चितवन । अत्यधिक गर्मीले जनजीवन समेत प्रभावित हुन थालेपछि भरतपुर महानगरपालिकाका सबै विद्यालय जेठ ३२ गतेसम्म विदा हुने भएकाे छ । गर्मीका कारण महानगरपालिकाले जेठ २९ गते मंगलबारबाट विद्यालय विदा दिने भएकाे हाे ।
भरतपुर महानगरले सोमबार सूचना सार्वजनिक गर्दै बर्खे विदाबाट कट्टी हुनेगरी मंगलबारदेखि शुक्रबारसम्म शैक्षिक संस्थामा पठनपाठन नगराउन अनुरोध गरेको हो । गर्मीका कारण बालवालिकाको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिहरू, अभिभावक, विद्यालय र सरोकारवालाहरूको सुझावका आधारमा महानगरका विद्यालय ४ दिन बन्द गरिएकाे बताइएकाे छ ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएकाे छ – ‘केही दिनदेखिको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भैरहेको र बालवालिकाहरूको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले विद्यालय सञ्चालनका लागि कठिन भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिहरू, अभिभावक, विद्यालय र सरोकारवालाहरूको सुझावका आधारमा साउनको अन्तिम साता (साउन २९ देखि ३२ गतेसम्म) को वर्षे विदाबाट कट्टा हुनेगरी यही मिति २०८१/०२/२९ गते देखि २०८१/०२/३२ गते (मंगलबारदेखि शुक्रबार) सम्म जम्मा ४ दिन महानगरपालिकाबाट विदा गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।
साथै विदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी-पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरूलाई अनुरोध गर्दै सोही बमोजिम आफ्ना विद्यार्थीहरूलाई निर्देशन दिनुहुन सबै विद्यालयहरूलाई अनुरोध छ ।´ अब महानगरका विद्यालय असार २ गतेबाट खुल्ने छन् ।

