पदमपोखरी युथ, गोर्खा व्वाइज विजयी
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा शनिबार ४ खेल भए । मकवानपुर जिल्ला फुटबल संघको आयोजना भएकाे प्रतियोगिता अन्तरगत शनिबारकाे खेलमा पदमपोखरी युथ, गोर्खा व्वाइज विजयी भए भने एक खेल गाेलरहित बराबरीमा राेकियाे ।
हेटौंडा ६ स्थीत गौरिटार रंगशाला भएकाे खेलमा पदमपोखरी युथ क्लबले सानोपाेखरा क्लबलाई हराउँदै जीत हासिल गर्याे । पदमपोखरीले सानाेपाेखरालाई ३–२ काे गोल अन्तरले हराएकाे हाे । गौरिटार रंगशालामा भएकाे एफसी मल्टिभिजन र ७ नम्बर फुटबल क्लब बिचकाे खेल १–१ गोल भएपछि अध्याराेकाे कारण खेलकाे केही समयबाँकी हुदै रोकिएकाे थियाे ।
यसैगरी हेटौडा ११ स्थित सिमलटार मैदानमा भएकाे गोर्खा व्याइज र रियलस्टार क्लब विच भएकाे खेलमा १–० गोल अन्तरले गोर्खा व्याइज विजयी भयाे भने न्यु कम्बाइन र एफसी नामटारले गोलरहित बराबरी खेले ।
प्रतियाेगिता अन्तरगत आइतबार ४ खेल हुने आयोजकले जनाएकाे छ । गोरिटार रंगशालामा दिउँसो १ बजे प्रतिभा युवा क्लव र हाडिखोला युवा क्लब बीच पहिलाे खेल हुनेछ भने दिउँसाे ४ बजे युनाइटेड नाईन र सहिद स्मृति बीच दोस्राे खेल हुनेछ । यस्तै सिमलटार खेल मैदानमा दिउँसो १ बजे एफसी पोताला र सक्षम युवा क्लव बीच पहिलाे खेले हुनेछ भने दिउँसाे ४ बजे पशुपति युवा र प्रगतिशील युवा क्लब बीच हुने आयाेजकले जनाएकाे छ ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन भइरहेकाे छ ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्पोटर्स एकेडेमीले उपविजेतामा चित्त बुझाएकाे थियो।
मकवानपुर । हरितालिका तीज अन्तरगत आज ऋषि पञ्चमी पर्व मनाइदैछ । नेपाली महिलाहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्छन्।
हरितालिका (तीज) को व्रत एवं पूजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय मान्यता रहे पनि ऋषि पञ्चमीकाे पुजा भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् बताउँछन् । महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन दतिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ ।
रजस्वला भएका बेलामा अरूलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी-नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो । रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ ।
ऋषि पञ्चमीकाे दिन स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि समेत रहेकाे छ । यस अवसरमा आज देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।
मकवानपुर । हिमालयन राइडर्स सोसाइटीको अध्यक्षमा राजु थापामगर चयन भएका छन् । शनिबार हेटौंडामा भएको दोस्रो साधारणसभाबाट तीनवर्षे कार्यकालका लागि थापामगर अध्यक्षमा चयन भएका हुन् ।
उनकाे अध्यक्षतामा गठन भएकाे १३ सदस्यीय सोसाइटीको उपाध्यक्षमा बुद्धराम श्रेष्ठ र जीतेन्द्र महतो, महासचिवमा ईश्वर पाण्डे, सचिवमा दामोदरप्रसाद ढुंगाना र कोषाध्यक्षमा लक्ष्मीचरण श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यमा नवराज नेपाल, विश्वास सापकोटा, अशोक जोशी, धर्मराज पाण्डे, दुर्गाप्रसाद लामिछाने, आशिष थापामगर र सीता श्रेष्ठ चयन भएको निर्वाचन प्रमुख चेतनाथ आचार्यले जानकारी दिए ।
ब्यक्तिगत स्वास्थ्य, पर्यावरण, आन्तरिक पर्यटन प्रवर्धन, पेट्रोलियम खपतबाट हुने कार्वन उत्सर्जन न्यूनीकरणमा साइकलको ठूलो योगदान रहने मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालले बताए । ‘दैनिक रुपमा १०/१५ किलोमिटरको यात्राका लागि सबैले साइकल चढ्ने बानीको विकास गर्न सकेको खण्डमा समाज र स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिने छ’ अर्यालले भने ।
यसैगरी साधारणसभाले दुई जना उपाध्यक्ष रहनेगरी विधान संशोधन गर्ने निर्णय गरेको छ । सोसाइटीको नवनिर्वाचित कार्यसमितिको बैठक आगामी सोमबार बस्ने निर्णय भएको अध्यक्ष थापामगरले जानकारी दिए ।
