मकवानपुर । मकवानपुरको हेटौंडाबाट अनलाइनमार्फत ठगी गर्ने ९ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घर भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२१ साउन बेलुका ६ बजेको समयमा वाग्लेको घरको पाँचौं तलाको फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी मार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुधबार पत्रकार सम्मेलन मार्फत प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए ।
प्रहरी प्रमुख रिजालका अनुसार पक्राउ पर्नेहरूमा सबै भारतीय नागरिक रहेका छन् । पक्राउ पर्नेहरूमा भारत पटना थाना आलमगंज वडा नम्बर–५७ बस्ने २८ वर्षीय नवनित कुमार, भारत स्वाग कोल्लिएरी, बोकरो झारखण्ड बस्ने २७ वर्षीय शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार बस्ने २९ वर्षीय कुन्दन कुमार, भारत कृष्ण कालोनी छोटी मुखानी हल्द्धानी नैनिताल उत्ताराखण्ड बस्ने २६ वर्षीय आशिष कब्डौला, भारत काजु बागाना रोड सुन्दर नगर, हेहल राँची झारखण्ड बस्ने ३४ वर्षीय विशाल कक्कड, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड बस्ने ३८ वर्षीय लोकेशकुमार दुवे, भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड बस्ने २९ वर्षीय विकासकुमार सिंह, भारत नांगलोड वेस्टी देल्ही बस्ने २८ वर्षीय अरुणकुमार, भारत बैशाली गजियावाद उत्तर प्रदेश बस्ने ४० वर्षीय कुनाल शर्मा रहेका छन् ।
पक्राउ परेका उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान बरामद गरिएकाे रिजालले जानकारी दिए ।
प्रहरी उपरीक्षक रिजालका अनुसार १० फागुन २०८० मा हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा भारत पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई सञ्चलन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सिंहले आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट मेडि असिष्ट कम्पनी देखाएर मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरिएको र उक्त कम्पनीमा १२ जना व्यक्तिहरूलाई काममा राखेको उनले बताए ।
१२ जनामध्ये ३ जना (द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश) फरार रहेको रिजालले बताए । सो कम्पनीमा कार्यरत व्यक्तिहरूले १८ देखि ५० हजार भारतीय रुपैयाँ नगदमा तलब बुझ्ने गरेको खुले पनि भुक्तानीको कुनै पनि अभिलेख फेला नपरेको उनले बताए । भारतको राचीस्थित हेड अफिसमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत काम गर्ने गरेको खुल्न आएको उनले बताए । सो सफ्टवेयर मार्फत टार्गेट ग्रुप पहिचान गरी सम्पर्क गर्ने र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको रिजालले जानकारी दिए ।
अनुसन्धानका क्रममा कम्पनीद्वारा कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको र अभिलेखीकरण नभेटिएको उनले बताए । उक्त कम्पनीबाट हुने गरेको काम कारबाहीको डाटा समेत हेड अफिसको सरभरमा राख्ने गरेको उनको भनाई छ । सो कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको अनुसन्धानमा खुलेको उनले बताए ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१), (२) विपरीत कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए । उनीहरूमाथि सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय माग गरी मुद्दा दर्ता गरिने बताइएकाे छ।
मकवानपुर । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ ।
जसको प्रभावले हाल देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
यसैगरी बुधबार राति देशभर साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
वर्षाको कारण आउने बाढी पहिरोले जनधन क्षति हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
मकवानपुर । नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएकाे सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ।
मंगलबारकाे दोस्रो सेमिफाइनलमा इरानमाथि २५–२१ , २८–२६ र २५–२० को साेझो सेटमा जित निकाल्दै घरेलु टोली नेपाल उपाधि नजिक पुगेको हाे। नेपालले अब उपाधिका लागि साविक विजेता भारतसँग बुधबार खेल्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएकाे खेलकाे पहिलो सेटमा सहज जित निकालेको नेपाल दोस्रो सेटमा २१–२४ ले पछि परेको थियाे ।
दोस्राे सेटमा नेपालले २८–२६ को रोमाञ्चक जित निकालेको हो। नेपाल लिग चरणमा इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। योसँगै नेपालले इरानसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ।
भारतले मंगलबार भएकाे पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो। इरानले अब तेस्रो स्थानका लागि बुधबार श्रीलंकासँग खेल्नेछ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ का सांसद दीपक बहादुर सिंहले एक वर्षको तलब रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।
प्रतिनिधि सभा पुर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले मंगलबार तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत समेतको उपस्थितीमा ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरे ।
सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजारमा ३ लाख ८७ हजार रुपैयाँ थप गरी आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा सांसद सिंहले आफूले निर्वाचनका बेला जनतासँग गरेको मध्य एउटा बाचा पहिलो वर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताल मार्फत उपलब्ध गराउने पुरा गरेको बताए ।
कार्यक्रममा डाक्टर रुइतले सांसद सिंहले गरेको सहयोग अन्तरआत्माबाट आएको मनोभावनाका रुपमा लिनु पर्ने जानकारी दिए । सांसद सिंहले गर्नु भएको सहयोग गरिब जनतामा पुर्याउने उनले बताए । मकवानपुरकाे हेटौंडा ३ बसामाडीमा निर्माणधिन आँखाको लेन्स उत्पादन गर्ने भवनको लागि पनि सो रकम प्रयोग गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पताल व्यवस्थापन समितीका संरक्षक सिद्धीलाल श्रेष्ठ, अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली, हेटौडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरिबोल महत, हेटौंडा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामालगायतको उपस्थिति रहेको थियो ।
मकवानपुरकाे हेटाैडामा रहेकाे सामुदाियक आँखा अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवा ग्राहीले सेवा लिने गरेका छन् । यहाँ मधेश प्रदेश र बागमती प्रदेशमा रहेका आँखा सम्बन्धी समस्या भएकाहरुलाई याे अस्पतालले सेवा प्रदान गर्दै आएकाे अस्पतालका प्रशासकीय प्रमुख सुधिर श्रेष्ठले बताए ।
चितवन । बाघको आक्रमणबाट घाइते पशुपति श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल अस्पताल आएका छन् ।
आईतवार बिहान भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा मर्निङ्गवाकमा हिडिरहेका चितवनका ६० वर्षीय श्रेष्ठ बाघको आक्रमणमा परि घाईते भएका थिए । हाल चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न मन्त्री सिलवाल सोमबार अस्पताल पुगेका हुन् ।
घाईते श्रेष्ठसँग भेटका क्रममा मन्त्री सिलवालले स्वास्थ्यलाभको कामना सहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसंग बुझेका थिए । यस्तै मन्त्री सिलवालले बिरामीको उपचारमा कुनैपनि कमी नहोस भन्दै आवश्यक परेको खण्डमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले आर्थिक सहायता समेत गर्ने प्रतिबद्धता जनाए ।
यस्तै भरतपुर महानगरपालिका- २ बेलटाँडी निवासी श्रेष्ठले आफू घाइते भई उपचार गर्दै गरेको अवस्थामा प्रदेशको मन्त्री अस्पतालमै आएर भेट्दा खुसी लागेको बताए । श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आईतवार राती नियन्त्रणमा लिएर सौराहा निकुञ्ज लगेकाे छ ।