मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
१६ साउनमा बागमती प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुख समक्ष पेश भएको उक्त विधेयक प्रदेश प्रमुख देवकोटाले बिहीबार प्रमाणीकरण गरेका हुन् । १८ साउनमा पदबहाली गरेपछि उनले पहिलो पटक विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रमाणीकरण भएको उक्त विधेयक प्रदेश राजपत्रमा “विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१” को नाम प्रयोग प्रकाशित भइ प्रचलनमा आउने छ ।
विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा गरिने लगानीबाट विकसित, प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउदै प्रदेशको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले उक्त विधेयक प्रदेश सभाबाट पारित भएको हो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा एउटा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान मनहरी-६ प्रतापपुरस्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
बाघले राईको गोठमा रहेको भैंसीलाई आक्रमण गर्दा भैंसी घाइते भएको र सोहि गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोली र पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट बाघलाई भैसीले हान्दा मरेको हुन सक्ने मकवानपुर प्रहरी जानकारी दिएको छ।
उक्त स्थान चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकोले निकुञ्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मृत बाघ अनुसन्धानका लागि जिम्मा लिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबलको मिति सरेको छ । ७ भदौबाट हुने भनिएको प्रतियोगिता एकहप्ता पछि सारिएकाे हाे ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघको बुधबार बसेकाे कार्यसमितिको आकस्मिक बैठकले प्रतियोगिता एक हप्ता पर सारिएकाे जानकारी दिएकाे छ । बैठकले झरी वर्षाका कारण मौसम अनुकुल नरहेकोले १४ भदौबाट लिग प्रतियाेगिता संचालन हुने गरी मिति सारिएकाे आयोजकले जनाएकाे छ ।
प्रतियोगिताकाे लागि ९ भदौसम्म टिम दर्ता, १० भदौमा खेल तालिका सार्वजनिक हुने गरी कार्यतालिका समेत सारिएकाे हाे ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विभागीय मन्त्री र मन्त्रालयका सचिवहरूलाई जिम्मेवार ढंगबाट काम गर्न तथा गुनासो रहित सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिएका छन्। बुधबार विभागीय मन्त्री र प्रमुख सचिवसँग कार्य सम्पादन करार सम्झौता गर्दै उनले यस्तो बताएका हुन् ।
नागरिकहरूलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न समेत उनले निर्देशन दिए । उनले सुशासनका विषयमा गम्भीर हुनुपर्ने समेत बताए । ‘नागरिकको आवश्यकता र चाहना अनुसार सहज सेवा तथा विकासका काम अघि बढाउन पर्छ’ उनले भने ।
‘प्रदेश सरकार माथि विविध चुनौती छन्, त्यसकाे सामना गर्न सक्रिय रूपमा काम गर्नुपर्छ’ उनले भने ‘पछिल्लो समय विभिन्न कोणबाट प्रदेश संरचनाको टीकाटिप्पणी भइरहेकाले त्यसलाई व्यवस्थापन गर्न गम्भीर हुन जरुरी छ ।’
