापाल महेश पाण्डेलगायतकाे समेत उपस्थिती रहेको थियो । आफूहरुलाई समय समयमा कम आवश्यक भएको परिवर्तित कानूनी व्यवस्थाहरुबारे प्रशिक्षण कार्यक्रमको समेत अवश्यकता रहेको सहभागीहरुले बताएका थिए ।
चितवन । अत्यधिक गर्मीले जनजीवन समेत प्रभावित हुन थालेपछि भरतपुर महानगरपालिकाका सबै विद्यालय जेठ ३२ गतेसम्म विदा हुने भएकाे छ । गर्मीका कारण महानगरपालिकाले जेठ २९ गते मंगलबारबाट विद्यालय विदा दिने भएकाे हाे ।
भरतपुर महानगरले सोमबार सूचना सार्वजनिक गर्दै बर्खे विदाबाट कट्टी हुनेगरी मंगलबारदेखि शुक्रबारसम्म शैक्षिक संस्थामा पठनपाठन नगराउन अनुरोध गरेको हो । गर्मीका कारण बालवालिकाको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिहरू, अभिभावक, विद्यालय र सरोकारवालाहरूको सुझावका आधारमा महानगरका विद्यालय ४ दिन बन्द गरिएकाे बताइएकाे छ ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएकाे छ – ‘केही दिनदेखिको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भैरहेको र बालवालिकाहरूको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले विद्यालय सञ्चालनका लागि कठिन भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिहरू, अभिभावक, विद्यालय र सरोकारवालाहरूको सुझावका आधारमा साउनको अन्तिम साता (साउन २९ देखि ३२ गतेसम्म) को वर्षे विदाबाट कट्टा हुनेगरी यही मिति २०८१/०२/२९ गते देखि २०८१/०२/३२ गते (मंगलबारदेखि शुक्रबार) सम्म जम्मा ४ दिन महानगरपालिकाबाट विदा गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।
साथै विदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी-पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरूलाई अनुरोध गर्दै सोही बमोजिम आफ्ना विद्यार्थीहरूलाई निर्देशन दिनुहुन सबै विद्यालयहरूलाई अनुरोध छ ।´ अब महानगरका विद्यालय असार २ गतेबाट खुल्ने छन् ।
मकवानपुर । मकवानपुरकाे हेटाैंडामा भएकाे नि:शुल्क शिविरमा ९४१ विद्यार्थीकाे आँखा जाँच गरिएकाे छ ।
पूर्व विद्यार्थीहरूको संस्था भुटनदेवी एल्मुनाई एशोसिएसन, रोटरी क्लब अफ हेटाैंडा, भुटनदेवी मावि र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क आँखा परीक्षण गरिएकाे हाे ।
शिविरमा आँखा परिक्षण गरिएकाे मध्ये ७९ जनाको आँखामा समस्या देखिएको शिविरमा सहभागी हेटौंडा आँखा अस्पतालका डाक्टर शुसिल कुमार सिंहले जानकारी दिए । उनीहरुकाे आँखामा थप उपचार गर्नु पर्ने भएकाेले सामुदायिक आँखा अस्पताल रिफर गरिएकाे भुटनदेवी अल्मुनाई एशोसिएसन महासचिव राजेन्द्र पोखरेलले बताए।

शिविरमा भुटनदेवी माविका प्रअ माधवप्रसाद दाहाल, भुटनदेवी मावि पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वा दोर्जे लामा, रोटरी क्लब हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेल, पूर्व प्रअ विशाल शर्मा बिडारी, एल्मुनाई एशाेसियनका सल्लाहकार विजेन्द्र अग्रवाल, हेटौडा २ का वडा अध्यक्ष अध्यक्ष विष्णु गोपाल महर्जनकाे उपस्थिति रहेकाे कार्यक्रम संयोजक सुदर्शन ढकालले बताए ।