फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल समिकरण पुरा भएकाे हाे । खेल्ने चारै टोलीको टुङ्गो लागेको हो ।
आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका हुन् । यही दुई टोली सेमिफाइनलमा भिड्नेछन् इंग्ल्यान्डले एक गोलले पछि परेपनि त्यसलाई उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको हो । यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
नर्वे र स्विटरल्यान्ड सेमिफाइनलमा पराजित भएपछि विश्वकपमा नयाँ टिम विजेता नबन्ने पक्का भएको हो । त्यसअघि नै दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २-१ ले हराउदै सेमिफाइनल प्रवेश गरेको हो । स्पेन सन् २०१० पछि विश्वकपको सेमिफाइनलमा पुगेकाे हाे ।
सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।
अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन असार ३१ गते भिड्ने छन् । यस्तै इंग्ल्यान्ड र अर्जेन्टिना बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार हुनेछ । दुबै खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ । सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन् ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ ओम्याक्स हल नजिक स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका १ जनाकाे क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४ निवासी ४८ वर्षीय सन्तोष दास रहेका छन्।
मकवानपुर प्रहरीका अनुसार असार २० गते दिउँसो १ बजे कर्रा चोकबाट सिमाचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०४४ प २३९६ नम्बरको स्कुटरले सडक किनारमा उभिरहेका दासलाई ठक्कर दिएको थियो। मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुना स्थायी घर भई हाल हेटौंडा–४ नेपालचोकमा डेरा गरी बस्ने १८ वर्षीय मनिष गौतमले चलाएकाे उक्त स्कुटरकाे ठक्करबाट दास घाइते भएका थिए।
दुर्घटनामा दासको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई स्थानीयकाे सहयोगमा तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकाेमा थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा असार २४ गते बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुटर चालक गौतमलाई प्रहरीले घटनालगत्तै नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
फिफा विश्वकप फुटबल अन्तरगत उत्तर अमेरिकामा भइरहेको खेलमा क्वाटरफाइनल समिकरण पूरा भएको छ । प्रिक्वाटरफाइनलका खेलहरु सकिएसँगै अन्तिम ८ (क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ।
क्वाटरफाइनलमा युरोपबाट ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १/१ टिम प्रवेश गरेका छन् । उपाधि दौडमा रहेका ८ टोलीबीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुने भएको छ।
क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्गल्याण्ड, अर्जेन्टिना र स्विजरल्याण्ड प्रवेश गरेका हुन् । पहिलो क्वार्टरफाइनल खेल फ्रान्स र मोरक्कोबीच हुनेछ। यो खेल जुलाई १०, शुक्रबार राति १:४५ बजे (नेपाली समय अनुसार) सुरु हुनेछ।
यसैगरी दोस्रो खेलमा दुई युरोपेली देश स्पेन र बेल्जियम आमने-सामने हुनेछन्। यो खेल जुलाई ११, शनिबार राति १२:४५ बजे हुने तय भएको छ।तेस्रो क्वार्टरफाइनलमा नर्वेले इङ्गल्याण्डको सामना गर्नेछ। यो खेल जुलाई १२, आइतबार बिहान २:४५ बजे सुरु हुनेछ। यसैगरी अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विजरल्याण्डबिच भिडन्त हुनेछ। यो खेल जुलाई १२, आइतबार बिहान ६:४५ बजे हुनेछ।
कीर्तिमानी पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम १६ बाटै बाहिरिए । यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरियो ।
प्रिक्वाटरफाइनलको पहिलो खेलमा अफ्रिकन पावर हाउस मोरक्कोले सहआयोजक क्यानडालाई ३-० ले हराएर लगातार दोस्रो पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान बनायो । चार वर्षअघि मोरक्कोले सेमिफाइनल पुग्दै इतिहास रचेको थियो ।
