मकवानपुर । आगामी भदौ २८ र २९ गते युवा संघ नेपाल मकवानपुर जिल्लाको अधिवेशन हुने भएकाे छ । युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको दोस्रो बैठकले उक्त मितिमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।
जिल्ला संयोजक राजेश नगरकोटीको अध्यक्षतामा भएकाे बैठकले अधिवेशनसहितका छ वटा निर्णयहरू गरेको छ । गत जेठमा भएकाे नेकपा एमाले मकवानपुरको १२ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा मनोनीत सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ । त्यस्तै एमालेबाट प्रदेश र केन्द्रीय पदमा मनोनीत तथा विभिन्न जिम्मेवारीमा नियुक्त सम्पूर्ण सदस्यहरूलाई बधाई दिने निर्णय भएकाे नगरकाेटीले जानकारी दिए ।
बैठकले वातावरण संरक्षण र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने लक्ष्य सहित आगामी दिनहरूमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै युवा संघ त्यागेर समाजवादी पार्टीमा प्रवेश गरेकी मेनुका श्रेष्ठलाई संगठनको नियमानुसार कारबाही गर्ने निर्णय भएकाे उनले बताए । युवा संघ बागमती प्रदेशको आगामी श्रावण २६ र २७ गते भक्तपुरमा हुने अधिवेशनका लागि मकवानपुर जिल्लाबाट प्रतिनिधिहरू छनोट गरिएको छ ।
संयोजक नगरकोटीले बैठकमा गरिएका निर्णयहरूले संगठनलाई थप सुदृढ र क्रियाशील बनाउने बताए। ‘आगामी दिनहरूमा युवाहरूको हितका लागि अझ बढी कार्यक्रमहरू ल्याउने योजनामा रहेको छ’ उनले भने । उनले राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आगामी गतिविधिहरूको लागि बैठकबाट महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको बताउँदै संगठनले युवाहरूको सशक्तीकरण र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जानकारी दिए ।
बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना, मकवानपुर अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्ट, जिल्ला सदस्य तथा युवा ईन्चार्ज सानु लामा दोङ, युवा संघ बागमती प्रदेश संयोजक राजु तिवारी लगायतको आतिथ्यता रहेको थियो ।