मकवानपुर । बागमती प्रदेशकी उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले प्रविधिमैत्री सेवा विस्तार गर्ने भएकाे छ । मन्त्री सुकमाया तामाङले मन्त्रालयकाे पहिलो वार्षिकोत्सवको अवसरमा सबै सेवाहरु प्रविधिमैत्री बनाउँने कार्यको सुरुवात गरेकी छिन् ।
बुधबार मन्त्रालयको सेवासम्बन्धी जानकारीमूलक डिजिटल डिस्प्ले उद्घाटन गर्दै मन्त्री तामाङले गत वर्षदेखि हालसम्मको वार्षिक बुलेटिन अनावरण समेत गरिन् । उनले मन्त्रालयको कार्य जिम्मेवारीअनुरुप सम्पादन गर्नुपर्ने कार्यहरुलाई आर्थिक अनुशासन कायम गर्दै सर्वसाधारणले पाउनुपर्ने सेवासुबिधा छिटो, छरितो एवम् प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्न उत्साहजनक सहभागिता र सहयोगका लागि उनले कर्मचारीको प्रशंसा गरिन् ।
‘व्यापार र उद्योगको क्षेत्रमा, व्यापार सम्बन्धी नीति, कार्यक्रम, कानून, मापदण्ड, योजना तर्जुमा र कार्यान्वयनका लागि प्रचलित ऐन नियमको परिधिमा रही मन्त्रालय र अन्तरगत कार्यालयहरुमा कार्यरत जनशक्तिबाट कार्य भएकाे छ’ उनले भनिन् ‘विकास र वातावरणीय सन्तुलन कायम राखी प्रविधिमैत्री प्रदेश निर्माण गर्न उत्पादन र उत्पादकत्व बढाउन साना, मझौला, घरेलु, र लघु उद्योग स्थापना गर्न उद्यमीलाई उत्साहित गर्दै उद्यमशीलताबाट स्वरोजगार तथा रोजगारी सिर्जना गरिने छ ।’
उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न उद्यम तालिम, उद्योग प्रवर्द्धनार्थ औद्योगिक बस्तुको निर्यात र औद्योगिक प्रदर्शनीहरु, उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने जस्ता कार्यक्रम सफलतापूर्वक अघि बढिरहेका छन्’ उनले भनिन् । खनिज र भौगोलिक अध्ययन, खानी र खनिज पदार्थको अन्वेषण र व्यवस्थापनमा प्रादेशिक नीति, कानुन र मापदण्ड तर्जुमा र कार्यान्वयनमा सुरु गरेका कार्यहरुले सकारात्मक दिशा लिएको उनले दाबी समेत गरिन् ।
भौगोलिक अध्ययन, नक्सा व्यवस्थापन र भौगोलिक सूचना प्रणालीको समन्वयले मन्त्रालयका कामहरुलाई अझ प्रभावकारी बनाउने आशा गरेकी उनले उपभोक्ता संरक्षणका क्षेत्रमा पनि मूल्य र कालोबजारी नियन्त्रण, उपभोक्ता हकअधिकार संरक्षण, स्वदेशी उत्पादनमैत्री कार्यालय र उपभोक्ता अदालत गठन जस्ता पहलहरुलाई प्राथमिकता दिइएको बताइन् । ‘यी प्रयासहरुले उपभोक्ताको सन्तुष्टि र सुरक्षा सुनिश्चित गर्न हामी सफल हुनेछौं भन्ने विश्वास छ,’ उनले भनिन् ।
भूमि व्यवस्थापन क्षेत्रमा, भूमि प्रशासन, नापजाँच, भूमिसुधार, नदीउकास जमिन संरक्षण गरी व्यावसायिक प्रयोजनार्थ भूमिको निर्माण गर्नेर भूउपयोग नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयनलाई तीव्ररुपमा कार्यहरू अघि बढाएको जानकारी दिएकी उनले भूमि अभिलेख व्यवस्थापन, जग्गादर्ता, र स्वामित्व हस्तान्तरण प्रक्रियामा सुधार ल्याउने प्रयासलाई कर्मचारीको सक्रियता र सहयोगले सफल बनाएको बताइन् । ‘भूमिहीन वर्गको बसोबास र पुनर्स्थापनाका कार्यक्रममा पनि हामीले ठोस कदम उठाउन सफल भएका छौं’ उनले भनिन् ।
पुस्तिकाले विगतका वर्षहरुका कार्यहरुको अभिलेखिकरण गर्नुका साथै मन्त्रालयका सबल पक्षलाई बढाउँदै कमीकमजोरी सुधार गरी आगामी दिनहरुमा अझ परिणाममुखी बनाइने उद्योग गरौं, उद्यमी बनौ र समृद्ध नेपाल बनाऔं’ भन्ने मूल नारालाई मूर्तरुप दिलाउन सकिने आशा उनले लिएकी छन् ।