घरेलु मैदानमा इतिहास रच्दै नकआउट चरण पुगेको क्यानडाको यात्रा अन्तिम १६ मै समाप्त भयो । अर्को खेलमा साविक उपविजेता फ्रान्सले किलियन एमबाप्पेको पेनाल्टी गोलमा जायन्ट किलर पाराग्वेलाई १-० ले हरायो । यस्तै वर्तमान विश्व फुटबलका घातक स्ट्राइकर हालान्डले अन्तिम समयमा दुई गोल गरेपछि ब्राजिललाई २-१ ले हराएर नर्वेले पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो । ब्राजिल भने ३६ वर्षपछि विश्वकपमा क्वाटरफाइनल पुग्न असफल रह्यो ।
इंग्ल्यान्डले रोमाञ्चक खेलमा दश खेलाडीमा रहेर पनि सहआयोजक मेक्सिकोलाई ३-२ ले हराउँदै क्वाटरफाइनमला स्थान बनायो । अर्को प्रिक्वाटरफाइनलमा मिकेल मेरिनोले इन्जुरी टाइममा गोल गरेपछि स्पेनले छिमेकी पोर्चुगललाई १-० को झिनो अन्तरले हराएर अन्तिम आठमा स्थान बनायो । आयोजक राष्ट्रहरु बाहिरिने क्रमले निरन्तरता पाउँदा अमेरिका बेल्जियमसँग घरेलु मैदानमै ४-१ ले पराजित भयो ।
साविक विजेता अर्जेन्टिनाको लागि भने नकआउट चरणका खेलहरु चुनौतीपूर्ण बनेकाे छ । अन्तिम ३२ को खेलमा नवप्रवेशी केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा अर्को अफ्रिकी राष्ट्र इजिप्ट विरुद्ध दुई गोलले पछि परेको स्थिती उल्टाउँदै ३-२ को पुनरागमन जित हात पारेको हो ।
यस्तै अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टीसुटबउटमा ४-३ ले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटबाट नतिजाको टुङ्गो लागेको हो ।
चितवन । पत्रकार विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैबेद’ सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालले दोस्रो कृति बजारमा ल्याएका हुन् ।
अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।
विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासङ्ग्रह भएको बताए । उनका अनुसार यस सङ्ग्रहका कथाले मनोरञ्जनभन्दा बढी पाठकलाई विचार, प्रश्न र आत्ममन्थनतर्फ डोर्याउँछन् ।
उनले विज्ञान, शिक्षा, अन्धविश्वास, वैदेशिक रोजगारी, प्रेम, राजनीति, अपराध, महामारी र मनोविज्ञानजस्ता विविध विषयलाई कथामार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै समकालीन नेपाली समाजको मानसिक, सामाजिक र सांस्कृतिक संक्रमणलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको बताए ।
कार्यक्रममा लेखक रिजालसँग अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संवाद गरेका थिए । संवादमा ‘नैबेद’को लेखन प्रक्रिया, कथाको संरचना तथा लेखकका साहित्यिक रुचिका विविध पक्षबारे छलफल भएको थियो । कार्यक्रमको सहजीकरण अक्षर समूहका पूर्वअध्यक्ष रमेश प्रभातले गरेका थिए ।
शिखा बुक्सबाट प्रकाशित “नैबेद” मा १४ वटा कथा समेटिएका छन् ।
मकवानपुर । ज्ञानदीप शिक्षा (जी. एस.) निकेतन माध्यमिक विद्यालयद्वारा फिफा विश्वकप-२०२६ का अवसरमा आयाेजित फ्यान फुटबल प्रतिस्पर्धाकाे उपाधि ब्राजिल र पाेर्चुगलले जितेका छन् ।
हेटाैँडा-५ स्थित पिप्ले-क्याप्पा रङ्गशालामा सम्पन्न सिनियर टिमकाे फाइनल खेलमा ब्राजिलले पाेर्चुगललाई १०-० ले पराजित गर्दै उपाधि जितेकाे हाे भने जुनियर टिमअन्तर्गत पाेर्चुगलले ब्राजिललाई ४-० ले पराजित गर्दै उपाधि जितेकाे हाे ।
प्रतियोगितामा विजेता र उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । साथै हरेक खेलका म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्डर तथा उत्कृष्ट गाेल स्काेररलाई समेत ट्रफीसहित सम्मानित गरिएकाे थियाे ।
असार १४ गतेदेखि सञ्चालित प्रतियोगिताकाे समापन समाराेह विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. निमेष निखिलकाे अध्यक्षता तथा हेटाैँडा उपमहानगरपालिका ५ न. वडाअध्यक्ष सुशील घिमिरेकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ऋषिराम उपाध्याय पाेखरेल, उपाध्यक्ष राजेश घिमिरे, काेषाध्यक्ष माेहनप्रसाद न्याैपाने, पूर्वअध्यक्ष पिताम्बर बास्ताेला, विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछाने, सहायक प्रधानाध्यापक दीपक गाैतमलगायतकाे उपस्थिति थियाे ।
विश्वभर महाउत्सवका रूपमा मनाइने विश्वकप फुटबलकाे उत्सवलाई अझ विशेष बनाउन र खेल क्षेत्रप्रति नयाँ पुस्तालाई आकर्षित गर्न फ्यान फुटबल प्रतियोगिता आयाेजना गरिएकाे विद्यालयका सहायक प्रअ तथा अतिरिक्त क्रियाकलाप संयाेजक दीपक गाैतमले जानकारी गराउनुभयो ।