मकवानपुर । नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएकाे सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ।
मंगलबारकाे दोस्रो सेमिफाइनलमा इरानमाथि २५–२१ , २८–२६ र २५–२० को साेझो सेटमा जित निकाल्दै घरेलु टोली नेपाल उपाधि नजिक पुगेको हाे। नेपालले अब उपाधिका लागि साविक विजेता भारतसँग बुधबार खेल्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएकाे खेलकाे पहिलो सेटमा सहज जित निकालेको नेपाल दोस्रो सेटमा २१–२४ ले पछि परेको थियाे ।
दोस्राे सेटमा नेपालले २८–२६ को रोमाञ्चक जित निकालेको हो। नेपाल लिग चरणमा इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। योसँगै नेपालले इरानसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ।
भारतले मंगलबार भएकाे पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो। इरानले अब तेस्रो स्थानका लागि बुधबार श्रीलंकासँग खेल्नेछ।