यस्तै सोसाइटीले ६० वर्ष उमेर माथिका ५ जना र मेचीमहाकाली साइकलयात्रा गर्ने मकवानपुरकी पहिलो महिला साइकलयात्री सीता श्रेष्ठलाई सम्मानीत गरेको छ । दुईपटक मेचीमहाकाली साइकलयात्रा गर्ने ६० वर्ष उमेर माथिका लक्ष्मीचरण श्रेष्ठ, एकपटक मेचीमहाकाली साइकलयात्रा गर्ने चेतनाथ आचार्य, बुद्धिबहादुर आले, ओकिलराज बानियाँ र अशोक जोशीलाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालको प्रमुख आतिथ्यता तथा सोसाइटीका कार्यबाहक अध्यक्ष राजु थापामगरको अध्यक्षतामा भएकाे साधारण सभामा बारा राइडर्स सोसाइटीका अध्यक्ष शेषराज अधिकारी, बिशालराज महत, रामबिक्रम थापा, प्रमेन्द्र महर्जन, नेलसन घलान, प्रेस सल्लाहकार भानुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो ।
चितवन । चितवनकाे नारायणगढमा रहेकाे सम्पूर्ण किताबले आफ्नाे स्थापनाकाे दिन एक जना छात्रालाई शैक्षिक सामग्री सहयाेग गर्ने भएकाे छ ।
भदौ २३ गते आइतबार सम्पूर्ण किताब नारायणगढको बार्षिकोत्सवमा कविलास मावि भरतपुर-२९ जुगेडीमा कक्षा ७ मा अध्ययनरत सीमा गुरुङलाई शैक्षिकसामग्री सहयाेग गर्ने भएकाे हाे । २०७५ सालमा स्थापना भएकाे सम्पूर्ण किताबले स्थापना वर्षसँगै सामुदायिक विद्यालयमा अध्ययनरत एक जना छात्रालाई शैक्षिक सामग्री दिदै आएकाे संचालन लेखराम सापकाेटाले जानकारी दिए ।
उक्त कार्यक्रम सुरु भएकाे यस वर्ष ७ औं वर्ष पनि हामीले उक्त कार्यक्रमलाई निरन्तरता दिइएकाे उनले बताए । सम्पूर्णमा एक समारोहबीच बिहान गुरुङ्गलाई शैक्षिक सामग्री उपलब्ध गराइने छ । विद्यालयले छनौट गरेर सिफारिस गरेकाे आधारमा प्रत्येक वर्ष सहयाेग गरिदै आएकाे सापकाेटा बताउँछन् ।
यसअघि सम्पूर्णले उद्घाटन वर्ष २०७५ मा १ जना तथा स्थापना दिवसमा ४ जना गरी ५ जना छात्रालाई शैक्षिक सामग्री सहयाेग गरेकाे छ । स्थापना वर्षमा नारायणी मावि गैंडाकोट-७ मा कक्षा ४ मा पढ्दै गरेकी ममता चितौरेलाई सहयाेग गरेकाे कार्यक्रम सुरु गरिएकाे उनले जानकारी दिए । यसैगरी २०७६ सालमा रामनगर मावि भरतपुर-१ मा कक्षा ७ मा पढ्दै गरेकी अस्मिता विक, २०७८ सालमा राष्ट्रिय आधारभूत विद्यालय इच्छाकामना- ७ खेतबारीमा कक्षा ६ मा पढ्दै गरेकी रञ्जिता चेपाङ, २०७९ सालमा दुर्गा मावि बाह्रघरे भरतपुर-४ मा कक्षा ९ मा पढ्दै गरेकी ओमकुमारी थापा र २०८० सालमा देउराली राष्ट्रिय आधारभूत विद्यालय इच्छाकामना-७ मा कक्षा ७ मा पढ्दै गरेकी विमला तामाङलाई शैक्षिक सामग्री गरिएकाे हाे ।
‘सामाजिक उत्तरदायित्व अन्तरगतकाे सहयाेग गर्ने गरिएकाेमा २०७७ सालमा कोभिडका कारण कार्यक्रम गर्न सकिएन’ सापकाेटाले भने । चितवन र नवलपरासीका सामुदायिक विद्यालयलाई यो कार्यक्रममा समेट्ने गरिएकाे उनले बताए । वार्षिकोत्सव कार्यक्रमसँगै दशैँ – तिहार पुस्तक मेलाको शुभारम्भ समेत गरिने भएकाे छ । मेलामा विशेष सहुलियतमा किताब बिक्रीवितरण हुने उनले बताए ।
मकवानपुर । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी पाउन सकेन । विगत ८ वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी खोजी गरिरहेको सरकारले यस पटक पनि नभेटेको हो ।
हरेक वर्ष भदौ २२ गते मनाइने निजामती कर्मचारी दिवसको दिन १ जना सर्वोत्कृष्ट,१० जनालाई उत्कृष्ट र ३० जना कर्मचारीलाई निजामती पुरस्कार दिने कानूनी व्यवस्था रहेको छ । तर यो वर्ष समेत सरकारले सर्वोत्कृष्ट बाहेक १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले २२ भदौको निजामती सेवा दिवसको अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।
निजामती सेवा दिवस २२ भदौमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने व्यवस्था छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।
सरकारले दिने निर्णय गरेपनि उत्कृष्ट निजामती र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम समेत टुंगो लागिसकेको छैन ।