मकवानपुर । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी पाउन सकेन । विगत ८ वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी खोजी गरिरहेको सरकारले यस पटक पनि नभेटेको हो ।
हरेक वर्ष भदौ २२ गते मनाइने निजामती कर्मचारी दिवसको दिन १ जना सर्वोत्कृष्ट,१० जनालाई उत्कृष्ट र ३० जना कर्मचारीलाई निजामती पुरस्कार दिने कानूनी व्यवस्था रहेको छ । तर यो वर्ष समेत सरकारले सर्वोत्कृष्ट बाहेक १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले २२ भदौको निजामती सेवा दिवसको अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।
निजामती सेवा दिवस २२ भदौमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने व्यवस्था छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।
सरकारले दिने निर्णय गरेपनि उत्कृष्ट निजामती र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम समेत टुंगो लागिसकेको छैन ।

