मकवानपुर । बहुचर्चित तराइ काठमाण्डौ फास्ट ट्रयाक अन्तरगत सोमबार अर्को ब्रेक थ्रु भएको छ ।
राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको यो मार्गमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको बकैया गाउँपालिका वडा न १२ मा रहेको धेद्रेमा सुरुङको ब्रेक थ्रु गरेका हुन् ।
काठमाडौं तराई मधेश द्रूतमार्ग सडक आयोजनाअन्तर्गत घट्टेपाँखा स्थित धेद्रे सुरुङको स्वीच थिचेर ब्रेक थ्रू गरेका हुन् । प्रधानमन्त्री ओलीले एक दशमलव ७२८ किमी लामो सुरुङ ब्रेक थ्रू गरेका हुन् ।
बारा जिल्लाको निजगढबाट कामाठाडौंतर्फको एक दशमलब ६५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ब्रेक थ्रु भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नम्बर दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सकिएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, नेपालका लागि चीन र कोरियाका राजदूत पनि ब्रेक थ्रू समारोहमा उपस्थित थिए ।
प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए । शर्माका अनुसार भौतिक प्रगति ३५ दशमलब ९८ प्रतिशत सकिएको छ ।
लेनडाँडामा रहेको निजगढ काठमाडौंतर्फको एक दशमलब ६१२ किमी र काठमाडौं निजगढतर्फको एक दशमलब ६३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ ।
तीन दशमलब ३२२ किमीको निजगढ(काठमाडौंतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलब २९ किमी तथा तीन दशमलव ३८६ किमीको काठमाडौं निजगढतर्फको दुई दशमलव २८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
राष्ट्रिय गौरवको योजना अन्तरगत द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढमा शिलान्यास गरेका थिए ।
नेपाल सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो ।
बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमब ९७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रूतमार्गमा १० दशमलब ३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्ने छन् ।
आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलब २५ किमी, महादेवडाँडामा तीन दशमलब ३५५ किमी, धेद्रेमा एक दशमलब ६९१ र लेनडाँडामा एक दशमलव ६२३ किमी लामो सुरुङ निर्माण हुनेछ ।
सो सडकमा विभिन्न स्थानमा १२ दशमलब ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एकरएक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ ।
मकवानपुर । बागमती प्रदेशका पुर्व मन्त्री एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले स्थायीत्वको लागि बर्तमान गठबन्धन बनेको बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा थपलियाले उक्त कुरा बताएका हुन् । स्थायी सरकार बनाएर जनताको विश्वास जितेर काम गर्ने बताउँदै उनले भने ‘बर्तमान सरकारले स्वदेशमा रोजगार पाउने वातावरणको सुरुवात गर्दै लैजाने छ ।’
‘प्रदेश सरकारले स्वरोजगार बन्न अभिप्रेरित गर्नेगरी बजेट छुट्टाएको छ’ उनले भने ‘जनताले सरकार छ भन्ने महसुस गराउने गरी हामी काम गर्छौं ।’ बिदेश जाने क्रम बढीरहेकोले यसको न्यूनीकरण गर्नेतर्फ सरकार उन्मुख रहेको उनले जानकारी दिए । स्वतन्त्र विद्यार्थी युनियन धेरै तर राम्रा काम गर्ने गरेको भन्दै फोटोग्राफीको समेतकाे तालिम गरेकोमा उनले खुशी व्यक्त गरे ।
संसारमा परिचय बनाउन फोटोग्राफीले मद्दत गर्ने भएकाेले तालिमलाई सार्थक बानाउने गरी उपयोग गर्न उनले सुझाव समेत दिए । स्ववियु हेटौंडा क्याम्पसले ७ दिनसम्म संचालन गरेकाे तालिममा ७५ जना सहभागी रहेकाे थियाे ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, जिल्ला युवा समिति अध्यक्ष शिबहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरकमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएकी छिन् । हेटौंडामा भएको सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा लक्ष्मी उप्रेती मैनाली, सहसचिवमा सुभद्रा खड्गे, कोषाध्यक्षमा सुनिता मानन्धर चयन भएका छन् । सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा भएको भेलाले कार्यसमिति चयन गरेको हो ।
संघले सौन्दर्यकर्मीहरुको क्षमता विकासका लागि नयाँ तालिमहरु सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष सिटौलाले बताइन् ।
मकवानपुर । आगामी भदौ २८ र २९ गते युवा संघ नेपाल मकवानपुर जिल्लाको अधिवेशन हुने भएकाे छ । युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको दोस्रो बैठकले उक्त मितिमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।
जिल्ला संयोजक राजेश नगरकोटीको अध्यक्षतामा भएकाे बैठकले अधिवेशनसहितका छ वटा निर्णयहरू गरेको छ । गत जेठमा भएकाे नेकपा एमाले मकवानपुरको १२ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा मनोनीत सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ । त्यस्तै एमालेबाट प्रदेश र केन्द्रीय पदमा मनोनीत तथा विभिन्न जिम्मेवारीमा नियुक्त सम्पूर्ण सदस्यहरूलाई बधाई दिने निर्णय भएकाे नगरकाेटीले जानकारी दिए ।
बैठकले वातावरण संरक्षण र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने लक्ष्य सहित आगामी दिनहरूमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै युवा संघ त्यागेर समाजवादी पार्टीमा प्रवेश गरेकी मेनुका श्रेष्ठलाई संगठनको नियमानुसार कारबाही गर्ने निर्णय भएकाे उनले बताए । युवा संघ बागमती प्रदेशको आगामी श्रावण २६ र २७ गते भक्तपुरमा हुने अधिवेशनका लागि मकवानपुर जिल्लाबाट प्रतिनिधिहरू छनोट गरिएको छ ।
संयोजक नगरकोटीले बैठकमा गरिएका निर्णयहरूले संगठनलाई थप सुदृढ र क्रियाशील बनाउने बताए। ‘आगामी दिनहरूमा युवाहरूको हितका लागि अझ बढी कार्यक्रमहरू ल्याउने योजनामा रहेको छ’ उनले भने । उनले राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आगामी गतिविधिहरूको लागि बैठकबाट महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको बताउँदै संगठनले युवाहरूको सशक्तीकरण र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जानकारी दिए ।
बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना, मकवानपुर अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्ट, जिल्ला सदस्य तथा युवा ईन्चार्ज सानु लामा दोङ, युवा संघ बागमती प्रदेश संयोजक राजु तिवारी लगायतको आतिथ्यता रहेको थियो ।
काठमाडौं। साहित्यकार कल्पना काफ्लेको मुक्तक संग्रह ‘अशान्त धड्कन’ सार्वजनिक भएकाे छ । शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बीच ‘अशान्त धड्कन’ को लाेकार्पण गरिएको हो ।
प्राडा माधवप्रसाद पाेखरेल, साहित्यकार नवराज लम्साल, काफ्लेकी आमालगायतले मुक्तक संग्रहकाे लाेकार्पण गरे । दुई सय बढी मुक्तक समावेश गरिएकाे मुक्तक संग्रहमा विकृति, विसंगतिहरू, माया प्रेमलगायतका भावयुक्त मुक्तक समेटिएका छन् ।
काफ्लेकाे यसअघि भाव सरोवर कविता संग्रह प्रकाशित छ । साहित्य सुधाकी संस्थापक काफ्ले नेपाल एयरलाइन्समा कार्यरत छिन् ।