मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा एउटा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान मनहरी-६ प्रतापपुरस्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
बाघले राईको गोठमा रहेको भैंसीलाई आक्रमण गर्दा भैंसी घाइते भएको र सोहि गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोली र पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट बाघलाई भैसीले हान्दा मरेको हुन सक्ने मकवानपुर प्रहरी जानकारी दिएको छ।
उक्त स्थान चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकोले निकुञ्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मृत बाघ अनुसन्धानका लागि जिम्मा लिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
